लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष जेल चलान

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

रामेछाप असोज १० । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिनाअघि पक्राउ परेका रामेछाप लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि शुक्रबार थुनछेक बहस सकिएसँगै अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

साउन ३० गते पक्राउ परेका खड्का विरुद्ध धोबी बजारको सडक निर्माण गर्न गठिन उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले शरीर बन्धक तथा अपहरणको उजुरी दिनुभएको थियो ।

यस्तै सोही एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दशमहिना अघि बलात्कार गरेको उजुरी दिएकी छिन् ।

जिल्ला अदालत रामेछापले ठगीको उजुरीमा ५० लाख रुपैयाँ खड्काले तिर्नुपर्ने र शरीर बन्धकको २ लाख रुपैयाँ सजायको फैसला गरे पनि जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पाएको अदालतले जनाएको छ ।

खड्का तत्कालीन एमालेबाट लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।