छोरी हुनु के अभिसाप हो ?

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १६, २०७७

भनिन्छ छोरी लक्ष्मीको प्रतिक हुन्, जुन घरमा छोरीको जन्म हुन्छ त्यो घर पवित्र हुन्छ । छोरीलाई त्यो प्रतिक पनि मानिन्छ जो संग हरेक घरलाई फुलाउने क्षमता रहेको हुन्छ । तर तिनै छोरी दिन प्रतिदिन किन असुरक्षित बन्दै छन् ?

ईमोस्नल ब्ल्याकमेल होस् वा बलत्कार अनि एसिड आक्रमण होस् वा पारिवारिक मानसिक यातना यस्ता विविध मानविय अवान्क्षितबाट किन छोरिहरु प्रताडित बनिरहेका छन ? प्रत्येक दिन किन सुन्नुपर्छ हृदय बिदारक अनि मानसपटललाई नै तरङ्गीत बनाउने समाचार हरु ? के छोरी भएर जन्मनु अभिसाप हो ?

स्कुल हिडेका चेली घर पुग्न पाउदैनन्, गोठालो गएका अनि बन पात गर्न हिडेका चेली फर्कने ठेगान हुँदैन, आफ्नै घरमा एक्लै हुँदा समेत न नाबालिका सुरक्षित छन् कुनै चेलिनै आखिर किन बड्दै छ यस्तो कहाली लाग्दो घटना हरु ? के हामी मानसिक सन्तुलन भन्दा बाहिर गएकै हौं त ? हाम्रो समाज अनि राज्य निकम्मा भएकै हो त ?

एउटा चेली गाई वस्तुलाई घाँस हाल्न गोठमा छिर्छिन अनि उनको शव दर्दनाक अवस्थामा मन्दिर भित्र भेटिन्छ, एउटा चेली स्कुल कलेज जान घरबाट निक्लिन्छिन उनको शव क्षतविक्षेत अवस्थामा झाडीमा भेटिन्छ, एउटा चेली घरमा एक्लै हुन्छिन् परिवारका सदस्य घर फर्कदा दर्दनाक चिचाहटको सामना गर्नुपर्छ यो कस्तो बिड्म्बना ?

एउटा सुगन्धित फुल जस्ले घर, समाज, समुदाय, रास्ट्र अनि विश्वमै सुगन्ध छर्ने सामर्थ्य राख्छ त्यसलाई कोपिलामै चुडिदिदा त्यो फुलको सुन्दरता कति खराब होला सोचनिय विषय होईन र ।
साँच्चै, मानिस किन यति क्रूर राक्षस बन्न सक्छ ?

उमेर पुगेका अनि राजीखुसी बिनाको जबर्जस्ती शारीरिक सम्बन्ध पनि जघन्य अपराध हो भन्ने बुज्दा बुज्दै यौन शब्द उच्चारण गर्न समेत नसक्ने अबोध नाबालिक र कलिला बालिकाहरू माथि कोहि किन यति सम्म हिंश्रक बन्न सक्छ ? यसलाई पुरुषको अनियन्त्रित यौन आवेगको कुण्ठा भन्नेकि समाज, समुदाय अनि राज्य स्तरबाटै कडा कदम चाल्न नसक्नु अनि मै हुँ भन्ने मैमत्तताको पराकाष्ठा भन्ने ?

भर्खरै मात्र सामुहिक बलात्कारमा परेकी धनुषाकी १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको प्रस्ताव अस्विकार गर्दा परिवारले नै ज्यान मार्ने सम्मको धम्कीको सामना गर्नुपर्यो ।
केही अघि मात्रै सप्तरीकि एक बलात्कृत किशोरीलाई गाउँमा बसेको पञ्चायतीले ५५ हजार रुपैयाँ नगद लिएर मिल्न दवाव दिँदा आत्महत्या गर्न वाध्य भईन् । यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । त्यसो त राजनितिक कार्यकर्ताकै अगुवाईमा पञ्चायत नै बसेर घटनालाई लुकाउने सम्मको हर्कत बढिरहेको छ । जसबाट प्रताडित बनेर आफै आत्म हत्या गर्न समेत चेलिहरु विवश छन् ।

