नेपालमै छ, अश्लील मेला

Avatar photo
Dhadingpost
आइतवार, माघ ५, २०७६

बागलुङ माघ ५ । अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ ।

युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन् । मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ । यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए । ‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट हुन्छ ।’

परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन् । सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन् । कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन । यस्तो लाग्छ; स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।

पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन् । यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पालगायतका स्थानबाट पनि ठूलो संख्यामा मानिस आउँछन् ।

किन बोल्छन् त अश्लील ? स्थानीय अगुवा नैनसिंह बुढामगर भन्छन्, ‘यसको कथा पुराना वीरमाना राजा–रानीसँग जोडिएको छ । हामी यो मेला निरन्तर मनाउँदै आएका छौं ।’ मेलामा राजा वीरमानको सैन्य प्रतीकका रूपमा पुतली नाच नचाइन्छ । राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घरपरिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनालीसमेत राम्रो हुने जनविश्वास छ । त्यही नाचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुसियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अश्लील बोल्ने विषय जोडिएको हुनसक्ने बुढाले बताए ।

अब त अश्लीलता हटाउने कि भन्ने प्रश्नमा निसीखोला–६ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बुढामगरले परम्परा नतोड्ने बताए । ‘हामीले पनि अहिलेको समाजमा यो अलि अस्वाभाविक भयो, हटाउने कि भन्ने हिसाबले छलफल गर्‍यौं’, बुढाले भने, ‘आफ्ना पुर्खाहरूले चलाएको रीतिथिति, संस्कार हो, यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने भन्ने निष्कर्ष निकालियो । अब यसकै संरक्षण सम्बद्र्धन गरेर अघि बढ्ने सोचमा छौं ।’

पुतली नाच अंग्रेजहरूसँग लडाइँ जितेपछि विजयोत्सव मनाउने क्रममा थालिएको स्थानीयवासीको भनाइ छ । राजारानीको मूर्तिजस्तै माटोको पुतली बनाइने, पुतलीको स्वरूपमा रंगीविरंगी भेषभूषामा पुतली बनेर पुरानो जमानामा हुने सैन्य शैलीको हातमा तरबार, भाला, खुँडा लिएर ढालसहित नाच्ने गरिन्छ ।

माघ ३ का दिन पुतलीलाई डोलामा बोकिन्छ र कापैसँग डुलाइन्छ । भल्कोट गाउँभन्दा केहीमाथि रहेको एउटा बारीमा पुगी पुतली घुमाइन्छ र पुतलीजस्तै बनेका मान्छेहरू हातमा तरबार, लट्ठी लिएर नाच्छन् । साँझपख डोलामा बोकेको पुतलीलाई नदी किनारमा विसर्जन गरिन्छ । पुतली विसर्जनपछि स्थानीयवासीले आफन्तलाई घरमा लगी तरुल, रोटीलगायत मीठा परिकार खुवाउँछन् । लामो समय खडेरी परेको समयमा पनि पुतली नचाएपछि पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् । यो नाचसँग जोडिएको अर्को रोचक पाटो हो, भालुको पित्त देखाउने । पुतली नाच र कापैसँगै सांकेतिक रूपमा गाउँलेले भालुको पित्त देखाउने गर्छन्। यो देख्दा जोकोहीलाई आश्चर्य लाग्छ । एक जना मानिसलाई घुम (भेडाको ऊनबाट बनाइएको कपडा) ले बेरिन्छ। उसलाई खरानी लगाएर नचिन्ने बनाइएको हुन्छ, जसलाई भालु भनिन्छ । ती व्यक्तिलाई धेरै रक्सी खुवाएर लट्ठ बनाई पशुझैं दाम्लोले बाँधेर लतारिन्छ ।

केही बेरमा मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसको गुप्तांग सबैमाझ देखाइदिने र खरानी, माटो हाल्दिने गरिन्छ। यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीयवासी बताउँछन् । अन्नपूर्ण पोस्टमा खबर छ ।