स्मार्ट प्रविधिमा आधारित नगर प्रोफाइल बनाउँदै धुनिबेसी

Avatar photo
Dhadingpost
बुधबार, असार २०, २०७५

धादिङ असार २० । धादिङको धुनिबेसी नगरपालिकाले स्मार्ट प्रविधिमा आधारित नगर प्रोफाइल निर्माण सुरु गरेको छ । नगरपालिकाको सेवा प्रवाह प्रक्रियालाई चुस्त बनाउन र विकास निर्माणलाई फलदायी बनाउन पूर्णरूपले डिजिटल प्रविधिमा आधारित नगर प्रोफाइल बनाउन लागेको हो ।

नगरपालिकाको कार्यालय खानीखोलामा वस्तुगत विवरण संकलकहरूका लागि आयोजित कार्यक्रममा प्रमुख बालकृष्ण आचार्यले निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता र समयको मागअनुसार डिजिटल प्रविधिमा आधारित नगर प्रोफाइल बनाउन लागेको बताए । उनले भने, “हामी हाम्रा काम गर्ने तरिकाहरू बदल्न चाहन्छौं । सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रयासमा छौं । त्यसैले हामीले पहिलो पटक डिजिटल प्रोफाइल बनाउने कार्यको सुरुवात गरेका हौं ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले नगरपालिकाको काममालाई पारदर्शी बनाउन र विकास निर्माणमा विनियोजन गरिएको रकमको अधिकतम प्रयोग गर्ने हेतुले प्रविधिमार्फत प्रोफाइल बनाउन लागेको बताए ।

प्रोफाइल निर्माणका लागि छनोट भएको परामर्शदाता कम्पनी हेडलाईट प्रालि, काठमाडौंका प्रबन्ध निर्देशक दीपेन्द्र खड्काले डिजिटल प्रविधिमा आधारित नगर प्रोफाइल निर्माण कार्य देशकै नमुना हुन सक्ने विश्वास व्यक्त गरे । उनका अनुसार प्रोफाइलका लागि आवश्यक तथ्यांक संकलन तथा त्यसको विश्लेषण पूर्ण रूपमा सफ्टवेयर प्रणालीमार्फत गरिने बताए । खड्काले नगरवासीका लागि आवश्यक एकीकृत तथ्यांकलाई अफलाइन र अनलाइन गरी दुवै प्रणालीमा राखेर सेवा प्रवाह गर्न सक्ने प्रविधि नगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।

यो प्रणालीमार्फत आवश्यक पूर्वाधारहरूको जीपीएस लोकेसनको रेकर्डसमेत सजिलै लिन सकिने परामर्शदाता कम्पनीले जनाएको छ । नगरपालिकाका सूचना अधिकृत भोलाप्रसाद गौतमका अनुसार डिजिटल प्रोफाइल निर्माण कार्य सम्भवतः जिल्लाकै पहिलो हुनेछ । उनले प्रविधिले मात्र सेवा प्रवाहलाई प्रभावकारी गराउन सक्ने भएकाले आफूहरूले त्यसको सुरुवात गरेको बताए । साभार कारोबार दैनिक