चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजालाई पहिलो गाँसमै ढुंगा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १४, २०७५

काठमाडौ, असोज १४ । फिल्ममा प्रवेश गर्ने सबैको भाग्य चम्किन्छ भन्ने छैन । सबै अनमोल केसी र साम्राज्ञी आरएल शाह बन्न सक्दैनन् । यहाँ पहिलो गाँसमै ढुंगा चपाउनेको कमी छैन ।

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम एक उदाहरण हुन् । फिल्म ‘अनुराग’ बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् ।मनमा अभिनयको हुटहुटीले दुई सन्तानको आमा भएपछि पनि उनलाई अभिनेत्री बन्न रोकेन । यो आफैंमा ठूलो हिम्मत थियो । भलै, ब्यानर आफ्नै किन नहोस् ।उनी अभिनयमा होमिएरै छाडिन् । श्रीमतीको सपना पूरा गर्न फिल्ममा पति धमलाले लगानी गरिदिए । गएको असोज १२ गते फिल्म रिलिज भयो ।

दुई फिल्मसँग भिडन्त आरम्भ गरेको यो फिल्मले बक्सअफिमा सिन्को भाँचेन । न डेब्यु गरेकी एलिजाको अभिनयको नै प्रशंसा भयो । बरु, उनले फिल्ममा आउन हतार गरेको आरोप मात्र खेपिन् । ‘अनुराग’ चलेपछि बाहिरी ब्यानरमा जम्ने रहर उनको फूल्न नपाउँदै ओइलिएको छ ।रिलिजको तरखरमा रहँदा किन आफ्नै ब्यानरको फिल्मबाट डेब्यु ? भन्ने प्रश्न खुब झेलिन् ।

छुट्कारा पाउन उनले दीपेन्द्र के. खनालको फिल्म ‘धनपति’ बाट अफर आएपनि नगरेको गफ दिइन् । फिल्मीखबरसँगको कुराकानीमा निर्देशक खनालले यो कुरा नकारे । झुट बोलेरै भएपनि आफ्नो वाहवाही गर्न नछाडेकी एलिजालाई यतिबेला डेब्यु फिल्मको नतिजाले बेचैनी बनाएको छ ।

पत्रकार धमलाले फिल्म हिट बनाउन सबै अस्त्र प्रयोग नगरेका होइनन् । नेतादेखि कलाकार बोलाएर फिल्म देखाए । हल पुगेर दर्शकको हात समात्दै टिकट काउन्टरसम्म पुर्‍याए । हिरो–हिरोइन मिडियाको अगाडि ग्वाँग्वाँ रोए । तर, फिल्म नै कमजोर भएपछि टाउको फुटाएर पनि के गर्नु ? अन्ततः एलिजाका लागि यो पहिलो गाँसको ढुंगा भएको छ ।