कथाः अङ्कल

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ६, २०७७

अङ्कल भागः १

पचास बर्षको छेउछाउको हुनुपर्छ , अधबैंशे उमेर पनि पार भइसकेको । केश शायद डाई गरेको होला । कालो नै छ । तर अनुहारको छिप्पिएको छालाले उमेर बताइरहेको थियो । हुनु त मानिस खाइलाग्दो र गोरो थियो । अनुहार त्यति आकर्षक नभए तापनि नराम्रो पनि थिएन ।
साथमा थिई लगभग पन्ध्र बर्षकी तरुणी सुन्दर केटी । स-साना आँखा र सानो नाक भएकी । जापानी ठिटी जस्तै । सर्ट र घुँडा फाटिएको जिन्स प्यान्ट लगाएकी । केही चञ्चल केही गम्भीर स्वभावकी । अधबैंशे ब्यक्तिको हात समात्दै पाइलाको कदमसंग आफ्नो पाइलाको कदम मिलाउँदै बिस्तार बिस्तार अघि बढिरहेकी थिई, मधुबन पार्कको सुन्दर वातावरणमा ।
निस्फिक्री एउटी पन्ध्र बर्षकी बाला बुढो ब्यक्तिसंग हिड़िरहेकी छिन् ।
छेउबाट केटाहरूको एक हुलले यिनीहरूलाई क्रास गरे ।
” खै ! के हो के हो ! हामी जवान केटाहरूको चान्स छैन । बुढ़ोहरूको राज भो ! केही बुझ्नै सक्दिनँ ।” पछाड़िबाट आवाज आयो । “केटीहरूको आँखा फुटेको कि बुद्धिमा कीरा परेको ?” त्यो केटालाई निकै साह्रो परेछ ।
“अरूको जेसुकै होस् न ! तँलाई किन साह्रो पर्यो ?” अर्को केटाले बुझाउन खोज्यो ।
“बाबु छोरी पनि त हुनु सक्छ !” अर्को केटाले थपनी दियो ।
तर ती केटाहरूको ब्यङ्ग प्रहारको कुनै प्रभाव परेन । शायद अभ्यस्त भइसकेकाले होला ।ँं
“अङ्कल ! कति हिन्नु ? एकछिन बसूँ न !”
“जो हुकुम ! म्याम् !”बुढोले भन्यो ।
दुई जना नै एक कुनामा गएर गाछको छाहारीमा बसे । चिसो हावा मन्द मन्द चलिरहेको थियो ।
“यसरी होइन । पलेँटी मारेर बस्नोस् न !” केटीले भनी ।
पलेँटी मारेर बसे पछि केटीले काखमा टाउको राखेर ढल्किएर हल्का स्वरमा गाउनु थाली ।

“तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस तिम्रो काख
जान नदेऊ मलाई अब टाढा
माया यो होस् अझै अझै गाढ़ा ।
तिम्रो मायाले बाँधेर राख…..”
गाउँदा गाउँदै निदाइछे । निश्चिन्त र निस्फिक्री । बुढो ब्यक्ति पनि आफू गाडफादर झैं भएर चल्मलिएन । शायद यही चाहेको थियो बुढ़ो ब्यक्तिले । दस मिनट बिस मिनट हुँदा हुँदै एक घन्टा भइसक्यो, अहँ ! केटी उठ्ने नामै गर्दैन । अन्तमा खुट्टा दुख्न लाग्यो । बाध्य भएर खुट्टा फेर्ने हुँदा बिउँझिन् ।
” पुर्णिमा ! उठ ! गाउँदा गाउँदै कहाँ सुतेकी ?” बुढ़ो ब्यक्तिले बोलायो । पुर्णिमा उठ्दै बोली ,
” म त निदाउन पो गएछु । कुन्नि किन एकदमै न्यानो ओछ्यान पाएँ जस्तो लाग्यो । धेरै दिनदेखिको मेरो पुरानो तिर्सना मेटिएको भान भयो । यसैले त म मज्जाले निदाएछु । अङ्कललाई डिस्टर्ब त भएन ?”
“अहँ !” खुट्टा दुखुञ्जेल भए पनि डिस्टर्ब नभएको उत्तर दियो ।
“अङ्कल ! म तपाईंको पारिवारिक विषयमा केही सोधूँ ?
” Yes, no problem .”
” हजुरको परिवारमा को को हुनुहुन्छ ?” केटी निर्धक्क भएर सोधी ।
“तिम्रो अन्टि, तिम्रो दादा, दिदी अनि…….?”
“अनि …… अङ्कल ?
“अनि तिमी ।”
“म कसरी ? म घरको परिवार त होइन ।”
“घर परिवारको नभए पनि हृदयमा त छौ ।”
“हृदयभित्र कसले देखेको छ र अङ्कल ?”
” देख्नै पर्ने भन्ने के छ र ?” अङ्कलको उत्तर ।
” अझ अर्को प्रश्न गरूँ ? डाइरेक्ट हिट !”
“सकेसम्म उत्तर दिनु तैयार छु , भन !
” हजुरले मलाई कुन दृष्टिले हेर्नुहुन्छ ? प्रेमिकाको रूपमा ? Time pass girlको रूपमा ? Life friend को रूपमा ? छोरीको रूपमा ?”
मुसुमुसु हाँस्दै उत्तर दियो अङ्कलले ।

