
काठमाडौं साउन ३० । विगत एक महिना देखि अन्तर कलहमा रुमल्लिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डको बिहिबारे बैठकबाट सहमति नजिक पुगेको बताइएको छ ।
ओलीसँगको छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई भेट गर्नु भएको दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति पुगको बताएको स्रोतले बतायो ।
‘विषयवस्तुकेन्द्रित सकारात्मक संवाद भएको छ । भोलि ९शुक्रबार० पनि छलफल हुन्छ । सहमति बन्छ कि भन्ने विश्वास बनेको छ,’ गृहकार्यमा जुटेका एक नेताले नयाँ पत्रिकासँग भने, ‘स्थायी कमिटी बैठकचाहिँ सुचारु हुन्छ ।’ नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ ।
‘प्रचण्डले पार्टीको सम्पूर्ण कामकारबाही अगाडि बढाउनेसहितको अध्यक्षको जिम्मेवारी पूरा गर्ने र ओलीले पार्टीसँगको सल्लाहमा सरकार चलाउने’ प्रस्तावमा दुई अध्यक्ष सहमतिनजिक पुगेको गृहकार्यमा जुटेका एक नेताले बताए । उनका अनुसार त्यसअगाडि स्थायी कमिटीमा दुवै अध्यक्षले आ–आफ्ना कमजोरीको आत्मआलोचना गर्ने पनि प्रस्ताव छ ।
यसबाहेक मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्तावमा पनि दुवै अध्यक्ष सहमतिनजिक पुगेका छन् । ‘सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको प्रस्तावमा पनि छलफल सकारात्मक भएको स्रोतले बतायो । सहमतिको मस्यौदामा रहेको ‘आवश्यकताअनुसार मुख्यमन्त्री र प्रदेश मन्त्रिपरिषद् हेरफेर’का लागि पनि ओली र प्रचण्ड सकारात्मक भएका छन् ।