रंग हराएको मेरो गाउँ, आँगनमा गुर्दौली फुल्न छोड्यो

Avatar photo
Dhadingpost
मंसिर १, २०७५

ध्रुव लम्साल
उमेरले म भन्दा १० वर्ष कान्छो । नातामा भाइ पथ्र्यो । १६ वर्ष उमेर नपुग्दै गाउँमा हाइहाइ भयो । एक हलको मेलोमा एक्लै आली लगाउँथ्यो । २५ पाथी धानको धोक्रो बोकेर खेतबाट उकालो लाग्थ्यो । अरू धोक्रो बोकेर घर पुग्दा उसको ज्यानमा पसिना ओभाइसकेको हुन्थ्यो ।

साँवा अक्षरबाहेक चिनेको थिएन । जायजेथा राम्रै थियो । ‘केटो गरिखाने खालको छ,’ उसको बारेमा नराम्रो कुरा गर्ने थिएनन् । एसएलसी पास गरेकी केटी बिहे ग¥यो । स्टिकरसहितको चस्मा लगाई बेहुलो भएर अन्मिएको केटोले श्रीमतीसँगै एउटा ‘ब्ल्याक एन्ड ह्वाइट’ टिभी दाइजोस्वरूप ल्यायो ।

टिभी दाइजो लिएर आउने ऊ गाउँको पहिलो बेहुला थियो । चर्चा त कति हो कति १ सीआरएस कम्पनीले बाँडेको टिसर्टमा देखिने चित्र जस्तै एक छोरा एक छोरी जन्मिए । ‘सानो र सुखी परिवार’ अर्को उपाधि पायो । ऊ गाउँकै राम्रो डकर्मीका रूपमा दरिएको थियो । काठ चिर्ने, गारो लगाउने, छाना छाउनेलगायतका काम गथ्र्यो । १२ वर्षअघि दिनको पाँच सय ज्याला थियो गाउँमा ।

ऊभन्दा केही वर्ष कम उमेरका केटाले कतार, दुबई, इराकलगायतका मुलुकमा भविष्य खोज्न थालेका थिए । उसले पनि श्रीमतीसँग सल्लाह ग¥यो । श्रीमतीले तुरुन्तै सहमति जनाई । केही वर्ष खाडी बसेपछि भविष्य उज्यालो हुने सपना देखेकी थिई उसकी दुलहीले ।‘विदेश जाने फलानाले यति पठाए रे’ गाउँमा हल्ला चल्न थाल्यो । उसले पनि घर सल्लाह ग¥यो । विदेश जान पैसाको दुःख थिएन । सय कडा बीसमा जति पनि पैसा दिन्थे हुने खानेहरू । अन्ततः उसले पनि पासपोर्टको घान हाल्यो । केही दिनमै
मलेसिया उड्यो ।

तीन वर्षपछि घर फर्कियो । ३२ इन्चको टेलिभिजन, पहेंलो घडी, स्क्रिन टच मोबाइल । गाउँमा भए भरका मान्छे उसकै घरमा जम्मा हुन थाले । ‘अब गाउँमै बस्नुपर्छ,’ बुढापाकाहरूले भने । उसले जवाफ फर्काएन । ६ महिना गाउँमै बस्यो । फेरि म्यानपावर अफिस धायो र कतार उड्यो । ऊ कतार उडेपछि थाहा भयो । पहिलाको ऋण तिरेपछि फेरि डेढ लाख ऋण खोजेर विदेश गएको रहेछ ।

ऊ मात्रै होइन । मेरो गाउँका वल्लो घर, पल्लो घर, सिरानघर, पुछार घर । घरको एक जनाका दरले विदेश गएका छन् । म एक्लो छु, विदेश जाने ह्याउ नभएको । मेरो अगाडि त कसैले भनेका छैनन् । धेरैले मेरो नामसँगै सिल्ली पनि जोड्ने गरेका छन् बेलाबेलामा ।

‘एकपटक विदेश नजाने पनि के छोरा रु’ धेरै आदरणीयले मेरै अगाडि भनेका छन् । थप आलोचना सुन्न मलाई पनि मन छैन । हत्तपत्त भन्दिन्छु, ‘मै जस्तो सिल्ली भएर चाहिँ काम छैन है । एकपटक विदेश जानुपर्छ ।’ मैले आफैंलाई सिल्ली भनेको सुन्दा छोरा विदेश पठाएका छिमेकी मख्ख पर्छन् र भन्छन्, ‘तँ नि जा न, उमेर छ क्यारे ।’

म थप्छु, ‘गाउँमा सिल्ली पनि त चाहियो नि ।’ मेरो कुरा सुनेपछि गलल्ल हाँस्छन् वरिपरिका । नेपाली युवाको गन्तव्य खाडी मुलुक मात्रै सीमित रहेन अब । अस्ट्रेलिया, जर्मनलगायत अन्य कतिपय युरोपियन मुलुक पनि गाउँका भाइभतिजाको गन्तव्य बनेको छ । खाडीमा छोरा पठाउनेको तुलनामा अस्ट्रेलिया, जर्मन वा डेनमार्कमा छोरा, बुहारी पठाउनेहरूको फूर्ति अलि बढी हुन्छ ।

प्लास्टिकले काँजो मारेका ५० हजारभन्दा बढी मूल्यका मोबाइल फोन बोक्ने ‘बाहरू’को बहुमत छ गाउँमा । एलईडी टिभी र डिस होम नभएको घरै छैन । २०७२ सालमा आएको भूकम्पपछि माटोले पोतेको भित्तो पनि दुर्लभ दृश्य हुन पुग्यो ।बल भएका छोरानाति विदेश गएपछि घर कुर्ने जिम्मा हजुरबा पुस्ताको भागमा परेको छ । कुनै समय ननुहाई मुखमा पानी नहाल्ने ब्राह्मण समुदायका हजुरबा अहिले प्लास्टिकको चप्पल लगाएर भान्सैमा बस्छन् किनकि सिमेन्टको चिसोबाट जोगिनु छ ।

