धादिङका सहिद नवराज सिंखडाको आज स्मृति दिवस (जिवनी समेत)

Avatar photo
शुसिला रिजाल
बिहिबार, मंसिर २५, २०७७

आज मंसिर २५ गते आज भन्दा १६ ठिक वर्ष अघि आजैका दिन धादिङ जिल्लाले एउटा होनहार क्रान्तिकारी योद्धा नवराज सिंखडा (मुकन्द) गुमाएको दिन । जनताको पक्षमा वकालत गर्ने र माओवादीलाई नजिकबाट मायाँ गर्ने मुकुन्द तात्कालिन शाही सेनाको जागिर छाडेर जनमुक्ति सेना बन्नु भएको थियो । उहाँको २०६१ मंसिर २५ गते तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा राज्यपक्षबाट यातना पूर्वक हत्या गरिएको थियो ।

महान योद्धा मुकुन्दको जिवनी

नवराज सिंखडा (क.वसन्त) को जन्म नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङ, भारमाले भन्ने ठाउँमा निम्न किसान परिवारमा बुवा टंक प्रसाद सिंखडा र आमा जमुना कुमारी सिंखडाको कोखबाट वि.स.२०२४–१२–२९ गते चौंथो सन्तानका रुपमा भएको थियो ।

उहाँ सानै देखि अन्यायको विरोध गर्ने, विद्रोही स्वभावको हुनुहुन्थ्यो । ज्यामरुङ स्थित शंखदेबी उ.मा.वि.मा ५ कक्षा सम्म अध्ययन गर्नुभयो भने एस.एल.सी. पास अचने उ.मा.वि. खहरेबाट गर्नु भएको थियो ।

उहाँले नेपाली सेनामा जागीर गर्दै क्याम्पस प्राइभेटमा पढ्नु भएको थियो । BA तेस्रो वर्षको बाँकी रहेको १ विषयको जाँच दिने वेला शान्ति सेनामा जानी कोटा परेकोले उहाँको पढाई त्यही रोकिएको थियो । उहाँको विवाह संस्कार अनुसार नै मछिन्द्र सिंखडा सित भयो । उहाँका छोरा आषिश सिंखडा र छारी अस्मिता सिंखडा हुनुहुन्छ ।

उहाँमा कम्युनिष्ट प्रभाव परे पनि तत्कालिन शाही सेनामा जागिर खाईसके पछि राजनितिकमा भावनात्मक सम्बन्ध मात्र रह्यो । जव जनयुद्ध अगाडी बढ्यो सेना पनि परिचालन हुन थाल्यो । सर्वसाधारण जनताको दिन दाडै कत्ले आम गर्न सरकार लाग्न थाल्यो । तव जनताकै कर खाएर त्यही जनता माथि गोली वर्षाउने काम सहन नसकेर विद्रोही स्वभावका नवराज नवराज सिंखडा (बसन्त) वि.स.२०६० मंसिरमा तत्कालिन शाही सेनाबाट विद्रोह गरी माओवादीमा प्रवेश गर्नुभएको थियो ।

उहाँले विद्रोह गर्दा सेनाको नायक पोेष्टमा नुवाकोटमा कार्यरत हुनुहुन्थ्यो । पार्टीको योजना अनुसार तीन जना साथीको साथ एउटा एक्सनमा जाँदा रुपन्देही जिल्लाको बुटवलमा तत्कालिन शाही सेनाको घेरामा पर्नुभयो । दुई जना साथी घेरा तोड्न सफल भए तर उहाँलाई भने गिरफ्तार पर्नु भयो । शाही सेनाले पार्टीको गोपनियता खोल्नलाई अनेकौ प्रलोभन यातना दिए तर पनि उहाँले दुश्मनका कुनै पनि कुरालाई स्वीकार्न तयार नभई वि.स.२०६१ मंसिर २५ गते उहाँले मृत्यु स्विकार गर्नुभयो ।

छोटै समयमा आफ्नो कार्य कुशलताले गर्दा पार्टीको एरिया सेक्रेटरीको जिम्मा पाईसक्नु भएका नवराज भौतिक रुपमा रहनु भएन तर पनि उहाँको सपना साकार पार्न हामीहरु लागीरहने छौं । मृत्यु सबैको अवश्यभावी छ । जो भौतिक रुपमा ढलेर गएपनि इतिहाँसका पानामा जिउँदा मानिसका मानसपटलमा सधै–सँधै घुमि रहने छन् । देश र जनताको पक्षमा आफ्नो भौतिक शरीरको प्रवाह नगरी मृत्युवरण रोज्ने बसन्त जस्ता हजारौं सहिदहरु प्रति श्रद्धा सुमन ।