यौन हिंसा कम गर्न जनचेतनामुलक कार्यक्रम आवश्यक

Avatar photo
Dhadingpost
अशोज ३, २०७५

लक्ष्मण लामिछाने,

५२ दिनमा २२५ बलात्कार ,नौ महिनाको नाबालिक पनि बलात्कृत ,बलात्कार पछि हत्या र हत्या पछि पनि बलात्कार ।यो सबै हाम्रो देश नेपालको आज भोलि हुने समाचारको शिर्षक हुन र केहि कुकर्ममा बहादुर नेपाली नागरिकको विश्व समाजलाई सभ्यताको परिचय पनि ।

बलात्कार जघन्य दण्डनीय अपराधिक कुकृत्य हो।दोषीलाई हदैसम्मको कडा भन्दा कडा कानुनी कारबाही हुनु आवश्यक छ । संविधान संशोधन गरेर कानुन बनाइ मृत्यु दण्ड नै दिदा पनि उचित नै हुन्छ तर मृत्यु दण्ड नै बलात्कार उन्मुलन गर्ने अन्तिम उपाय भने पक्कै होइन ।

बलात्कार किन हुन्छ ? यसलाई रोक्ने उपायहरु के के हुनसक्छ ? यस बारेमा अनुशासनात्मक बहस र छलफल आजको हाम्रो समाजको आवश्यकता हुनपुगेकोछ ।मुख्यत हाम्रो देशमा बलात्कार यौन चाहनाको कुण्ठा प्रस्तुत भएको देखिन्छ ।दोस्रो बदलाको भाव ,ईष्र्या अनि रिसको प्रस्फुटन दुर्भाग्यपूर्ण रूपमा छचलकिएकोछ ।

नेपाली समाजले सहवासलाइ वैवाहिक जोडी बाहेकका निम्ति कानुनी र सामाजिक रूपमा बन्देज गरेकोछ । उमेर पुगेका युवा युवतीहरुलाइ यौन चाहना तिव्र हुँदा सेक्सको चाहना पुर्ती गर्ने साधन र यौनशिक्षाको कमीको कारण बलात्कार धेरै हुने गरेको यथार्थता अब लुकाएर हुन्न ।नौ दस कक्षा देखि नै यौनशिक्षा र बलात्कार अनि यौनको वैकल्पिक उपायहरु बारे सबै सबैलाई जानकारी दिलाउन र सेक्स भनेको कुनै ठूलो वा नौलो नभई प्राणी जगत र जीवनको सामान्य अनि अपरिहार्य आवश्यकता हो भन्ने बुझाइएको खण्डमा बलात्कार निर्मुलिकरणमा सहजता हुनेछ ।यौन क्रिडा वस्तुहरुको उपलब्धता हरेक गाउँ ठाउँमा सजिलोसँग उपलब्ध गराइनुपर्छ र त्यसको उपभोक्ता वा खरिदकर्तालाई वा विक्रेतालाई नकारात्मक दृस्ठिले हेर्नू हुन्न।मेरो विचारमा अझै महत्त्वपूर्ण अर्को पाटो भनेको सेक्स फ्रीडम कन्ट्री नेपाल पनि हुनु आवश्यक छ।गण्डकी प्रदेशको मुख्यमन्त्रीले भन्नुभएको जस्तै रेड लाइट एरिया घोषणा गरेर कानुनी व्यवस्था कायम गर्नुपर्छ र त्यो ठाउँमा जाने जो कोहीलाई सामान्य दैनिक आवश्यकताको कामकारबाही गर्ने क्रियाकलाप कै रूपमा लिनुपर्छ भन्ने मेरो बुझाइ हो।केहि व्यक्ति बाध्यताले यौनकर्मी बनेको होलान् तर अधिकांश लखपति र करोडपतिहरु ऊनीहरुको स्वतस्फूर्त चाहना र इच्छाले यौनकर्मी भएकाछन ।

हो धार्मिक दृष्टिकोण बाट वा कुनै वादको हेराइ बाट वा आजको हाम्रो समाजको बुझाइबाट तपाईहरुले मलाई पनि वेवकुफ देख्नु होला तर सामाजको आवश्यकता नजरअन्दाज नहोस् । आजैदेखि उच्च राजनीतिक तह र मिडियामा आवश्यक बहस छलफल हुनुपर्छ ।फेरि पनि भन्छु कि सेक्सलाई नकारात्मक तवरले नबुझौ र कानुनी दायरा भित्र ल्याउन लागौं।बलात्कार समाजबाट सधैको निम्ति हटाउने उपायहरुको खोजी गरौँ ।
बलात्कार आज केबल नेपालमा मात्रै भइरहेको छैन ।यसको इतिहास खोज्नु हाम्रो दायित्व वा कर्तव्य पक्कै होइन तर यस प्रकारको मानसिक रोगको आमूल निर्मुलिकरण आजको समाजको आवश्यकता हो।बलात्कारले केबल बलात्कृत महिलाको अस्तित्व माथि मात्रै धावा नबोली सम्पुर्ण समाजको सभ्यता माथि आगो झोसेकोछ ।भोलि तपाई हाम्रो चेलीबेटी बलात्कारमा पर्नु पुर्व किन हामीले सतर्कता नअपनाउने ? बलात्कारको कुरुपता सम्बन्धित र यौन चाहना पुरा गर्ने अन्य माध्यम सम्बन्धित शैक्षिक चेतना किन हरेक मानसपटलमा नपुर्‍याउने? सरकार र पार्टीहरुले जनचेतनामूलक कार्यक्रम राख्दा अझै सुनमा सुगन्ध हुन्थ्यो कि? सरकारले र प्रतिपक्षी दलहरूले एकले अर्कोतिर अनि प्रशासनले दलहरू प्रती आरोपप्रत्यारोप गर्नुको सट्टा यो सामाजिक मनोरोग हो भनी किन यस बारेमा सकारात्मक परिणाममुखी बहस ,छलफल र कार्यक्रम नल्याउने? आखिर अपराधीहरुले को कसको र कुन पार्टी वा प्रशासनको भन्ने सोच्ने छैन । समष्टिगत समाधानको निम्ति सबै हामी नेपाली एक जुट भए र चेतनाको स्तरमा वृद्धि गरे न त बलात्कारीको संरक्षक कोही होला न त बलात्कार ।अर्को कुरा नेपाल सरकारले गृह प्रशासनमा अपराधको सूचना संकलनमा बृहत क्षेत्रहरूको पनि खोजी गर्ने कि?