
धादिङबेसी कार्तिक १० । आज विजया दशमीको दिन, नेपालीहरुले अक्षता र जमरा लगाएर विजय दशमी मनाई रहेका छन् । कोरोनाको कारण विगतका वर्षहरमा जस्तो उल्लासपूर्ण विजया दशमी नदेखिए पनि आफु भन्दा ठुलाबाट टीका ग्रहण गर्दै आशिष लिने कार्य भने यो कोरोना संकटमा पनि जारी छ ।
कोरोना संक्रमणको कारण धादिङबेसी स्थित कृषि ज्ञान केन्द्रको भवनमा बनाईएको आइसोलेशनमा रहेकाहरुले पनि आज अक्षता र जमरा ग्रहण गर्दै विजया दशमी पर्व मनाएका छन् ।
घर जान र आफन्तको हातबाट टीका जमरा ग्रहण गर्न नपाए पछि आईसोलेसनमा रहेका एम्बुलेन्स अंकलको नामले चिनिने रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल धादिङका सह संयोजक राजाराम रिजाल, भेषराज रिजाल, अर्जुनभक्त श्रेष्ठ, विनोद रिमाल र दिपक अधिकारी, सहित शसस्त्र प्रहरीका ६ जना लगायतले आइसोलेशनमा आफैले अक्षता र जमरा लगाई विजय दशमी मनाएका हुन् ।
आइसोलेशनमा रहेकाहरुलाई दशैको उल्लासको अनुभुति र एक्लो पनको महसुस नहोस सँगै संस्कृति प्रतिको थप जागरण पैदा गर्नको लागि शसस्त्र प्रहरीले जमरा र अक्षता उपलब्ध गराएको आइसोलेशनबाट राजाराम रिजालले धादिङपोष्टलाई बताउनु भयो ।