श्रमिकको योगदान रकम सरकारले तिर्ने

Avatar photo
Dhadingpost
बैशाख ९, २०७७

काठमाडौं बैशाख ९ । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने ३३ हजारभन्दा बढी श्रमिकहरूको चैत महिनाको योगदान रकम मंगलबार (आज)बाट श्रमिकको खातामा जम्मा गर्ने भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण देश लकडाउन भएपछि कलकारखाना तथा उद्योग बन्द भएकोले रोजगारदातालाई राहत दिन सो रकम अनुदान दिन लागिएको हो ।
श्रमिकको खातामा सोझै जम्मा गर्न हाललाई चैत महिनाको १८ करोड ६६ हजार रूपैया अर्थ मन्त्रालले कोषको खातामा निकासा गरिसकेको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपीलमणि ज्ञवालीले कोषले माग गरेको रकम अर्थ मन्त्रालयले पठाएको कारण आज मंगलबारदेखि श्रमिकको खातामा जम्मा गर्न सुरु गरिने बताए । “चैत महिनामा रोजगादाताले श्रमिकको नाममा बुझाउनु पर्ने रकम अब हामी जम्मा गरिदिन्छौ,” कार्यकारी निर्देशक ज्ञवालीले सोमबार कारोबारसँग भने, “योजनामा योगदान गर्ने चैत महिनासम्मका ३३ हजार ३२१ श्रमिकको रकम जम्मा गरिँदैछ ।”

यसरी योगदान वापतको रकम पाउने श्रमिकको फागुन महिनाको योगदान रकम भने रोजगारदाताले श्रमिकको नाममा जम्मा गरेको हुनुपर्ने छ । यसैगरी सरकारले जम्मा गर्ने योगदान रकम पाउनका लागि रोजगारदाताले चैत महिनाको परिश्रमिक दिएको जानकारी कोषमा जम्मा गर्नुपर्ने छ ।

कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न नेपालमा चैत ११ गतेदेखि बन्दा बन्दीको अवस्थामा रोजगारदाता र श्रमिकलाई राहत दिन योगदान रकम सरकारले नै तिर्ने निर्णय गरेको थियो । उद्योगधन्दा, कलकारखाना, होटल, पर्यटन क्षेत्र र ब्यापार प्रतिष्ठानहरू बन्द हुँदा श्रमिकहरूमा जीविकोपार्जनमा समस्या उत्पन्न भएको जनाउदै योगदान रकम अनुदानको रूपमा दिइएको हो ।

यसैगरी रोजगारदाताहरूले आफ्ना पेशा व्यवसाय बन्द भएको कारण कर्मचारी वा श्रमिकहरूको पारिश्रमिक समेत उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेका छन् ।

हाललाई चैत महिनाको मात्र योगदान रकम सरकारले बेहोर्ने जनाए पनि लकडाउन बढ्दै गए आउने महिनाको के गर्ने भन्नेबारै कुनै निर्णय नभएको कोषले जनाएको छ । यो लकडाउनको बिचमा ३ हजार ८ सयभन्दा बढी रोजगारदाता योजनामा सूचीकृत भएको कोषले जनाएको छ । यस बिचमा होटल अन्नपूर्ण, सोल्टी, याक एन्ड यति, ¥याडिसन लगायतका ठूला रोजगारदाता सूचीकरण भएका छन ।

नेपालमा योगदानमा अधारित सामाजिक सुरक्षा कार्यक्रम २०७५ मंसिर ११ गतेवाट सुभारम्भ भई २०७६ श्रावण १ वाट पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो । सामाजिक सुरक्षा कोषले विभिन्न स्किममार्फत योगदानकर्ता श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको जनाएको छ ।

यसरी औपचारिक शुभारम्भको करिब डेढ वर्ष र कार्यान्वयनमा आएको नौ महिनामा सामजिक सुरक्षा कोषमा सूचीकरण हुने श्रमिकको संख्या करिब १ लाख ५७ हजार र रोजगारदाताहरूको संख्या लगभग १२ हजार ३ सय सूचीकरण भएका छन । यसैगरी १ लाख ५७ हजार श्रमिकहरू सामाजिक सुरक्षा योजनामा सूचीकृत भए पनि स्किमहरू उपयोग गर्न योग्य श्रमिकको संख्या २३ हजारको हाराहारीमा रहेको कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए ।

नेपालको श्रम बजारमा ४० लाखको हाराहारीमा श्रमिकहरू रहेको अनुमान रहेको छ । लकडाउनमा उद्योग, कलकारखाना सञ्चालन गर्न नसकिएको जनाउदै कोषले रोजगारदाता र श्रमिकहरूका लागि विभिन्न कार्यक्रम ल्याउनुपर्ने श्रमिकको माग रहँदै आएको कारोबार दैनिकमा खवर छ ।