नेपाली राजनीति र दोष

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १, २०७७

विश्व राजनीतिको सिद्धान्त, पद्धति, संस्कार र संस्कृतिको आधारमा नेपाली राजनीतिक व्यवस्थाको नाम र सिद्धान्त ठम्याउन बडो जटिल छ । खै हाम्रा राजनैतिक विश्लेषकहरु यसलाई कुन नाम दिन्छन तर नेपाली राजनीतिको अध्ययन गर्दा कुनै चरणमा पनि यसको सही र सान्दर्भिक नाम भेटाउन सकिन्न ।

यसको भूत र बर्तमानलाई केलाउँदा यसलाई राजनीति राज्यनीति र राष्ट्रनीती भन्दा पनि परिवारनीति, व्यक्तिनीति, स्वार्थनीति, भ्रष्टनीति, चोरनीति, दलालनीति, गुण्डानीति, कोलोबजारीनीति, मूल्यबृद्धिनीति, बन्दहडतालनीति जस्ता मध्येकै नाम दिन मन सुहाउँछ ।

यी उल्लेखित नीतिहरूले नेपाली रानीतिक इतिहासमा आफ्नो गहिरो प्रभाव जमाइ सकेका छन् ।शाहकाल हुँदै राणाकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, पुनः प्रजातन्त्रकाल, लोकतन्त्रकाल र गणतन्त्रकालसम्म पुग्दा कतै पनि नेपाली राजनीति परिवारनीति, व्यक्तिनीति, स्वार्थनीति, भ्रष्टनीति, चोरनीति, दलालनीति, गुण्डानीति, कोलोबजारीनीति, मूल्यबृद्धिनीति, बन्दहडतालनीतिबाट अलग र अछुतो रहन भने सकेन ।

त्यसैले नेपाली राज्य व्यवस्थामा कहिल्यै स्वच्छता, निस्पक्षता र उदारताको छाया पर्न सकेन । नेपालमा आएका र ल्याइएका भनिएका कुनै पनि व्यवस्थाले जन अधिकार न्याय समानता राष्ट्र राष्ट्रियता र स्वधिनताको रक्षा गर्ने कार्य गरेको पाइदैन । नेपाली राजीतिका मूल दोषहरुलाई केलाउँदा निम्न कुराहरुनै सतहमा अउँछन् ।

आफ्नो गोरुको बाह्रै टक्काः आफ्नो व्यक्तिगत र पार्टीगत हितमा छ भने सबै ठीक छैन भने ठीक पनि गलत मान्ने र हुँने प्रवृत्ति र मेरै कुरा ठीक छ भन्ने सोचाइ राख्ने संस्कार नै नेपाली राजनीतिको पहिलो दोष हो ।

जनमत र जनविश्वासको अबज्ञाः न्याय समानता जनहित जनमत र जन अधिकारको प्रत्यभूति गर्न नसक्नु र गर्न नचाहनु अर्को दोष हो । केबल आफू र आफन्तका लागि मात्र यहाँ राजनीति गरिन्छ । यहाँ जनप्रतिनिधिहरुको अभाव छ । जनताको अमूल्य मत पाएर प्रतिनिधि चुनिएका मान्छेहरु कुनै लक्षित समुह र लक्षित पार्टीको मात्रै नोकर बन्ने नेपाली राजनीतिमा चल्दै आएको बिकराल र जटिल समस्या हो ।

त्रिसको दुरूपयोगः त्रिसको दुरुपयोग नेपाली राजनीतिको अर्को दोष हो । सत्ता शक्ति र सम्पत्तिको आडमा यहाँ जे पनि गर्न सकिन्छ । न्यायको बजारीकरण हुन्छ, व्यवस्थाको धज्जी उडाइन्छ र जनभावनाको निर्मम हत्या गरिन्छ । यहाँ विचार र सिद्धान्तभन्दा बल ठूलो हुन्छ । बिभिन्न भातृ संगठनका नाममा शक्ति ञ्चय गर्ने प्रवृत्ति छ । यो अर्को समस्या हो । तरुणदल, वाइसियल र युथफोर्स मिलेर बनेको राष्ट्रिय युवा संघ लगायतका संगठनहरू यसका केही जल्दा बल्दा उदाहरणहरु हुन् ।

राष्ट्रियताको अभावः राजनेताहरुमा राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावना ह्रास हुनु नेपाली राजनीतिको अर्को ठूलो दोष हो । नेपालका राजनैतिक वृतका नायक र खलनायकहरूले यी कुराहरूको हेक्का समेत राखेको पाइदैन ।

यसको उदाहरणका रुपमा भारतसँग गरिएका बिभिन्न असमान र नेपालीको हित बिपरितका संन्धी तथा सम्झौतालाई लिन सकिन्छ । देशलाई र राजनीतिलाई आफ्नो र आफ्ना सन्तानहरूको कमाइ खाने साधनको रुपमा लिएका छन् ।

असमान न्याय प्रणालीः नेपाली राजनीतिका प्रतेक व्यवस्थाहरूमा देखा परेको यो प्रमुख समस्या हो । हुन त यो त्रिसको नै एउटा पाटो हो । जो सोझो उसको मुखमि घोचो उखानले पि यसलाई सिद्ध गरेको छ । शक्ति, सत्ता र सम्पत्तिले यहा न्याय किन्न सकिन्छ । न्याय र कानुनको परिभाषा नै बदल्न सकिन्छ तर सोझाहरूले न्यायको लागि भिक माग्नु पर्ने आमरण अनसन बस्नु पर्ने अवस्था छ ।

प्रभुवाद : (कुर्सी मोह र प्राप्तीको फोहरी प्रयास) नेपाली राजनीतिक वृत्तको इतिहास केलाउँदा सबैभन्दा बिकराल समस्या हो प्रभुवाद, ढोगवाद र लम्पसारवाद । आफ्नो सत्ता टिकाउन होस् वा सत्ता प्राप्त गर्न विदेशी प्रभुका चरण ढोग्ने, जस्तो सुकै सन्धी र सम्झौता पनि गर्ने प्रवृत्तिले देश दुरावस्थातिर लाग्दै छ ।

नेपाली राजनीति जहिले पनि यिनै तत्वका सेरोफेरोमा रहेको पाइन्छ । व्यक्तिगत स्वर्थ, जनमतको अवज्ञा, त्रिसको दुरुपयोग, राष्ट्रियताप्रतिको गद्दारी, असमान न्याय प्रणाली र प्रभुवादी प्रवृत्तिबाट जनताले कहिल्यै मुक्ति पाउँन सकेनन् । प्रतेक चरणका जन आन्दोलन र तीनका क्षीणोन्मुख उपल्ब्धीलाई यिनै विसङ्गत पद्धतिले कुल्चेर हत्या गरिरह्यो ।

(लेखकः राईजिङ स्टार चरौंदीका शिक्षक हुनुहुन्छ ।)