स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं जेष्ठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । यो गत वर्षको भन्दा २२ अर्ब ९ करोडले बढी हो ।

सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा दरबन्दी थप गर्नको लागि पनि बजेट विनियोजन गरिएको छ ।

कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब सँगै संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको बिमाको लागि ५ लाखको व्यवस्था गरिएको छ ।

प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्प्तालमा स्तरोन्नति गर्न र ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ को लागि पाँच अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्थानीय तहमा थप दुई सय ७२ वटा स्वास्थ्य संस्था निर्माण गर्नका लागि १४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी क्षयरोग, यौन रोगजस्ता रोगहरूको उपचार निदानका लागि ४ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ।

स्थानीय तहका सबै वडास्थित स्वास्थ्य संस्थाहरूबाट चालीस वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन र ग्लुकोज तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको समेत वजेट विनियोजन गएिको छ ।