
म सानो छँदाको कुरो हो, मेरो घरमा चिया नास्ताको होटल हुने गर्थ्यो । मेरि हजुरआमा त्यो बेलामा पनि निर्धक्क कारोबार चलाउनु हुन्थ्यो । मलाई याद छ, त्यतिबेला ठुला बसहरु, ट्रान्स्पोर्टका सामान बोकेका ट्रक र नाम चलेका गाडीमा आउने व्यापारीहरु हाम्रो होटलमा नास्ता गर्ने गर्थे ।
मेरो हजुरआमाले कहिले विद्यालय देख्नु भएन, भार्इलार्इ सिकाउँदाको बाह्रखरी सुनेरै कण्ठ गर्नु भएको कुरा सुन्दा म अचम्मित हुन्छु । आखिर कोहि पढाईमा तिक्खर भएर पनि अध्यनबाट बन्चित हुनुपर्यो ।
मेरो हजुर आमाको कुरा गणित सँग जोडिएर आयो भन्ने कुराले साहेद सबैलार्इ आश्चर्य लाग्न सक्दछ । एक पटकको कुरा हो लगभग ३० जनाको बिदेशी टोलि हाम्रो होटलमा चिया पिउन रोक्यो । आमा हतारिदै चिया बनाउन थाल्नु भयो ।
म विदेशी सगँ जिस्किँदै थिए । चिया खाइ सकेपछि हिसाब गर्ने बेलाभयो आमाले मतिर हेर्दै ३० कप चियाको हिसाब सोध्नु भयो । म अक्मकाएँ । बर्बराउदै हिसाब गरेझै मैले समय लिए आमाले मेरो असक्षमता बुझ्नुभयो मैले शिर निउँराए । आमाले ३० वटा गिलास माथी रु।५ को नोट प्रत्येकमा राख्नुभयो र रकमको हिसाब गराउन लगाउनु भयो । म लज्जीत भए मैले पढेको गणितको त्यहाँ कुनै काम आएन ।
त्यसदिन देखि म गणित सँग झनै डराउन थालें । गणित आफैमा व्यवहारिक भएर पनि मैले जानेको कुरा मैले मेरो दैनिक जिवनमा प्रयोग गर्न जानिरहेको थिइन । कक्षामा सबैले समस्या हलगरेर देखाउँदा म अन्तिममा हुन्थें । मलाई नयाँ समस्या हल गर्न हम्मे हम्मे हुन्थ्यो । कालो पाटीमा गुरुले दिनुभएको हिसाब गर्दै गर्दा मेरो खुट्टा काप्ने गर्थ्यो ।
दिनहु शिक्षकको गाली , घरमा गृहकार्य गर्दा सबैको हेलत्तोले मलाई गणित मेरो लागि होइन जस्तो लाग्ने गर्थ्यो । मलाई गणित बिषय र बिषय शिक्षक देखि एक प्रकारको डर पैदा भैसकेको हुन्थ्यो ।
गणितबाट टाढा रहन खोज्ने मेरो बानिले मलाई अध्ययनमा झनै समस्या आउन थाल्यो । समान्य जोड घटाउ, गुणन, भागमा मलाई समस्या हुन्थ्यो । गणितको शिक्षक देख्दा पनि निन्द्रा लाग्थ्यो । मेरो पढाई गणित कै कारण कम्जोर देखिन थाल्यो । यो अनुभव भोग्दै गर्दा मैले घर परिवार र शिक्षकको नजरमा आफ्नो स्थान बनाउन सकिन ।
म मेरो समस्या न त परिवारलाई भन्न सकिरहेको थिए न त शिक्षकसगँ । मैले गणित नजान्नुको एकमात्र कारण थियो “डर” । थोरै अङ्क आउदा परिवारको डर, गृहकार्य नमिल्दा शिक्षकको डर । गणितको पर्यायवाची बनेको थियो डर ।
के यो बिषय त्यतिकै जटिल थियो ? कि मैले र मेरो वातावरणले यस्लार्इ जटिल बनाउदै थियो ? मैले आफैले यो बारेमा गहिरो अध्ययन गरें । अधिकांश बिद्यालयको गणित शिक्षक कडा स्वभावको हुनु पर्छ भन्ने परिपाटीले हाम्रो बिद्यालयहरु संचालित हुन्छन् ।
हिसाब पढाउदा कक्षामा नियन्त्रण हुनुपर्छ, गणित गार्हो बिषय हो, गणित नजान्ने विद्यार्थी कम्जोर हो भन्ने जस्ता भ्रमहरुले झनै गणित सिकाइलाई जटिल बनाइरहेको मैले पाए । वास्तवमा गणित डर बनेको छ ।
