मेरो व्यक्तिगत ७ राजनितिक घटनाक्रम

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ३०, २०७७

आज भोली म ति पुराना दिनहरु स्मरण गरिरहेको छु, मेरो राजनैतिक चेत त मेरो पारिवारिक झमेलाबाट २०२७/ ०२८ तिर घर भित्रको सामन्ती व्यबहारबाट नै सुरु भएको हो ।

मैले २०१९ साल देखी नै आमाले एकल महिला भएर सामन्ती संस्कार विरुद्ध लडाइँको मोर्चा समालेको देखि घृणा त पलाएकै थियो । २०२८ साल तिर आई पुग्दा १२ वर्षको उमेरमा मैले सामन्ती परिवार प्रति छुट्टै बस्ने अवस्था आयो । फेरि पनि संगठित रूपमा लद्ने हैसियत नबनेको मेरा मावली र छिमेकीको सयोगमा त्यो प्रवृत्तिको विरुद्ध निरन्तर लागी नै रहे ।

२०३४ देखि राजनैतिक चेतनामा वृद्धि भएको थियोे । म SLC पछि नोकरीमा प्रवेस गरेको समयमा देश भित्र आन्दोलन अघि बढ्दै थियोे । त्यही क्रममा पाकिस्तानी नेता जुल्फिकर अलि भुतोको हत्याले नेपालमा पनि प्रभाव पार्यो र तत्कालीन शासक जनमत संग्रह घोषणा गर्न बाध्य भयो ।

म लगायतका साथीहरु जनमत संग्रह र बहुदलीय ब्यबस्थाको लागी प्रचार-प्रसारमा लागियो त्यही क्रममा आफ्नै गाउँ साखुमा लीलामणि पोख्रेल लगायतका विद्यार्थी नेता सङ्गै सामुहिक गिरफ्तारमा परियो ।

सुरुमा बामपंथी खासगरी मोहन बिक्रम, मालेहरु जनमतसंग्रह को विरुद्ध थिए । पछि जनताबाट तिर्स्कार हुने देखि उपयोग गर्ने नितिले त्यसले म मा सकारात्मक उर्जा थप्ने काम गर्यो । म कर्मचारी पनि भएकोले निर्वाचन सहायक भएर आगिन्चोक गए । त्यहा प्रत्येक्ष बुहुदलको पक्षमा लागियो ।

मेरो बुबाको साथीहरू ठकुरिहरुको कारणले म माथी केहि गर्न सकेनन तर निर्वाचन अधिकृतलाई बन्दी बनाई सकेपछि निर्दलको जित घोषणा गरि दिन आग्रह गरे तर मैले मानिन र चुनाव गराउन आग्रह गरे मेरो बुबाको घनिष्ट साथि भएको हरिस्चन्द्र शाह चुनाव गराउन सहमत भए । तर अधिकृत १ कोश पर थिए उनि बिना नै चुनाव सम्पन्न गरि उनिलाई सहि गराएर सदरमुकाम आईयो । फेरि पनि थोरै मत ले बहुदल पराजित भयो । यो मेरो दोस्रो घटना थियो ।

२०३४-२०३९ सम्म नोकरीमा नै रहेर पार्टीकाम मा लागियो । यो समय चौथो महाधिवेशनमा ठुलो बहस चलेको थियो उता माले को जन्म भै सकेको थियोे । बहस कै क्रममा २०४० सालमा चौथो महाधिवेशनमा फुट भयो ने क पा मशालको गठन भयो ।

२०४२ मा पुनः मशालमा फुट भै मसाल बन्यो । म भने मशाल मै रहे । २०४३ तिर वर्गसंघर्षको थालनी गर्ने भनेर मोहन बैध्यको नेतृत्वमा उपत्यकाको प्रहरी सेल्टरहरुमा करबाही भयो । यो घटना नजिकैबाट अनुभव गरियो ।

