धुनिवेशीले १२१ खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्ने

Avatar photo
Dhadingpost
असार २७, २०८३

धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार जितेका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

नगरपालिकाले असार ३१ गते आयोजना गर्ने विशेष कार्यक्रममा नगरभित्रका विभिन्न खेल विधामा सफलता हासिल गरेका १२१ जना खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्ने जनाएको छ ।

नगरपालिकाका अनुसार खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै धुनिवेशीको पहिचान स्थापित गरेका खेलाडीहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मानित हुने खेलाडीहरूले जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक तथा पुरस्कार हासिल गरेका छन् ।

नगरपालिकाले खेलाडीलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्ने कार्यक्रमले खेल क्षेत्रप्रति युवाहरूको आकर्षण बढ्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

धुनिवेशी नगरपालिकाले खेलकुद क्षेत्रको विकास, प्रतिभा पहिचान र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।