प्रहरीकै तथ्यांक मान्ने हो भने गत वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा मात्रै मुलुकभर ६४२ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने १८६ वटा जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता भएका छन । यो तथ्यांकलाई आधार मान्ने हो भने अहिले दैनिक औसत ७ जना बलात्कृत भएका छन् भने दैनिक दुई जनामाथि बलात्कार प्रयास भएको देखिन्छ । देशैभर लकडाउनले ठप्प भएको बेलामा समेत यति डरलाग्दो तथ्यांक देखिनुले भन्दै छ साच्चै हाम्रो समाजमा अराजकताले जरा गाड्दै छ । यो त प्रहरीसम्म आईपुगेका घटना भए लुकेका र लुकाईएका घटना कती होलान कल्पना गर्न सक्ने अवस्था छैन ।

एकातिर हाम्रो समाजलाई यस्ता नरकिय घटनाले भयभीत तुल्याई रहेको छ अर्कातिर समाजको विभिन्न तह र तप्का अनि मुलुकका नीति निर्माताहरू नै संवेदनशील बन्न सक्दैनन । हालै मात्र राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रौढ महिलाहरूको हकमा बलात्कार भनिएका ९० प्रतिशत भन्दा बढी घटना सत्य नहुने जिकिर गरे, प्रगतिशील सोच राख्ने भनिएका बिडारीको यो तर्कले साँँच्चै हाम्रा नीति निर्माताहरुको नाङ्गो चरित्र छर्लङ्ग हुन्छ ।

अर्को दृष्टान्त मुलुकमा यस्तो विकराल समस्या देखिरहँदा गृहमन्त्री जस्तो गरिमामय पदमा आसिन हाम्रा गृहमन्त्री भन्छन्, अन्य देशको अवस्था हेर्दा आतिहाल्नु पर्ने अवस्था छैन । अनि आतिनु पर्ने चाहिँ कहिले ? बलात्कार जस्तो घटनामा पनि हामीले अरु देश सङ प्रतिस्पर्धा गर्नु पर्ने ? एउटा गृहमन्त्री जस्तो पदबाट यस्तो अभिव्यक्ति आईरहदा अपराधीको मनोबल झन बड्छ भन्ने किन अलिकती पनि हेक्का राख्न सक्दैनन् अनि यस्ता संयन्त्रबाट नागरिकले सुरक्षाको प्रत्याभुती लिन सक्ला ?

के यस्ता घटनाको महसुस गर्न आफ्नै घरमा कुनै चेली बलात्कृत हुनु पर्ने हो गृहमन्त्री ज्यू ? निर्मला पन्त देखि बझाङकी बालिका र सप्तरिकी किशरी सम्मलाई आफ्नो छोरी चेलीको ठाउँमा राखेर हेर्नुस् अनि बल्ल तपाईहरु जस्ता पदका भोगी राजनितिका मतियारहरुको घैटोमा घाम लाग्ला । एउटा सजिव प्राणीको कै बलात्कार प्रति मान्यता यस्तो छ भने आम तहमा यसबारे कस्तो धारणा होला, यसै अनुमान गर्न सकिन्छ ।

त्यसो त यस्ता घटना बढ्नुमा हाम्रो समाजको पनि त्यतिनै दोष छ, जति राज्य स्तरको लाचारीपन छ । हेर्नुस त तपाईं हाम्रो समाज अनि समुदायले सधै सोचिरह्यो कि छोरीलाई कसरी सुरक्षित राख्ने तर त्यही समाजले सोचेनकी छोराहरूमा आपराधिक मानसिकता पलाउन नदिन के गर्ने ? हो समस्या यहि रह्यो छोरीलाई सुरक्षित राख्ने सोच्दा सोच्दै त्यही परिवार अनि समाजमा छोराहरु आपराधिक कार्यमा लागेको पत्तै पाएनन् । त्यसैले परिवारबाटै सुरुवात गरौं कि छोरीको सुरक्षा संगै छोराको हरेक गतिविधिलाई नियाल्ने चेस्टा गरौ अनि उस्लाई पनि सुरक्षित र सकारात्मक संवाहक बनाउन सक्दो प्रयास गरौं ।

