हरि पन्त
धादिङ, फागुन १८ । धादिङ–पोखरा सम्पर्क समाजले धादिङको गजुरी गाउँपालिका वडा नंं. ५, पिंडा भीमसेन स्थान स्थित गजुरी पिंडा माध्यमिक विद्यालयमा तेस्रो अक्षयकोष स्थापना गरेको छ ।
गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीको शैक्षिक भविष्य उज्वल बनाउन अक्षयकोष स्थापनाको लागि १ लाख ८५ हजार ६ सय ५५ रुपैयाँको प्रदन गरेको हो ।
गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको उपस्थितिमा समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पण्डितलाई अक्षयकोष रकम हस्तान्तरण गरे ।
उक्त अवसरमा प्रमुख अतिथि एवं गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले सबै तवरले पछि परेको विद्यालयमा धादिङ समाजले अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले अक्षयकोषमा रकम थप गरे ठूलो बनाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘गजुरी पिंडा मावि निकै पुरानो विद्यालय हो । तर राजनीतिक कारणले विद्यालय सबैभन्दा पीडित र पछि परेको छ । यो समस्या समाधानमा अब गाउँपालिकाले पहल गर्छ ।’
धादिङ समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले धादिङ जिल्लाकै पूरानो विद्यालय सबै भन्दा पछि पर्दा निकै दुःख लागेको भन्दै यसमा राज्य तथा स्थानीय सरकारको ध्यान जानुपर्नेमा जोड दिए । उनले धादिङबाट राजनीति गर्नेहरू धेरै माथिल्लो तहमा पुगे पनि सा–साना विकास निर्माणमा ध्यान नदिनु विडम्वना भएको बताए । उनले भने, ‘धादिङ राजधानीसंग जाडिएको जिल्ला भएर पनि वत्ति मुनिको अँध्यारो बनेको छ । यसमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ ।’
समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले विद्यालयको अवस्था देख्दा निकै पीडा अनुभूति भएको बताए । उनले समाजद्वारा स्थापित अक्षयकोषको सही सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा गजुरी–५ का वडाध्यक्ष रामचन्द्र मिजार, धादिङ समाजका महासचिव रामप्रसाद पाण्डे राजु, पूर्व कार्यसमिति सदस्य युगमराज अगस्ती, पिंडा गाविसका पूर्व अध्यक्ष जितबहादुर भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष विजय भण्डारी, पूर्व अध्यक्ष दिनेश भण्डारी, शिक्षकद्वय रामकुमार श्रेष्ठ र रामचन्द्र श्रेष्ठले बोलेका थिए ।
समाजले यसअघि धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ स्थित भीमोदय मावि र ज्यालामुखी गाउँपालिकाको टारीस्थित ज्ञानज्योति प्राविमा अक्षयकोष स्थापना गरिसकेको छ ।
विद्यालयको अवस्था अझै पुरानै
गजुरी पिंडा मावि १९८२ सालमा चन्द्र शमसेरको पालामा स्थापना भएको विद्यालय हो । शुरुमा भाषा पाठशालाको श्रपमा स्थापित विद्यालय २०५५ सालमा मात्र निमावि बन्यो । २०६५ मा मावि बन्यो भने हाल कक्षा १२ को पढाइ सञ्चालनको तयारीमा छ । यस विचमा विभिन्न आरोह–अवरोह विद्यालयले व्यहोर्यो ।
स्थानीय अग्रजका अनुसार भाषा पाठशालाको रुपमा सञ्चालन हुँदा वर्षमा मुस्किलले ३ महिना चल्थ्यो । तर बन्द भने भएन, निरन्तर चलिरह्यो । विभिन्न दातृ निकायको सहयोगमा विद्यालयको २ पक्की भवन छ तर पर्याप्त छैन । पछिल्लो समयमा जाइकाको २ करोड भन्दा बढी लगानीमा ९ कोठे थप एउटा भवन बन्नेक्रममा छ । विद्यालयका लागि स्थानीय निकायले केही राहत शिक्षक उपलव्ध गराए पनि राज्यका अन्य निकायले केही सहयोग नगरेको बताइन्छ ।
राजनीतिले पटक–पटक विद्यालय प्रशासन तथा व्यवस्थापनलाई बिगारेको एक स्थानीय अग्रज बताउँछन् । करिब ‘शताव्दी मनाउने तरखर गर्नुपर्ने विद्यालयको अवस्था देख्दा निकै टिठ लागेर आउँछ । राजनीतिले विद्यार्थीको भविष्यमाथि निकै खेलवाड गरेको छ’, उनले भने, ‘अभिभावक तथा स्थानीयको पहलमा विद्यालय बल्ल बामे सर्दै गरेको अवस्था छ । विद्यालय व्यवस्थापनमा केही सुधारका संकेत देखिए पनि प्रशासन अझै उस्तै छ ।’ विद्यालयमा हाल करिब ४ सय विद्यार्थी र १७ शिक्षक–शिक्षिका छन् ।
वत्तिमुनिको अँध्यारो
धादिङ जिल्ला नेपालका अन्य जिल्लाहरू भन्दा चर्चित जिल्ला हो । बहुचर्चित पृथ्वी राजमार्ग तथा त्रिशुली, बुढी गण्डकी नदीको आधा भूभाग यसै जिल्लामै पर्छ । धादिङ राजधानीको मुख्य नाका तथा छिमेकी जिल्ला पनि हो । तर समग्र विकासका हिसावले निकै पछाडि छ । विकासमा पनि धादिङको सडकको अवस्था हेर्ने हो भने विकराल छ । पृथ्वी राजमार्ग र धादिङ–मलेखु मार्ग बाहेक धादिङमा खासै पक्की सडक छैन । पृथ्वी राजमार्गबाट गजुरी–दामन सडकको अवस्था निकै दयनीय छ ।
संघीय र प्रदेश सरकारको विवादका कारण यसअघि नै पक्की बन्नुपर्ने यो सडक अझै कहालिलाग्दो छ । यस सडकमा सहज रुपमा गाडी गुड्न सक्ने अवस्था छैन । जसका कारण यस क्षेत्रका बासिन्दा निकै प्रताडित रहेको पिंडाका स्थानीय दिनेश भण्डारी बताउँछन् । उनका अनुसार यस क्षेत्रमा खानेपानीको समस्या पनि निकै छ । गत स्थानीय निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलले १ घर १ धारा पानी उपलव्ध गराउने प्रतिवद्धता जनाए पनि केही नगरेको उनले बताए ।