अङ्कल भागः २

पचास वर्षको बुढो ब्यक्ति संग पन्ध्र वर्षकी केटी मधुबन पार्कमा गफमा तल्लीन थिई । यसैबीच मनको कौतुहलतालाई शान्त पार्न केटीले सोधी ,
“हजुरले मलाई कुन दृष्टिले हेर्नुहुन्छ ? प्रेमिकाको रूपमा ? Timepass girl को रूपमा ? Lifefriendको रूपमा ? वा छोरीको रूपमा ?” )
पूर्णिमाले सोचेकी थिई, प्रश्न सुनेर अत्तालिन्छ भनेर । तर बुढो शान्त थिए । मुसुमुसु हाँस्दै उत्तर दिए ।
“उत्तर दिनुको अघि म सानो प्रश्न गर्छु है तिमीलाई !”
” गर्नोस् ।”
“तिमी अहिले निर्धक्क भएर मेरो काखमा सुत्यौ , मज्जाले निदायौ , कुन धारणा लिएर ?”
एकटक निहारिन् अङ्कललाई । आँखाबाट आँशु बरर बग्न थाल्यो ।
“………………..” बोल्नै सकिनन् पूर्णिमा ।
“भन पूर्णिमा ! नभने कसरी बुझ्नु मैले ।”
आँखाबाट बगेको आँशु पुछी दुई तर्फ नै । भन्न थाली,
‌‌ “मैले सानो छँदा नै बाबालाई गुमाएँ । मलाई साह्रो माया गर्नु हुन्थ्यो । मलाई यसरी नै कहिले पार्क, कहिले मन्दिर, कहिले कहाँ कहिले कहाँ घुमाइरहनु हुन्थ्यो । आज कुन्नि किन बाबाको ठाउँमा तपाईंलाई पाएँ । बाबा संगको धेरै दिनको माया ममताको अनुपस्थितिले होला , आज तपाईंसंग बाबाको उपस्थितिको अनुभव गरें । र त म ढुक्क भएर धेरै दिनको तिर्खा मेटाएँ, मैले न्यानो माया पाएँ । मलाई मेरो बाबाको स्नेहाशीष पाएको अनुभव गरें ।”
“तिम्रो उत्तरमा नै तिम्रो प्रश्नको उत्तर छ । तिमीले मबाट कुनै उच्छृङ्खल व्यवहार पाएनौ । कुनै त्यस्तो अपशब्द हरू पाएनौ । पायौ त केवल वात्सल्य प्रेम । यसैबाट तिमी बुझ , म तिमीलाई कुन दृष्टिले हेर्छु ।” अङ्कल बोल्दै गए, अङ्कलको नजरमा हेरिरही । म अघि देखि नै तिमीलाई छोरीको रूपमा हेर्छु । तिमी छोरी जस्तो लाग्छ होइन, तिमी मेरो छोरी नै हौ ।” लर्बरिंदै अङ्कलले भने । पछिल्तिर घुमेर आँशु पुछ्ने प्रयास गरे ।
पूर्णिमा छक्क परी ।

