एजेन्सी । डोपिङ परिक्षणमा असफल भएपछि दक्षिणी अमेरिकी देश पेरूका फुटबल कप्तान पाओलो गुइरेरोले आगामी महिनाबाट सुरू हुने विश्वकप गुमाएका छन्।
फिफाले उनलाई सुरूमा एक वर्षको प्रतिबन्ध लगाएको भए पनि सो प्रतिबन्धलाई फास्टट्र्याक अपिलका माध्यमबाट पछि विश्वकप खेल्न मिल्ने गरी घटाइएको थियो।
३४ वर्षिया गुइरेरोको शरिरमा गत अक्टोबरमा भएको अर्जेन्टिना विरूद्धको विश्वकप छनौट खेलका क्रममा गरिएको डोपिङ परिक्षणमा ‘बेन्जोयलगोनाइन’ नामक कोकिनको मेटाबोलाइट भेटिएको थियो।
उनले प्रदुषित चियाका कारण डोपिङमा असफल भएको बताउँदै आएका थिए। सोमबार खेल अदालतले ‘एन्टी डोपिङ एजेन्सी’को ६ महिने प्रतिबन्ध सजायलाई बढाउन गरेको आग्रहलाई समर्थन गरेपछि उनी विश्वकपमा प्रतिबन्धित हुन पुगेका हुन्।
अब उनी थप १४ महिनाको लागि प्रतिबन्धित हुनेछन्। अदालतले यसमा गुइरेरोको दोषको स्तर अत्याधिक देखिएको ठहर गरेको छ।
एन्टि डोपिङ नियम अनुसार खेलका दौरान कोकिन प्रयोग खेलाडीका लागि प्रतिबन्धित छ। उनका वकिलहरूले भेटिएको कोकिन शक्तिबर्दक नभइ असावधानिवस दुषित चिया खाँदा शरिरमा प्रवेश भएको जिकिर गरेका थिए।