नेपाली राजनीतिको विकृत पक्ष

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७७

हाम्रो देशको भौतिक परिवेशको उपज स्वरुप निर्धारण भएका मानवीय चेतनाको कारणले पनि हुन सक्छ । राजनीतिक आम समाजकै प्रतिबिम्ब हो । हाम्रो समाजको उत्पादक शक्ति सम्बन्ध र वितरण पद्धति कारणले मानवीय चेतना पनि पिछडिनु र त्यसको प्रभाव उपरीसंरचना पर्नु स्वाभाविकै हो ।

राजनीति बिकृत या परिष्कृत भन्ने कुरा देश विकसित वा अविकसित, उत्पादक शक्ति,सम्बन्धले मात्रै पनि निर्णयक नहुँदोरहेछ भन्ने कुरा गत अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रप र क्लिन्टनको आरोप-प्रत्यारोपको स्तरबाटै प्रष्ट नै भयो। अमेरिकीहरूको भन्दा यूरोपियनहरूको संस्कार अलि बढी परिष्कृत देख्न सकिन्छ ।

बेलायतका प्रधानमन्त्री आफै चिया लिएर पत्रकारलाई सर्भिस गरेको कुरा, क्यानडाका प्रधानमन्त्री साइकलमा यात्रा गरेको कुरा र क्रोसियाका राष्ट्रपतिले आफ्नो बासस्थान आफ्नैले रंगरोगन गरेको जस्ता प्रशस्त उदाहरणहरू छन् । परिस्किृत राजनीतिक संस्कारका। तर सबैथोक यहि हो भन्न चाहिँ शायदै भन्नमिल्ला ।
नेपालमा पनि केही व्यक्तिहरुले राजनीतिलाई परिष्कृत बनाउन खोजेका थिए।स्वर्गिय पुष्पलाल, बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र बर्तमानमा बाबुराम भट्टराई, प्रदीप गिरी लगायतलाई लिन सकिन्छ । तर पनि सारत उल्लेखनीय प्रगति भने भएको छैन ।

केन्द्र देखि वडा सम्मका राजनीतिक अवस्थालाई,सोचलाई हेर्ने हो भने यसलाई एक्काइसौं शताब्दीको राजनीतिको परिष्कृत संस्कार भन्न सकिँदैन । स्वास्थ्यका कारण जापानी प्रधानमन्त्री आबेले राजीनामा दिँदा नेपालमा त्यो संस्कार देख्न नपाउनु, जनतासामु भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने तर व्यवहारमा वाईडबडी, ७० करोडको अडियो टेप,ओम्नी, यति, एनसीएल, बूढीगण्डकी लगायतका भ्रष्टचारका काण्डहरुमा आँखा चिम्लनु, राज्य सञ्चालकहरूले आफ्नो पदलाई राज्य दोहनको साधन बनाउनु, राज्यका नियुक्तीहरुमा हरुमा आफ्ना दलाल, आसेपासेलाई कयौंपटक नियुक्तीको भद्दा अभ्यास गर्नु, राजनीतिक विकृत संस्कार कै प्रभाव र अभिव्यक्ति नै हो ।

यो प्रभाव तल गाउँ टोल सम्म देखिन्छ । मुलत ठुला राजनीतिक दलहरुले यस संस्कारको विकास गरेका छन् । गाउँमा ठूलादेखि साना- साना योजनाहरुलाई आफ्ना कार्यकर्ताको भर्तीको अखडा बनाइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सांसदले पाउने ६ करोड र ३ करोड विनियोजन र विकासको गतिलाई हेर्दा नै छर्लङ्ग हुन्छ ।

