एजेन्सी,असार २० । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरियाली नेताले प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउनका लागि चीनका राष्ट्रपति शी चिनफिङसँग सहायता मागेको छ ।
जापानी समाचारपत्र योमिउरी शिम्बुनले सूत्रहरूलाई उद्धृत गर्दै किमले अघिल्लो महिना शीसँगको भेटघाटमा यो अनुरोध गरेको र चिनियाँ राष्ट्रपतिले यसका लागि भरपूर सहयोग दिने आश्वासन दिएको लेख्यो ।
शीले किमलाई चीनसँग सल्लाह लिइराख्न भनेको पनि पत्रिकाले छापेको छ । चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई उत्तरमाथिको प्रतिबन्ध खुकुलो बनाउने विषयमा विचार गर्न पनि भन्ने संकेत देखिएको छ ।
पत्रिकाका अनुसार, किमले शीलाई उत्तर कोरिया आर्थिक प्रतिबन्धका कारण अत्यन्तै समस्यामा परेको र चीनले छिट्टै प्रतिबन्ध हटाउनका लागि काम गर्नुपर्ने बताए । उनले चीनलाई वाशिङटनसँग आणविक निःशस्त्रीकरण वार्तामा प्योङयाङको समर्थन गर्ने अनुरोध गरे । यसको बदलामा शीले किमलाई उत्तर कोरियाको विकासका लागि सक्रियतापूर्वक काम गर्ने बताए ।
