धादिङ माघ १ । माघ १ अर्थात् आज माघे संक्रान्ति । विशेषत धादिङ र नुवाकोटमा गोरु जुधाएरयो पर्व धुमधामले मनाईने गरिन्छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनी, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछाप, तादी गाउँपालिका–४ सातबिसे र शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा आज गोरु जुधाउने कार्यक्रम रहेको छ ।
यस्तै धादिङको धुँवाकोट, खाल्टे, मैदी मा पनि गोरु जुधाउने कार्यक्रम छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।
माघे सक्रान्तिको शास्त्रीय मान्यता
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।
माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।