काठमाडौँ, साउन ९ । जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ ।
चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन् ।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, देशैभर गर्मी बढीरहँदा स्कूले बालबालिकाको जीवन रक्षाका लागि जरूरी उपायहरुको आवश्यकता रहेको छ ।
सर्वसाधारणहरुलाई गर्मीबाट बच्न प्रशस्त पानी पिउन, हावा चिसो पार्ने प्रणालीको प्रयोग गर्न र गर्मीबाट हुने थकानबाट जोगिन आराम गर्न सुझाव दिइएको छ ।
चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको आकस्मिक सेवाका अधिकारीहरुले बताएका छन् । मौसम पूर्वानुमानविद्हरुका अनुसार चर्कंदो तापक्रम घट्ने कुनै संकेत देखिएको छैन ।
सोमबार राजधानी टोक्यो नजिकको कुमागाया शहरमा तापक्रम ४१ दशमलब एक डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा उच्च तापक्रम हो । टोक्योको मध्यवर्ती भागमा पनि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ ।
जापानको मौसम पूर्वानुमान निकायले अगष्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहनसक्ने भनी सावधान गराएको छ । प्रवक्ता मोटोआकी ताकेकावाले भने, केही क्षेत्रमा पहिले कहिल्यै अनुभव नगरिएको स्तरमा गर्मी बढेको देखिएको छ र चर्को गर्मीले मानिसको जीवनलाई नै खतरामा पारेको देखिएको छ ।