” घर कहिले फर्किंदै छौं पूर्णिमा ?” अङ्कलले नर्मल हुँंदै प्रश्न गरे ।
“भोलिदेखि त दशैंको छुट्टी । भोलि नै फर्किने । आमाले मेरो बाटो हेरिरहनु हुनेछ ।” पूर्णिमाले भनी ।
“चन्द्रिका कस्तो छ अहिले ?” अङ्कलले सोधे ।
“तपाईंलाई मेरो आमाको नाम कसरी थाहा भयो ?” छक्क पर्दै सोधी ।
“किन थाहा नहुनु ? छोरीको नाम पूर्णिमा भए पछि निश्चय नै आमाको नाम चन्द्रिका नै हुनु पर्यो । हा…हा…”अङ्कलले हाँस्दै भने । पूर्णिमालाई ढुक्क भयो ।
पूर्णिमाले मोबाइल निकालेर सेल्फी लिनु खोजी, दुईजनाको ।
“No ! no ! no ! फोटो नखिंच ।” अत्तालिंदै अङ्कलले मना गरे ।
“किन अङ्कल ! Any problem ?”
” मलाई मन पर्दैन । So .”
“Ok ! ” भनेर मोबाइल भुईंमा राखी । तर केही रहस्यले समातेको भान भयो पूर्णिमालाई । सोची, ‘एक नम्बर त छोरी जस्तो होइन , छोरी नै हौ भन्नु ।दोस्रो आमाको नाम चन्द्रिका भन्नु , तेस्रो मोबाइलमा फोटो नलिनु भन्नु ।’
आफ्नो आश्चर्यको भावना उजागर गरिनन् । थाहा नपाउने गरी अङ्कलको एउटा फोटो लिई ।
साँझ परिसकेको थियो । सबैजना फर्किरहेको थियो ।
” जौं, फर्कौं पूर्णिमा !” अङ़्कलले भने ।
“हुन्छ अङ्कल !” अघि आएर सिर नत गरी । अङ्कलले पनि सिरमा हात राखेर आशिर्वाद दिए ।
अरूहरू झैं यिनीहरू पनि हुरुरु बाहिरी निस्के । मैले जानेको अङ्कल भन्दा मेरो विषयमा अङ्कलले निकै जानेको हुनु पर्छ, पूर्णिमाले सोची । पार्कमा आउँदा अर्कै प्रश्न बोकेर आएकी थिई । फर्किंदा अर्कै प्रश्नहरू बोकेर निस्किन्दै थिई ।

अङ्कल भागः ३

शिलगढ़ीको चकभक शहर ।अग्ला अग्ला बिल्डिङ, दिनभरि गाड़ीको घाँइघुँइ ,रिक्साको पेंपें र पोंपों देखि शान्त वातावरण आफ्नो प्यारो जन्मथलो आफ्नो गाउँमा आइपुग्दा साँच्चै नै मनले शान्ति प्राप्त भएको थाहा पाइन्छ । आमा छोरीको सानो तर प्यारो संसारमा बल्ल बल्ल भेट हुँदा आमा छोरीको मनको भावना शायद अरूले बुझ्न नसक्ला । पूर्णिमा सानो छँदा नै बाबाको मृत्यु भए पछि परिवारमा पूर्णिमा नै ढुकढुकिने अर्को मुटु थियो चन्द्रिकाको ।
मायाको बन्धनले मात्र जीवन सार्थक हुँदैन । साथै स्कूल वा कलेजको शिक्षाले मात्र आजको संसारमा नौकरी हुँदैन । कुनै शैक्षणिक, ब्यावसायिक वा तकनीकी विषयमा विशेष प्रशिक्षित हुनु अनिवार्य छ । नत्र स्कूलको मात्र शिक्षाले पढ़ी लेखी के कामको उखानलाई सही बनाउन मात्र काम आउँछ । र त आफू घरमा एक्लो रहेर पनि आफ्नो मुटुलाई चुँड़ाएर छोरी पूर्णिमालाई सिलगढ़ी पढ्नु पठाएकी छे ।
आमा छोरी भनूँ वा एउटा परिवार भनूँ वा दुई मित्र नै भनूँ छः महिना पछिको भेटमा अति प्रफुल्लित छिन् दुवै जना ।
बेलुकी खाना खाइसकेपछि दुवै जना एउटै ओछ्यानमा ढल्किन् । पूर्णिमाले हिजो खिचेको फोटो आमालाई देखाउन चाहँदै भनी,
“आमा ! यो मान्छे को हो ?”
एकछिन एकोहोरिएर हेरिन् ।
“खोई ! चिनिनँ त मैले । को हो ?” चन्द्रिका बोलिन् । तर पूर्णिमाले याद गरी । मुखले चिन्दिनँ भने पनि आंँखाले भने झुटो बोलिरहेको संकेत दिइरहेको थियो