त्यसपछी पार्टी केहि सिथिल भए । पनि गतिविधि बदि नै रह्यो । २०४४ चैतमा रंगशाला घटना भयो । धेरै हताहती भयो । लगभग ८३ जनाको हावाहुरिको कारण । बिध्यर्थी र युवाले प्रदर्शन गर्ने कुरा भयो । म उपत्यकाको युवा कमिटीमा भएकोले त्यहीबाट सहभागी भएँ ।

चैत २२ गते हामी गिरफ्तारमा परियो । त्यस समय पन्चायती निरङकुशताको पराकाष्ठा नै थियोे १० महिना भद्रगोल जेलमा झापा आन्दोलनका नेता, काङ्ग्रेसका नेताहरु सहित हाम्रा २३ जना समेत ४८ जना राजबन्दिहरु सङ्ग सहज बिताई २०४५ माघ महिनामा रिहाई भएपछि कमरेड प्रचण्डको आग्रहमा २०४५ फल्गुण देखी मशाल धदिङ जिल्लाको पुर्णकालिन कार्यकर्ताको रूपमा कृयाशिल बन्ने काम भयो यो मेरो चौथो घटना थियोे ।

जिल्लामा धेरै साथि त थिए तर पेशागत । आलोक जि र म नै खट्नुपर्ने उहाँ पनि माथि सम्पर्कमा रहुनु पर्ने भएकोले एक्लै जस्तो फिल्डमा थिए । २०४६ सालको जनआन्दोलनमा पनि पार्टी स्पस्ट थिएन । पछि संयुक्त राष्ट्रिय जन आन्दोलन समिति बन्यो । त्यस्को निर्देशनमा आन्दोलनमा सरिक भैयो ।

जिल्लामा क्रमिक रूपमा नेतृत्व दिदै जानु पर्ने अबस्थामा २०४८ अन्तिमबाट जिल्लाको सेक्रेटरीको रूपमा पुर्ण नेतृत्व लिदै जनयुद्धको तयारी र २०५२ मा जनयुद्धको थालनी क्रममा सापेक्षिक रूपमा नेतृत्व दिने काम भयो, यो मेरो पाचौं घटना हो ।

जनयुद्धको समयमा धेरै शक्तिहरु सङ्ग पार्टी बारे भ्रम साफ गर्ने काम गरियो । केन्द्रिय जनपरिचालनको भुमिकामा उपत्यकामा पार्टी अध्यक्षको प्रतिनिधिको रूपमा मुख्य दलका सबै प्रमुख नेताहरू र दरबारका प्रतिनिधि धिरेन्द्र शाह लगायत सङ्ग । २०६२/०६३ को आन्दोलनमा उपत्यकाको ब्यबस्थापनमा भुमिका खेलियो ।

क्रमिक पार्टी सत्तामा आएपछि पार्टी भित्र बहस सुरु भैसकेको थियोे । २०६९ पार्टी पुनर्गठन भएर ने क पा बन्यो । त्यसपछिको ७ वर्ष निरन्तर जनयुद्धले हासिल गर्न नसकेको एजेन्डा पुरा गर्न लागियो । यहि शिलसिलामा एक वर्षमा ८ महिना प्रहरी हिरासतमा बिताए ।

यहि समय कार्यनीतिमा ठुलो अस्पष्ट भएको महसुस गरे पछि सच्याउन कोसिस गरियो तर पार्टी नेतृत्व बाट सच्याउन पहल गरिएन त्यो मेरो लागी सह्य हुने कुरा भएन । म सुरु देखि कसैलाई नेता मानेर आन्दोलनमा आएको थिईन ।

त्यहाँ अन्याय अत्याचारको अन्त्य गर्न भनी स्वयंसेबि ढंगले लागेकोले गलत कार्यनीतिको शिकार नबन्ने निधोका साथ स्वतन्त्र भुमिकामा छु । यो मेरो सातौं घटनाको रूपमा दर्ज भएको छ, यस प्रति म मा कुनै हीनताबोध र आत्मग्लानी समेत छैन ।

(लेखकः कार्की धादिङका जनयुद्ध सुरु गर्दाका संस्थापक हुनुहुन्छ)