काठमाडौं,वैशाख २१। पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन बढ्ने मानिसहरुको बुझाइ छ । तर गत वर्षको तुलनाम विद्युत उत्पादन घटेको देखिन्छ ।
यसअघिका वर्षहरुमा वैशाखमा गर्मी बढ्थ्यो र, हिउँ पग्लने गर्दथ्यो । यसो गर्दा खोला तथा नदीहरुमा पानीको बहाव बढ्ने गर्दथ्यो । तर, यो वर्ष हिउँ पग्लिएको छैन । जसका कारण विद्युत उत्पादन गत वर्षको तुलनामा घटेको छ ।
विद्युत प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार गत वर्षको तुलनामा विद्युत उत्पादन २४ प्रतिशतसम्मले घटेको छ । गत वर्ष यही समयमा हिउँ पग्लिएर विद्युत उत्पादन बढ्न सुरु भएको थियो । यसपालि भने पानी परेकै दिनमा केही बढेको देखिए पनि पानी पर्दाको भोलिपल्टदेखि हृवात्तै विद्युत उत्पादन घटेको देखिन्छ ।
केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा यो समयमा तापक्रम बढ्नुपर्ने र हिउँ पग्लिएर जलस्तर बढ्नु पर्ने हो, तर हिमालमा तापक्रम घटेकाले हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ पग्लिन पनि पाएको छैन ।
भारप्रेषण केन्द्रका उपप्रवन्धक दीपक धितालका अनुसार गत वर्ष वैशाख २० गते ६ हजार ५८।४४ मेगावाट आवर विद्युत उत्पादन भएको थियो । तर, अहिले ४ हजार ५ सय ८८।५५ मेगावाट आवर विद्युत उत्पादन भइरहेको छ । यसरी हेर्दा विद्युत् उत्पादन गत वर्षको तुलनामा २४ प्रतिशतले घटेको छ ।
धितालले भने, ‘पानी पर्न बादल लाग्दा हिमनदी पग्लन पाउँदैन जसले खोलामा पानीको बहाव घट्ने हुन्छ ।’
आयात बढ्यो
अहिले प्राधिकरणको लगानीमा बनेका आयोजनाहरुबाट ३ सय ३ मेगावाट विद्युत उत्पादन भइरहेको छ । निजी लगानीमा बनेका आयोजनाहरुबाट १ सय ६० मेगावाट उत्पादन भइरहेको छ । भारतबाट भने ४ सय ७८ मेगावाट विद्युत आयात गरिएको छ । र यति बेला विद्युत माग भने १ हजार १ सय ८१ मेगावाट छ । अहिले प्रणालीमा २ सय ४० मेगावाट विद्युत् अभाव छ ।
कुलेखानी ड्याममा पानीको मात्रा गत वर्षको तुलनामा बढी भएको हुँदा विद्युत व्यवस्थापन गर्नका लागि कठिनाई नहुने धिताल बताउँछन् । कुलेखानीमा बिहीबार पानीको लेभल १ हजार ५ सय ८.८५ मिटर छ । जुन गत वर्षको वैशाख २० मा १ हजार ५ सय ३.०५ मिटर थियो । यो वर्षको वैशाखमा कुलेखानी ड्यामको पानी १ हजार ५ सय २.०५ मिटरसम्म पुगेको छ ।
खोलामा पानीको बहाव नबढेपछि भारतबाट आयात हुने विद्युतको मात्रा पनि बढेको छ । गत वर्ष वैशाख १९ गते ३ सय ५० मेगावाट बराबरको विद्युत आयात भएको थियो । तर, अहिले भारतबाट पिक समयमा ४ सय ७८ मेगावाट बराबरको विद्युत आयात भएको देखिन्छ ।