“भन्नोस् न आमा ! तपाईंले झुटो बोलेको अलग्गै थाहा पाउँछु । म तपाईं कै छोरी हुँ । तपाईंको नस् नस् जान्दछु ‌। उहाँले तपाईंलाई चिन्नु हुन्छ । तपाईंको नाम पनि जान्नु हुन्छ । मलाई छोरी भन्नुहुन्छ ।”
चन्द्रिकाको अनुहारमा विभिन्न रंगहरू परिवर्तन हुन्छ । के भनूँ, के गरूँ भई ।
“………………” तर केही बोलिनन् । चन्द्रिकाको गहभरि आँशुले भिज्यो । चन्द्रिका रोइरही तर बोलिनन् । एकतिर कोल्टे परेपछि त्यतिकै भिजेको गाला सुक्खा भयो । त्यतिकै निदाई शायद (?) । फेरि पूर्णिमाले सोध्ने आँट गर्न सकिन ।
पूर्णिमालाई बिश्वास भयो , निश्चय नै गहिरो सम्बन्ध छ, आमाको आजको यस व्यवहारले छर्लङ्ग बुझियो । तर सम्बन्ध कस्तो ? छटपटी अझ बढ्यो । मनमा कौतुहलता अझ बढ्यो ।

अङ्कल भागः ४

“चन्द्रिका ! हाम्रो छोरीको नाम पूर्णिमा राख्नु पर्छ है !” सुरजले आफ्नो भविष्यको प्लान बतायो ।
“किन पतिदेव !” मरीमरी हाँसी चन्द्रिका ।
” म सुरज भएँ, तिमी चन्द्रिका भयो । हाम्रो नामसँग हाम्रो मिलनको नाम पूर्णिमा कति राम्रो हुन्छ !” सुरज आफू निकै भावुक बन्दै भन्यो ।
“ज्योत्सना राखे हुन्न र ?” मरीमरी हाँस्दै बोलिन् चन्द्रिका ।
“ज्योत्सनाको अर्थ ?” नजाने झैं गरी सोध्यो सुरजले ।
“जुनबाट निस्केको किरणलाई ज्योत्सना भनिन्छ, जानी जानी पनि सोध्छ, जान्दैन कि भनेर होला नि !”
” होइन, मेरो छोरीको नाम पूर्णिमा नै हुन्छ । पूर्णिमा जस्तो मिठो शब्द छैन त्यसमा । मैले पूर्णिमा नाम राखिसकेको छु । अब नाम चेन्ज हुँदैन । ” आफ्नो बिचारको सही अर्थ र बुझाउँदै भन्यो सुरजले ।
“छोरी भए त पूर्णिमा राख्ने भयो । छोरा भए के नाम राख्ने ? पूर्णे कि पूर्ण बहादुर ?” भन्दै खित्का छाडी हांँसी चन्द्रिका ।
“मलाई आशा मात्र होइन पक्का विश्वास छ छोरी नै हुन्छ , बुझ्यौं पूर्णिमाकी आमा ?” सुरजले सील मोहर लगायो पूर्णिमा नाममा ।
“ए पूर्णिमाकी बाबा ! पहिला बिहेको मेसो गरौं न ! त्यसपछि नानी जन्मिने र नाम राख्ने कुरा आउँछ । कि कसो ? नानी जन्मिनु कहिले कहिले भोटो सिउनु अहिले भन्थे अरे’ यहाँ त बिहे पनि भाको छैन नानीको नाम राखिसक्यो !”
” बिहे त हुन्छ नि ! तिमी भागेर कतै जाने होइनौ, म कतै जाने होइन !” सुरज बोल्यो ।
“त्यसो भनेर हुँदैन । हाम्रोमा समय कम्ती छ ।” पूर्णिमा केही डराएकी थिई ।
“त्यसो भए भागेर जौं ।
” म भागेर कुनै हालतमा पनि जाँदिनँ । मंगनी गर्नु पर्छ ।”
“ठिकै छ । यो हप्ताभित्रमा आउनेछ ।” सुरजले फैसला सुनायो ।

नभन्दै आइतबार छेक पारेर सुरजका आफन्त बुढ़्यौलीहरू मंगनीमा चाहिने सरंजाम लिएर चन्द्रिकाको घर अगाडि पुग्नुभयो । आफूहरू आउने खबर हिजो नै दिई सकेको थियो ।
वहाँ पुग्दा घरको बरण्डामा खल्याङबल्याङ सुनियो । यसो हेर्दा केही मानिसहरूको भीड़ देखियो । बुढ्यौलीहरू एकछिन अकमक्क पर्नुभयो । एकजना मानिस बाहिर निस्किन्दै थियो । उसलाई बोलाएर सोध्यो, “भित्र केको खल्याङबल्याङ दाई ?”
“हाम्रो यहाँ चन्द्रिकालाई माग्न मुखियाको छोराको लागि आएको रहेछ । मलाई पनि बोलाएको थियो र आको ।”
कुरा सुनेर सुतेका बुढ़्यौलीहरू अरकच्चै परेर त्यतिकै बैरङ्ग घुमे ,गेट बाटै । भित्र जाने वा गेटमा उभिने कुनै कारण देखिएन ।

