यमनमा द्वन्द्वका कारण २२ सय बालबालिकाको मृत्यु

Avatar photo
Dhadingpost
असार २०, २०७५

जेनेभा, २० असार । यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ ।

“यो त हामीले पहिचान गर्न र भेट्टाउन सकिएको तथ्यांक मात्रै हो, मृत्यु हुने, घाइते हुने र पीडित हुने बालबालिकाको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्छ,” युनिसेफका कार्यकारी निर्देशकले भन्नुभयो ।

यति धेरै मान्छे मारिएको, घाइते भएको र प्रभावित भएको द्वन्द्वको अहिलेसम्म कुनै औचित्य नदेखिएको पनि उहाँले बताउनुभयो ।

“अहिले चलिरहेको द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेको छ,” राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले भन्नुभयो । द्वन्द्वग्रस्त मुलुकको स्थलगत अवलोकन गरी उहाँ हालै मात्र जेनेभा फर्किनुभएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि यो द्वन्द्व शुरु भएको हो ।

द्वन्द्वका कारण धेरै बालबालिका विद्यालय जान नसकेको विषयमा पनि उहाँले सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ ।