नुवाकोट, बैशाख २५। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित प्रहरीले पक्राउ पारेको छ ।
बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीन जनाविरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गराएको छ ।
नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो ।
बुद्धको मूर्ति ओसारपसारमा संलग्नलाई पुरातात्विक ऐनअनुसार कारबाही हुने भए पनि पुरातत्व विभागमार्फत पहिचान गराउन बाँकी रहेकाले तत्काल चोरी अभियोग लगाइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त मूर्ति उनीहरुले चोरी गरी बिक्रीको लागि लैजाँदै गरेको प्रहरीको दाबी छ ।
यहाँको प्रहरीले अनुसन्धान गर्ने क्रममा मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई बुझाएको थियो ।