लाग्छ हाम्रो समाज अनि राष्ट्रले अहिलेसम्म बलात्कारलाई गम्भीर अपराधको कोटीमा राख्नै सकेकै छैन । यदि सकेको थियो भने यस्ता गम्भिर मुद्दामा पञ्चायती बसेर पिडितलाई झन पीडा अनि पीडकलाई उन्मुक्ति दिने प्रपञ्च रचिँदैनथ्यो ।

तसर्थ अब परिवार, समाज, समुदाय र राज्य नै बलात्कार, एसिड आक्रमण जस्तो घटनाको विरुद्धमा गम्भिर भएर लाग्नुको विकल्प छैन । अब परिस्थिति सामान्य छैन, यहि अवस्था रह्यो भने भोलि तपाई हामी जो कोहिले यो पीडा व्यहोर्नुपर्छ ।

त्यसैले बलात्कार जस्तो जघन्य अपराधलाई रोक्न हाम्रो समाज, समुदाय, प्रहरी प्रशासन तथा न्यायालय गम्भीर भएर लागि पर्नु जरुरी छ । कानुनको उचित कार्यन्वयन र पिडितको पक्षमा राज्य स्तरबाटै सबै एक भएर उभिनुको विकल्प छैन जसबाट यस्ता आपराधिक समुहले हजार पटक सोच्नु पर्ने अवस्था सृजना होस् । अझ भनौ बलात्कारीलाई सम्बन्धित अंग क्षदन सहित फाँसिको व्यवस्था होस् ।

प्रत्येक पटकको बलात्कारको घटनालाई हेर्ने हो भने धेरै जसो गरिबि, निमुखा तथा राज्य स्तरको पहुँचबाट टाढा रहेकाहरु नै पिडित बनेका छन् । यसको एउटै कारण हो अपराध गरेर सजिलै उम्कन सकियोस् । हुन पनि त्यस्तै भैरहेको छ । शक्ति र पहुँचको आडमा अपराधी पहिचान भैसक्दा समेत कारबाहीको दायरामा ल्याउन नसकेका कयौं नजिरहरु हामी सामु छर्लङ्ग छ ।

विभिन्न समय र काल खण्डमा परिवर्तन र सुधारको नाममा थुप्रै आन्दोलन भए, धेरैले ज्यान गुमाए अनि कतिले आफन्त गुमाउनु पर्यो तर परिवर्तन र सुधार के म भयो ? परिवर्तन भयो त केवल सत्ता र शक्तिको आडमा रम्नेहरुको जीवन स्तरमा मात्र । मतियारहरु उकासिदै गए तर जन स्तरमा अपराध र दण्डहिनता मौलाउदै गयो ।

मुलुकमा दण्डहीनता बढ्दै जादा पिडकहरु हौसिदै गए उता पिडितहरु पिडामा रुमल्लिनु बाहेक केही गर्न सक्ने अवस्थामा रहेनन् । अपराधी पहिचान हुँदा समेत कारवाही हुन नसक्नुले पिडितको मानसिक अबस्थामा कस्तो विचलन आउला कल्पना गर्न सकिएला र ?

मौलाउदै गएको दण्डहिनता अनि आफ्नो आर्थिक र राज्य स्तरमा पहुँच कमजोर भएकै कारण कतै अपराधी उम्किने हो कि भन्ने चिन्तामा पिडित परिवार पिल्सिन बाध्य छन् । प्रहरी प्रशासन र न्याय प्रणालीले गौरवशाली महिमा भएको मुलुकमा नागरिक यस्तो चिन्तामा पर्नु आफैमा एक अपमान बोध हो ।

त्यसैले बोलिदिने कोहि नहुनेको लागि समेत न्यायलयले बोलिदिन सक्नु पर्छ अनि प्रहरी प्रशासन राजनितिक सुनुवाईमा होईन कर्तव्य निष्ठामा तल्लिन हुनुपर्छ । समग्रमा भन्नू पर्दा न्यायको हक सबैमा समान हुनुपर्छ भने अपराधी उम्कने वातावरण कहि कतैबाट हुनुहुँदैन ।