२४ लाखको कार सन्दीप लाई

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौं, जेठ १० । विश्वकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका युवा स्पिनर सन्दीप लामिछानेलाई सिप्रदी ट्रेडिङले बुधबार कार प्रदान गरेको छ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपलाई ३ वर्षका लागि सद्भावना दूत बनाएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र कन्ट्री डाइरेक्टर अजितनारायण सिंहले टाटा टिगोरको चाबी हस्तान्तरण गरेका थिए । २४ लाख ९५ हजार रुपैयाँ बजार मूल्य रहेको कार पाएका सन्दीपले अब सिप्रदी ट्रेडिङको उत्पादन सामग्री प्रवद्र्धन गर्न बृहत् सहकार्यका लागि कम्पनीसँग ३ वर्षका लागि सम्झौता गरेका हुन् ।सम्झौता पत्रमा १७ वर्षे युवा लेग स्पिनर सन्दीप र सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यती फ्लोरिङका निर्देशक अनिल केडियाले सन्दीपको मिहिनेत र प्रतिभाका लागि आफूहरूले सम्मान गरेको बताए । केडियाले यो सुरुआत भएको र आगामी दिनमा अन्य सहकार्य पनि हुने बताए । पुँजी विदेश पलायन हुनबाट रोक्न स्वदेशी उत्पादनमा जोड दिएको भन्दै कर्पोरेट प्रमुख राजकुमार शाहले भने, ‘सन्दीपले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल छन् । उनको यो साहस, लगनशीलता र मिहिनेतलाई यती कार्पेट सलाम गर्छ ।’

सम्झौतापछि सन्दीपले टाटासँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले थपे, ‘विगत केही वर्षदेखि नेपाली खेलकुदमा लागेका खेलाडीलाई सिप्रदीले सहयोग गर्दै आएको छ । त्यसका साथै टाटा कम्पनीसँगको मेरो यात्रा आगामी दिनमा अझै प्रगाढ हुने विश्वास लिएको छु ।’सिप्रदीले यसअघि क्रिकेट खेलाडी आरिफ शेख र सुनील धमलालाई पनि डेढ वर्षदेखि सहयोग गर्दै आएको छ । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रको शिर उच्च पार्र्दै नेपालीको प्रतिनिधित्व गर्ने खेलाडीसँग सम्झौता गर्न पाएकोमा खुसी लागेको बताए । श्रेष्ठले थपे, ‘युवा खेलाडी सन्दीप लामिछानेसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं ।

कलिलै उमेरमा विश्वकै चर्चित प्रतियोगिता आइपिएलमा शानदार प्रदर्शन गरेका सन्दीपले नेपाली खेलाडीको पनि सम्भावना छ भन्ने प्रमाणित गरिदिएका छन् ।’दिल्लीको अघिल्ला ११ खेलमा खेल्न नपाएका सन्दीपले अन्तिम ३ खेलमा मौका पाएका थिए । प्लेअफबाट बाहिरिसकेपछि दिल्लीले सन्दीपसहित अन्य नयाँ खेलाडीलाई पनि मौका दिएको थियो । सन्दीपले ३ खेलमा पाँच विकेट लिए । मुम्बई इन्डियन्सविरुद्धको अन्तिम खेलमा महत्वपूर्व तीन विकेट लिएका सन्दीपले स्टाइलिस प्लेयर अवार्ड जितेका थिए । सिप्रदीका कन्ट्री डाइरेक्टर अजितनारायण सिंहले सन्दीपसँगको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।