सिधैं कार्यकर्तालाई पैसा बाढ्न भन्दा घुमाएर बाँडेको भन्दा फरक नपर्ने अवस्था छ । स्थानीय तहहरु कुरै छाडौं, अर्को नगरसभाबाट पास गर्ने भन्दै योजना बाँड्दै हिँडेको कुरा त समाचारहरु नै बनिरहेका छन् । योजना कसरी बाँडफाँड गरे कुरा त घाम जत्तिकै छर्लङ्ग छ । यी प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । खोज्ने हो भने कयौं यस्ता बिकृतिहरु भेटिन्छन् ।

अहिले गाउँ – गाउँमा सिंहदरबार पुगेको हौवा गर्दै सिंहहरु चाहि गाउँ गाउँ पुगेको अवस्था छ । जनताको सेवक हुनुपर्ने जनप्रतिनिधिहरु केही बाहेक शासक भएका छन् । पदको दुरुपयोग गरिरहेका छन् पदलाई शान,शौकान र रवाफको साधन बनाइरहेका छन् ।

राजनीतिलाई भ्रष्टाचार गर्ने अखडा बनिरहेका छन् । यहाँका प्रतिनीधिहरु आफ्नै पार्टीका त्यो पनि गुटका मात्रै बनेका छन् । आफूले जितेको मतभन्दा बढी मत बाहिर छन् भन्ने कुरा प्रायः सबै जनप्रतिनिधिहरुले बिर्सेका छन् । राजनीति गुटको साँघुरो घेरामा सीमित भएको छ । गणतन्त्र नेपालका लागि सुहाउने परिष्कृत राजनीतिक सस्कार कदापी देखिदैन ।

यस्ता राजनीतिक गतिविधिका कारण नयाँ पुस्ता राजनीति प्रति वाक्क – दिक्क भैसकेका छन् । विकसित देशको भन्दा युवाहरूको जनघनत्व बढी भएको हाम्रो देशमा यस्तो देख्नु राम्रो संकेत हुँदै होइन । नेपालमा राजनीतिक प्रदूषित भएको छ राजनीतिको निर्णायक शक्ति ५०,६० लाख युवा बिदेशमा छन् जस्ले आफै रहेको ठाउँबाट भोट हाल्ने अधिकार प्राप्तगरेका छैन ।

यो अनगिन्ती बिकृतिहरुबाट हामी निस्कन नसक्ने हो भने देश र जनताको अवस्था यहि हालतमा रहने नै छ । त्यसैले पहिलो कुरात राजनीतिलाई पेशा भन्दापनि सेवा हो भन्ने कुरा बुझ्न र बुझाउनु पर्ने हामी सबैको दायित्व हो । दोस्रो कुरा स्थिर राजनीतिको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र भष्ट्रचार न्यूनीकरणको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली,सांसदहरूको भूमिका नीति निर्माण तहमा सीमित गर्दै भ्रष्टचार एउटा रोग हो ।

यसको नियन्त्रणका लागि शक्तिशाली जनलोकपाल गठन आदि नै अहिलेको राजनीतिमा देखिएका विकृतिलाई भत्काउने हतियार हुन सक्दछ । तर मुख्य कुरा चाहिँ नियत नै हो बीपी, पुष्पलाल, गणेशमानहरुले यस्ता विकृतिलाई प्रशय दिएनन्। कृष्णप्रसाद भट्टराई छाता र लौरो मै बालुवाटारबाट निस्के, मनमोहन पनि निस्कलंक नै रहे तर अहिले उनीहरूको अर्को पुस्ताको शासन छ तर राजनीति असाध्यै भयावह, दयनिय,बिकृती र प्रदूषित अवस्थामा छ ।

यसैले सत्ताको र शक्तिको पहुँच रहनेहरु,बागडोर समाल्यदेखी तपाई, हामी सबैको नियत सफा भए हामीले पनि अहिलेको राजनीतिको विकृत संस्कारको अन्त्य गरी सापेक्षित परिष्कृत बनाउन सक्छौं । यसका लागि यो वा त्यो पार्टी नभनी सबैले हातेमालो गरौं सम्भव अवश्य छ ।