अङ्कल भागः ५

“किरण ! तिमी जान्दछौ, म चन्द्रिकालाई प्रेम गर्छु । तिमी त मेरो closed friend हो । यति बुझिदेऊ । हिजो तिम्रो लागि चन्द्रिकालाई मंगनी गर्नु जानु भएका रहेछन्, बुढा पाकाहरू । तिमीलाई थाहा हुँदा हुँदै पनि यसो गर्नु उचित थिएन । । तिमीले तिम्रो घरमा भनिदेऊ । “
“सुरज ! चन्द्रिका तिम्रो प्रेमिका हुनु सक्छ, स्वास्नी त होइन नि ! स्वास्नी भए तिम्रो personal matter हुने थियो । democracy देश हो, तिमीले मन पराउंँछौ त म पनि मन पराउँछु । कसैलाई पनि माया गर्नु कुनै कानुनी अपराध त होइन । होइन र सुरज ?
अँ, मेरो मंगनी स्वीकार भइसकेको छ । अब चन्द्रिकाको विषयमा मेरो personal matter भइसकेको छ । अब यस विषयमा कुनै कुरा सुन्न चाहन्नँ । Understand ?”
” तिम्रो सामु म शारीरिक रूपमा होस् वा आर्थिक, सामाजिक र राजनैतिक रूपमा होस् कमजोर छु, प्रतिकार गर्न असमर्थ छु । तर तिमीलाई पनि थाहा छ, तिमीले जे गरिरहेछौ, भूल गरिरहेछौ । मेरो हर विषयमा खोजी लिंदै मेरो मंगनी गर्न जाने दिन मै हतार हतार अघि अघि मंगनी गर्न गएको सब मलाई थाहा भइसकेको छ । छिः तँ जस्ता साथी ! थुक्क ! तर यति याद राख् तेरो जीवन शान्तिले बित्ने छैन ।” सुरजले यति भनी लुरुलुरु हिंड़्यो । शायद गरीबी, बेकारी र साधारण युवकको मूल्य भएन । आर्थिक, सामाजिक र राजनैतिक सत्ताधारीको विजय भयो ।

“चन्द्रिका ! हामी भागौं । भाग्नु सिवाय कुनै उपाय छैन ।” सुरजले आफ्नो विचार व्यक्त गर्यो ।
” भाग्ने काम मबाट एकदम हुँदैन । मुखियाको छोरा संग छोरीको बिहे दिनु पाएकोमा र मुखिया जस्तो गाउँको महामहिमको सम्धी हुनु पाएकोमा बाबा एकदमै खुशी हुनु भएको छ । आफूलाई गर्वित ठान्नु हुन्छ ।

जुन बाबा आमाले जन्माई, हुर्काइ बढाई गरी मलाई आज यतिको बनाउनु भयो । म भागेर उहाँहरूको सिरको टोपी झरेको देख्न चाहन्नँ । समाजमा मेरो आमाबाबुको नजर निहुरेको देख्न चाहन्नँ । यो एउटा जीवन त के हजारौं जीवन त्याग गर्न म तैयार छु । उहाँहरूको सामुन्ने मेरो इच्छा, मेरो सपना, कल्पना मेरो जीवन तुच्छ हो । यसर्थ मलाई माफ गरिदेऊ ! हाम्रो सहयात्रा यहीं सम्म रहेछ । अब आ-आफ्नै गोरेटो लागौं ।” भन्दै रुँदै चन्द्रिका नफर्की कुद्दै गई ।
सुरज हेरेको हेरेकै भयो मुर्तिवत । दुई महिना पछि नै धुमधाम बिहे भयो , मुखियाको छोरा किरणसँग चन्द्रिकाको ।

