हिजो कोरिया, नेपाल भन्दा गरिव थियो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १०, २०७७

दक्षिण कोरिया भन्ने देश जहाँ हाम्रो देशको दाजुभाई दिदी बहिनीहरु ४९ हजारको हाराहारीमा कार्यरत हुनुहुन्छ । साथै हरेक वर्ष कोरिया जानको लागि झन्डै ८० हजार जना दाजुभाई, दिदिबहिनीहरुले आवेदन फारम भर्नु हुन्छ, तर त्यो देशले पुरै संख्यामा लैजान असमर्थ हुन्छ । वार्षिक मात्र ५ अथबा ६ हजार जना नेपालीले मात्र कोरिया रोजगारीको लागि पाइला टेक्न पाउनुहुन्छ ।

त्यो पनि धेरै लामो समय इन्तजार गरेर मात्र सम्भव हुन सक्छ । आज यस्तै हाम्रो देशको अवस्था जस्तै कोरियामा पनि भएको थियो । त्यही कोरियाको ईतिहासको केही अंश सुनाउने जमर्को गरेको छु ।

हामी कतिले कोरियामा भोकमरी लाग्दा नेपालले चामल, गहुं पठाएको हो भनेर भन्ने पनि गर्दछौं, तर यो चाहिँ प्रमाणित नभएको तथ्य हो । त्यतिबेला कोरियाले संसारलाई गुहारेको थियो, जतिबेला ३९ वटा देशले रासन, खाद्यान्न सहयोग गरेका थिए । त्यो ३९ वटा देशको सुचिमा हाम्रो देश नेपालको नाम भने दर्ता भएको छैन ।

त्यसैले यो सहयोग गरेको कुरा गर्न उपयुक्त नहोला । कोरियाका तत्कालिन राष्ट्रपति फाक चङ हि (जो सैनिकको महासेनानीबाट राष्ट्रपति भएका थिए) उनी पनि खरले छाएको बुकुरो घरमै जन्मिएका थिए । सालिम खर, सिरु खरले नै छाएको घर थियो । कुखुराको फुल बेचेर पढेका थिए ।

ती महान व्यक्ति जस्ले आफ्नो देशको भोकमरी र देशको कठिन परिस्थितिलाई हटाउन सफल भए । जस्को कारण देशमा कृषि क्रान्ति आयो । दुरदराज गाउँ गाउँ भएका जनतालाई राहत शिक्षा, रोजगारी दिलाउन सफल भए । कसरी सफल भए त ? म सुनाउछु त्यो कहानी जुन हजुरलाई सुनेको भए पनि रमाइलो लाग्ने छ ।

देशमा विकास गर्नको लागि पुंजिको आवश्यकता पर्ने भएकोले इनले पढेलेखेका युवाहरुलाई पश्चिम जर्मनीमा रोजगार गर्न पठाउने निर्णय गरेछन् । अनि देशमा भएका शिक्षित युवतीहरुलाई नर्सको रुपमा र पुरुषलाई कोइला खानिमा काम गर्न पठाएछन् ।

थाहा छ नि हजुरलाई पनि यो त है ?

जर्मनिमा काम गर्न जान पाउने भनेर जव पहिलो आवेदन सन १९६२ मा खुल्ला गरियो, तव माग मात्र ६०० जना कामदारको थियो, तर त्यो रोजगारिको लागि आवेदन दिने दक्षिण कोरियाली युवा, युवतिहरु ४६ हजार जना जम्मा भएका थिए ।

अन्ततः जर्मनिले ६ हजार जना कोरियन कामदार लिएर गएको थियो । अवस्था ठ्याक्कै हाम्रो देशको जस्तो थियो । जर्मनिमा त्यतिबेला कोरियन पढेलेखेका युवाले गर्ने काम एक किलोमीटर जमिनको तल गएर कोइला निकाल्नु थियो भने, युवतीहरु नर्सको रुपमा गएका थिए । नर्सको रुपमा गएपनि त्यहाँ उनीहरुले गर्ने काम भनेको वृद्धहरुको दिसा पिसाब धुने र मरेको लास स्याहार्नु थियो ।

