
काठमाडौं बैशाख, १२ । कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन सुरुभएको दास्रो महिना सुरुभएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाईनराख्न सरकारले निर्देशन दिईरहेको छ ।
यतिबेला कन्चरपुर जिल्लाको क्वारेन्टाईनको निकै चर्चा परिचर्चाहरु हुने गरेका छन् । कञ्चनपुर लालझाडी गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा बस्ने मानिस सुरक्षित भन्दा बढि असुरक्षित भएको पाईए सँगै चर्चा हुन थालेको हो ।
लालझाडी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन चार स्थानका विद्यालयमा क्वारेन्टाईन निर्माण गरेको छ, प्रयास राम्रो भएपनि व्यवस्थापन भने फितलो देखिएको छ । सायद लकडाउनकै बेला राजधानी काठमाडौं लगायतका विभिन्न जिल्लादेखि धमाधम मानिसलाई जिल्ला पठाउन थालेपछि कञ्चनपुरका स्थानीय तहलाई व्यवस्थापनमा समेत चुनौति बढेको छ ।
लालझाडी गाउँपालिका १ नौरङ्गा शारदा मावि, २ को शंकरपुर गञ्जको भानु मावि, ४ पर्सियाको स्वतन्त्र मावि र ६ चाँन्देवको रामेश्वर माविमा क्वारेन्टाईन निर्माण गरिएका छन् । चारै क्वारेन्टाईनमा बस्नेहरुले चरम गुनासो पोखेका छन् । घरदेखि नै ओढ्ने बिछ्याउदेखि ल्याउनु परेको बताएका छन् । कतैका क्वारेन्टाईनमा कुहिएका चामलको भात, त कतै मासुभात खुवाएपछि मासु नपाएका क्वारेन्टाईनमा बस्नेहरुले बिरोध जनाएका छन् ।
‘गाउँपालिकाले एक झुल र एक साबुन बाहेक केही दिएको छैन । ‘चाँन्देवको रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बसेका प्रेमसिह रानाले भने, ‘हामीले घरबाट ओछ्यादेखि तरकारी, दाल भुट्नका लागि प्याजसम्म आफैले ल्याउनुपर्ने बाध्यता छ ।’
रानाले कुहिएको चामल खुवाउने गरेको दुखेसो पोखे । ‘गाउँपालिकालाई एनजिओहरुले दिएको कुहिएको चामल हामीले खानुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यस्तो चामलको भात कुकुरले पनि खाँदैन् ।’
भानुमाविको क्वारेन्टाईनमा बस्ने लखन रानाले विद्यालयमा बेड नभएकाले आफ्नै घरबाट खटिया ल्याएर सुतिरहेको बताए । ‘समाचार सुन्दा गाउँपालिकाले ५० बेडको क्वारेन्टाईन निर्माण गरेको सुन्छौ, तर हामीलाई यहाँ एक बेडपनि छैन, ‘उनले भने, ‘विद्यालयका बेच्न मिलाएर सुत्नुभन्दा घरबाटै खटिया ल्याएर सुतिरहेका छौँ ।’
