
काठमाडौँ, १७ जेठ । साढे ३३ किलो सुन काण्डमा फरार रहेका एसएएसपी श्याम खत्रीले आत्मसर्मण गरेका छ ।
उनले बिहीबार बिहान मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । अनुसन्धानका क्रममा उनी करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका थिए ।
फरार रहेका एसएसपी खत्री यसअघि पनि २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए ।
सुन तस्करी र शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले विमानस्थलबाट एसएसपी खत्रीकै सहयोगमा सुन आउने गरेका अदालतमा बयान दिइसकेका छन् ।
फरार रहेका खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । अदालत पुगेका खत्रीसँग आजै बयान लिने तयारी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले केही दिन अगाडि बयानको लागि बोलाएको थियो । टोलीले पत्र काटे लगत्तै खत्री फरार भएका थिए ।
खत्रीले आफ्ना अंगरक्षक र सवारी चालकको सहगोगमा प्रहरीकै गाडीमा हालेर विमानस्थलबाट सुन बाहिर पठाउने गरेको गोरेको बयान छ ।
गोरेको बयान अनुसार दुवई र थाई एयरबाट आएको सुन पहिलो एसएसपी खत्रीको कोठामा जान्थ्यो, त्यहाँबाट उनले समय मिलाएर तस्करहरुसमक्ष पुर्याउने गर्दथे ।
खत्रीको लाइनबाट मात्र झण्डै पाँच सय किलो सुन आएको गोरेको बयान छ । खत्रीले सुन पास गराएवापत प्रतिकिलो ५० हजार बुझ्ने गरेका थिए ।