एउटा कक्षामा भएका सबै विद्यार्थीको समान क्षमताका हुँदैनन । गणित नजान्नमा सधैं विद्यार्थीको क्षमता मात्र पनि दोसि हुँदैन । डरलाई जित्न गहिरो आत्मविश्वास चाहिन्छ । म जस्ता विद्यार्थी प्रत्येक विद्यालयका प्रत्येक बेन्चमा भेट्टिन्छन् । कुनै पनि विद्यार्थीले कुनै समस्या जान्ने नाजान्नेमा शिक्षकको सिकाउन सक्ने क्षमताले ठूलो भुमिका खेल्छ ।
गणित देखि डराउने त्यो विद्यार्थी आज म गणित विषयको शिक्षक छु । आज मेरो विद्यार्थी म कक्षामा प्रवेश गर्दा अनुहार उज्यालो बनाएर स्वागत गर्छन् । म हरबखत हर्षित मुद्रामा कक्षा कोठामा प्रवेष गर्छु । सबैको अनुहारमा आँखा घुमाउँछु । उभिएकै अवस्थामा एउटा नयाँ केही बिषयमा कक्षामा चर्चा गर्छु ।
हिजो रातिको खेलको कुरा होस, कुनै रियालिटी शो को प्रसङ, कुनै हाँस्यकलाकारको अभिनय यात सामान्य ज्ञानको प्रश्नले सबैको ध्यान आफू तिर तान्छु । मेरा प्रश्न र प्रसङ्गले प्रत्येक विद्यार्थीले आफू कक्षा कोठामा उपस्थित भएको महसुस गराउँदछ । म धेरै गृहकार्यले विद्यार्थी सक्षम हुन्छ भन्ने कुरामा विश्वास राख्दिन ।
आफुले विद्यार्थीबाट राखेको शैक्षिक लक्ष्य हासिल गर्न सक्ने खालका केही समस्याहरुलाई दोस्रोदिन पुनः कक्षामा समावेश गर्छु । समान्य प्रस्नहरु मासमा राखेर पालैपालो सोध्ने गर्छु । सबैबाट उत्तर आउन सक्ने प्रस्न सोध्दा कुनै विद्यार्थीलाई हिनता बोधको अवस्था सृजना हुँदैन ।
यदि सबै विद्यार्थीले आफुमा आत्मबल वृद्धि गर्न सकेको अवस्थामा कक्षामा डर को वातावरणमा कमि आउँदै जान्छ । एउटा शिक्षकले सम्पुर्ण विद्यार्थीलाई समान दृष्टिकोणले हेर्नू शिक्षकको परम धर्म हो । कुनै एक विद्यार्थीमा कुनै कुरा नाजानेर हिनता बोध हुने अवस्थालाई पहिले नै बुझेर उस्को आत्म विश्वासलाई गिर्न नदिने परम गुण एक शिक्षकमा हुनु पर्दछ ।
शिक्षक साथी बन्न सक्नु पर्दछ । जबसम्म आफ्नो विद्यार्थीले आफ्नो समस्या खुलेर तपाईं सङ राख्न सक्दैन तबसम्म तपाईं असल र सफल शिक्षक हुन सक्नु हुन्न । कक्षामा हाँसोको माहोल बनाउनुस् । विद्यार्थीको मनमा बस्नुस् । शिक्षक मात्र होइन सहयात्री बन्नुस् ।
प्रत्येक बिद्यार्थीको समस्यामा पुग्नुस् । तपाइको गएर हाजिरिमा तपाइँको विद्यार्थीले मन दुखाउने वातावरण बनाउनुस् । कक्षालाई त्यो हरेक कुरामा परिणत गर्नुस जस्ले तपाईलाई शैक्षिक उपलब्धी हासिल गर्न मद्धत गरोस् । अब गणितलाई डर होइन रोमाञ्चक बनाउन लागौं । गणितलाई अङ्कसङ भन्दा व्यवहार सङ हेरौ । तपाइको बिद्यार्थीलाई व्यवहारिक हुन सिकाउनुस् । गणितलाई कक्षाकोठा र सेतो पाटीमा कैद नगर्नुस् ।
नाफा नोक्सान सिकाउन बजार घुमाउनुस् । ज्यामितिय आकारहरु बनाउन लगाउनुस् । किताबी ज्ञानबाट निकाल्नुस् व्यवहारिक ज्ञान सिकाउनुस् । गणित जटिल कतै होइन यो बनाइएको हो । आउँनुस हामी सबै लागौ गणितलाई डर र जटिलो नभइ रचनात्मक, व्यवहारिक र रोमाञ्चक बिषय बनाउन । तपाइँहरुलाइ के लाग्छ ? गणित जटिल हो कि जटिल बनाइएको हो ?
(लेखक: पाण्डे चन्द्रोदय मावि बेनिघाटका शिक्षक हुन् ।)
प्रकाशित मितिः २०७७ असार १३