धुवाँरहित चुलो विस्थापित भएको केही वर्ष भयो । राइस कुकरमा पाकेको जर्रो भात र ग्याँसमा पकाएको तरकारीले दैनिकी धानेको छ । एक हल गोरु र लैनो भैंसी इतिहास भइसकेको छ । सरकारले दिएको वृद्धभत्तामा विदेशबाट थपिएको रेमिट्यान्सले तत्कालीन जीवन राम्रै चलेको छ । त्यही गाउँ हो, दसैं, तिहार, माघे संक्रान्तिलगायत चाडमा हरेक घरमा पिँढीभरि मान्छे हुन्थे ।

रातोमाटोले पोतेको भित्तोमा असोजको घाम ठोक्कि“दा चिटिक्क देखिन्थ्यो । अहिले अधिकांश घरका भित्तामा माटोको लिउन छैन । सिमेन्ट र बालुवा पोतिएको छ । लिउनको तुलनामा सिमेन्टले पोतेका भित्ता सर्लक्क परेको देखिन्छ । त्यसमाथि बजारमा पाइने गाढा रंग पनि छ । खै किन हो, गाढा रंग लागेका भित्तामा माटोको जस्तो चमक देखिन“ मैले गाउँको घरमा दसैं आउनै लाग्दा रातो माटोले पोत्ने चलन हुन्थ्यो । रातोमाटोले पोतेको भित्तोमा असोजको घाम ठोक्किँदा चिटिक्क देखिन्थ्यो ।

अहिले अधिकांश घरको भित्तोमा माटोको लिउन देखिँदैन । लिउनको ठाउँमा सिमेन्ट र बालुवा छ । सिमेन्टले पोतेको भित्तो लिउनको तुलनामा सर्लक्क परेको देखिन्छ । त्यसमाथि बजारमा पाइने उज्यालो रंग पनि छ । खै किन हो, आधुनिक रंग लागेको भित्तोमा माटोको जस्तो चमक देखिनँ मैले । म आफैं समयभन्दा पछि परेको हो कि रु त्यही आँगनको डिलमा हुन्थ्यो, मखमली, सयपत्री र गुर्दौली फूलका बोट ।

‘अचेल आँगनको डिलमा मखमली, गोदावरी हुर्किन छाडेको छ,’ पल्ला घरे काका भन्दै थिए, ‘छोरा जति सबै विदेशमा कसले माला लाउछ र, फूल हुर्काउने रु’ छोरी पनि ज्वाईसँगै चार वर्षअघि जापान गएपछि उनको आँगनको डिलमा गुर्दौली फुल्न छोड्यो । ती काकाको घरमा चाडबाड नआएकोे पनि चार वर्ष भयो ।

पशुपति शर्माको स्वरमा रेडियोमा बजिरहेको देउसी गीत सुनिरहेका काकाको अनुहारले गाउँ गाउँ जस्तो नभएको प्रस्ट्याउँथ्यो । घरमा चाड नआएको संकेत पनि अनुहारमा प्रस्ट देखिन्थ्यो । तर, मुख बाएनन् । कान्छाले दसैंअगाडि एक लाख पठाएको प्रसंग उठाएर खुसी भेटेको तर्क गरे ।

विदेश जाने मात्रै होइन । आउनेक्रम पनि जारी छ । कमाउनेले कमाए । उल्टै ऋण थपेर आउनेहरू पनि भेटिए । कमाएर आउनेहरूले पनि गाउँलाई आफ्नो ठाउँ बनाउन सकेनन् । केही वर्ष विदेशका चिल्ला सडक डुलेका काठमाडौ झर्नेबित्तिकै कालो चस्मासँगै मास्क पनि किन्छन् । खेतबारी बाँझो भएकामा भन्दा पनि छोराछोरीले टाई लगाएर स्कुल जान नपाएकामा चिन्ता गर्न थालेका छन् अचेल ।

‘छोराछोरीलाई आफैं जस्तो हुन त दिनु भएन नि,’ छोरा पढाउन भन्दै सदरमुकाम डेरा सरेका नातामा भतिज पर्नेले भन्दै थियो । अर्को भाइ पर्नेले त काठमाडौं मा तीन आना घडेरी नै जोडिसक्यो ।

नवमीको दिन दसैं मान्न घर पुगेको भाइटीकाको दिन सबेरै ससुराली गएको उतैबाट काठमाडौ हानियो । दुई वर्ष अघिदेखि वृद्धभत्ता बुझ्न थालेका उसका बाले गुनासो गरेनन् । नातिले पिङ खेल्दा अंग्रेजी गीत गाएको सुनेर मख्ख परे ।

एक हल गोरु, लैनो वा बकेर्नो भैंसी, दुई चारवटा बाखा । गाउँको एकखालको सौन्दर्य थियो । मंसिर लाग्दा नलाग्दै भकारीको रासमा छेउ ताछेर रायोको साग लगाउने चलन हुन्थ्यो । मही खान बिर्सेकाहरू दसैं, तिहार जस्ता चाडमा क्याम्पा कोला (कोकाकोलाको डुब्लिकेट) खाएर प्यास मेटाउँदा रहेछन् । मही पार्न छाडेपछि दारको ठेकी चरक्क चर्किंदो रहेछ । ठेकी नै चर्केपछि मदानीको के काम ? ल साभारः राजधानी दैनिक