ग्रिनोभाद्वारा धादिङका तीन पालिकामा १० हजार सुधारिएको चुलो वितरण, गल्छीमा अभियान जारी

Avatar photo
Dhadingpost
साउन ५, २०८३

धादिङ । ग्रिनोभा संस्थाले धादिङका तीन स्थानीय तहमा सुधारिएको चुलो वितरण अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत धुनीबेँसी नगरपालिकामा चुलो वितरण सम्पन्न भइसकेको छ भने हाल गल्छी गाउँपालिकामा वितरण कार्य जारी छ । थाक्रे गाउँपालिकामा पनि केही समयभित्रै वितरण सुरु गरिने जनाइएको छ ।

संस्थाकी व्यवस्थापक जननी मगरका अनुसार धुनीबेँसी, गल्छी र थाक्रेमा गरी १० हजार वटा सुधारिएको चुलो वितरण गर्ने लक्ष्य रहेको छ ।

उनले दाउरामा खाना पकाउँदै आएका घरपरिवारलाई प्राथमिकतामा राखेर चुलो उपलब्ध गराइएको बताइन् । उनका अनुसार यो अभियान जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा घरभित्रको धुवाँ कम गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।

ग्रिनोभाका अनुसार सुधारिएको चुलो प्रयोग गर्दा परम्परागत चुलोको तुलनामा धुवाँ करिब ५० प्रतिशतले घट्ने, दाउराको खपत ५० प्रतिशतसम्म कम हुने र खाना पकाउन लाग्ने समय पनि करिब ५० प्रतिशतसम्म बचत हुने अपेक्षा गरिएको छ ।

संस्थाले सुधारिएको चुलोको प्रयोगले वातावरण संरक्षणसँगै घरभित्रको वायु प्रदूषण घटाउन र ग्रामीण समुदायको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।