एक वर्ष पछि त्यो देशमा कोरियन कामदारले राम्रो काम गरेकोले राष्ट्रपतिलाई भ्रमणको निम्तो दिइयो । कोरियन राष्ट्रपति जर्मनी भ्रमण गए । त्यहाँ गएर पहिलो भेट यिनै कामदारहरु संग गरे । कोरियन कामदारहरु आफ्नो राष्ट्रपति संग बिन्ती गर्दै, आँसु झार्दै,राष्ट्रपति ज्यू, हामी यो अर्काको देशमा दबेर बस्न चाहान्नौं, हामी कोरिया नै फर्केर केही गर्न चाहान्छौ, हामीलाई स्वदेश फिर्ता बोलाउनुहोस् भन्दै धुरुधुरु रोएका थिए ।अनि राष्ट्रपतिले त्यहीँबाट कसम खाएका थिए ।

उनीहरुलाई वचन दिएका थिए । केहि वर्ष मात्र दुख गर्नुहोस् म छिट्टै बोलाउने छु । यति भनेर उनि स्वदेश फिर्ता भए । उनीहरुले कमाएर पठाएको रकमले देशमा केही राहात भयो । १९७० मा ती राष्ट्रपतिले पहिलो सुरुवात गाउँबाटै सुरु गर्नुपर्छ भनी, नयाँ गाउँको विकास। भन्ने अभियान चलाए ।३६ हजार वडामा ५०० बोरा सिमेन्ट र दुई टन रड वितरण गरेछन् । अनि गाउँको बाटो चाक्लो बनाए छन् । कुवा खनेछन् । सामुहिक लुगा धुने ठाउँ बनाए छन् ।

घर नयाँ खरले छाए छन् । अनि जतिपनि जापानमा पढ्न गएका थिए उनिहरु सबैलाई बोलाएर देश विकास गर्ने आह्वान गरेछन् । सबैले आफ्नो योग्यताको आधारमा सरकारी जागिर पाएछन् । गाउँ गाउँमा खेतिको लागि मल सप्लाई गरेछन् । गाउँ गाउँमा बिजुली पुर्याएछन् । गाउँ सँग सहरको बाटो जोडेछन् । हेर्दा हेर्दै विकास अब शहरमा सरिसकेको थियो ।

त्यतिबेला सम्म शहरमा कारखाना खोल्ने अभियान चलिसकेको थियो । शहरमा त्यतिबेला रेशमको खेती गरिन्थ्यो । अब ती ठाउँमा रेशम खेती हटाएर कारखाना खोलिन थाले । गर्दा गर्दा सन १९७४ लागि सकेको थियो ।

यहाँ सम्म आइपुग्दा जर्मनी काम गर्न जाने प्रणाली कोरिया आफैले बन्द गर्न सफल भएको थियो । मात्र ११ वर्षमा विदेश काम गर्न जाने प्रक्रिया सदाको लागि बन्द भयो गरायो र कोरियामै रोजगार उपलब्ध हुन थाल्यो । अब यहि देशमा विदेसी कामदार बलाउनु पर्ने अवस्था आयो । अनि ९० को दशक आउँदा आउँदै हाम्रै देशबाट कोरिया पठाउन सक्ने मेनपावर लुम्बिनी, मुनड्रप्स, जन्मिए र नेपाली दाजुभाइ कोरिया पुग्ने प्रक्रिया सुरुभयो ।

एक पटकको कुरा हो, भगवान खुसी भएर एक जना भक्तलाई वर माग्न भनेछन् । वर माग्दा ती भक्तले यसो भनेछन, भगवान,
घरमुनि बारी, बारीमुनि खेत,।
घरको बार्दालिमा बसेर
माहिलो छोराले
चारपाथे ठेकिमा
दहि मथेको मेरा आँखाले देख
भगवानले तथास्तु भनेछन् । उस्को मनोकामना पूरा भएछ ।
हे भगवान यदि वास्तवमै भगवान हुनुहुन्छ भने, हाम्रो देशका नेता, जो हिजो त्यही हलो जोत्ने, कोदाली खन्ने किसान भन्दै प्रभुत्वशाली सत्ता र कुर्सीमा पुगे। अब उहाँहरुले नै कृषि क्रान्ति, औधोगिक क्रान्तीको जग बसालिदिउन । जस्ले कारखाना खोलिसकेको हुनुहुन्छ उहाँहरुलाई अझ सहज वातावरण बनाइदिउन ।

नेपालका जनता विदेशिनबाट रोकियोस् । विदेशमा हुनुभएकालाई स्वदेशमा आफ्नो देश विकास गर्न बोलाइयोस् । उहाँरुको आफ्नो, योग्यता र क्षमताको आधारमा स्थान दिइयोस् । नेपालमा जन्मेर नेपालमै आफ्नै परिवार सँग बसेर जीवन बिताउन पाउने अधिकार प्राप्त होस् । अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेसिनु नपरोस् । हामी सारा नेपाली को कल्याण होस् ।