अङ्कल भागः ६

“पूर्णिमा !”
“हजुर !”
” तँ सुतेको छैनस् ?”
“निन्द्रा नै लाग्दैन । तपाईं सुत्नु भा’को छैन ?”
“अहँ ! कुन्नि किन, निन्द्रा नै लागेन ।”
” चन्द्रिका र पूर्णिमा आमा छोरी दुवै जना एकार्कालाई चल्मलाएको देखेर सोधिन् । दुवैको आँखामा निन्द्रा थिएन । जिरो पावरको मधुरो लाइटमा देवल घड़ीमा हेरी । दुई बजेको रहेछ ।
“आमा !”
“भन् ।”
“चिया बनाउँ ?”
“यति राती हुँदो चिया ? तेरो टाउको क्र्याक् त भएन ?”
“तातो चिया खायो भने निन्द्रा आउँछ कि ?”
“तातो चियाले निन्द्रा आउँदैन । आको पनि भाग्छ ।”
“आमा ! मलाई चिया खानु मन लाग्यो । तपाईंको लागि पनि बनाएँ है !”
“यो पगलीले पनि गरी ।”
“छटपटिन्दै सुतिरहनु भन्दा चिया पिउँदै गफ गरेको धेरै सजिलो हुन्छ होला ‌।” लाइट जलाएर किचनमा गई ।
छोरी पूर्णिमाको टेक्निक बुझी । सोझो औंलीले घिउ ननिक्लेपछि औंली टेढ़ा गरेर निकाल्ने अभिप्राय देखेर चन्द्रिका एक्लै मुसुक्क हाँसी ।
एकैछिनमा चिया बनाएर पनि ल्याई । चिया पिउँदै आत्मकथा भन्न थाली चन्द्रिकाले । पूर्णिमाले सुनी आमाको विगतका मिठो, तितो ,अमिलो, गुलियो कथाहरू । आमालाई अति साधारण सम्झिएकी थिई । तर धेरै धेरै घटनाहरू भोगेकी पाई ।
“आमा ! तपाईंले भागेर नगएर बाबा आमाको सम्मान त गर्नु भयो । तर सुरज अङ्कललाई छोड़ेर ठूलो भूल गर्नु भयो ।”
“उपाय थिएन । बाबाको दुई पटक हार्ट एटेक भइसकेको थियो । म जानी जानी बाबालाई मृत्युको मुखमा कसरी पठाउनु ? मैले आफ्नो र सुरज अङ्कलको मुख नहेरेर बाबाको मुख हेरें । हो, मैले छोरीको कर्तव्यको पालन गरें , दुनियाँले मलाई जेसुकै भनोस् ।” चन्द्रिकाको अनुहारमा कठोरता देखियो ।
“यति त मैले बुझें । तर मैले यो बुझिनँ, मलाई त्यो अङ्कलले किन छोरी नै हौ भन्नु भयो ?” पूर्णिमाले आफ्नो जिज्ञासु प्रश्न गरी ।
“……………” चन्द्रिका बोलिनन् । छोरीलाई के उत्तर दिनु ?
‘ कुकुरी काँ ‘ गर्दै गाउँमा भाले बास्नु थाल्यो ।
“बिहान हुन लागेछ, सुतौं ” भनी आमाले ।
“भन्नोस् न आमा ! हात्ती छिर्यो पुच्छर किन अड़काउनु भाको ?” पूर्णिमाले जोर गरी ।
” जब मेरो बिहे भएको थियो , तंँ मेरो भुँड़ीमा थिइस् , तीन महिनाको । बिहे भएको छः सात महिनामा तँ जन्मिँदा आफ्नो भूलको पश्चाताप हुनु थाल्यो किरणलाई । धेरै कुराहरू सुनियो । त्यसपछि किरणले सँधैं नै रक्सी खानु थाल्यो । तँ नौ वर्षको हुँदा नै तेरो पिताको स्वर्गवास भयो ।”
” त्यसो हो भने आमा ! सुरज अङ्कल मेरो पिता हो । होइन र ?” पूर्णिमाले सोधी ।
चन्द्रिकाले ‘हो’को इशारामा टाउको हल्लाई ।
“बल्ल बुझें । मलाई त्यो काखमा किन यति आफ्नोपन लागेको थियो । एउटा अन्जान व्यक्तिसंग किन सम्पर्क गहिरो भएको थियो । शायद यसैलाई रगतको साइनो भनिन्दो रहेछ । उहाँलाई त सबै थाहा रहेछ र पो मसंँग निकटता बढ़ाएको रहेछ । अहिले पो छर्लङ्गै बुझें ।”
बिहान पनि हुन लागेछ । पूर्व क्षितिजमा बिहानीको सूर्योदयको लालिमा देखिनु थालेको थियो ।साहित्य प्रवाहबाट

समाप्त