नयाँ ग्रह केटु-एटिनबी भेटियो

Avatar photo
Dhadingpost
शनिबार, भदौ २८, २०७६

एजेन्सी भाद्र २८ । वैज्ञानिकले जीवनको सम्भावना हुनसक्ने नयाँ ग्रह पत्ता लगाएका छन् । ‘केटु-एटिनबी’ (K2-18B) नाम दिइएको यो ग्रह पृथ्वीबाट १११ प्रकाश वर्षको दुरीमा रहेको छ। सो ग्रहमा पानी र मान्छे बस्नका लागि अनुकूल तापमान रहेको वैज्ञानिकहरूको दाबी छ ।

लण्डनका वैज्ञानिकहरूले नेचर नामको पत्रिकमा यसबारेमा लेख्दै यो ग्रह आकारमा पृथ्वीभन्दा दुई गुणा ठूलो रहेको बताएका छन् । वैज्ञानिकहरूले यसको तापमान शून्यदेखि ४० डिग्रि सेल्सियसको बीचमा रहेको उल्लेख गरेका छन् ।

बेलायतको युनिभर्सिटी कलेज लन्डनमा सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डाटाका खगोलविद्हरूले नासाको हबल स्पेस टेलिस्कोपको मद्दतले केटु-एटिनबी को वायुमण्डलमा पानीको वाष्प पत्ता लगाएका हुन् । यो ग्रह पृथ्वीले सूर्यबाट ताप प्राप्त गरेजस्तै पर्याप्त मात्रामा ताप प्राप्त गर्न सक्ने स्थानमा अवस्थित छ।

‘यही कारण त्यहाँ हामी जीवनको सम्भावना देखिरहेका छौँ’ प्रोफेसर बेनेकले भने। उनले पृथ्वीसँग केही समानतासँगै यो ग्रह निक्कै फरक पनि रहेको बताए । ‘मलाई लाग्छ यसको पृथ्वीसँग तुलना गर्दा केही सावधान हुन जरुरी छ, किनकि यो केही विषयमा फरक पनि छन्’ उनले भने । बेनेकका अनुसार यसको व्यास पृथ्वीभन्दा झण्डै अढाइ गुणा ठूलो छ । यस प्रकारका ग्रहको चारैतर्फ ग्यासको मोटो आवरण पनि हुने र यसभित्र जाँदै गर्दा तापमान पनि बढ्ने उनको भनाइ छ। वैज्ञानिकहरूका अनुसार अहिलेसम्म केटु-एटिनबी हाम्रो सौर्यमण्डलभन्दा बाहिर जीवनको आशा जगाउने एउटै ग्रह हो । यद्यपि यसबारेमा अझ धेरै जानकारी प्राप्त गर्न बाँकी रहेको बेनेकले बताएका छन् ।