पोखरा,वैशाख२०। कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा कास्कीमा पहिलोपटक राउण्ड रोविनको आधारमा क्लबस्तरीय प्रतियोगिता हुन लागेको छ ।
प्रतियोगितामा ५ क्लबले सहभागिता जनाउने कार्यक्रम संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार कास्की क्रिकेट संघमा आबद्ध पोखरा क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरन्यज्योति क्रिकेट क्लब र कंक्रा क्रिकेट क्लबले प्रतिष्पर्धा गर्नेछन् । संघमा आबद्ध ५ क्रिकेट क्लबमध्ये कुनै एकले सहभागिता नजनाएमा भने संघमा आबद्ध नभएको पोखरा क्रिकेट एकेडेमीलाई समावेश गराइने आयोजकले जनाएको छ ।
कास्कीमा क्रिकेटको विकास र बिस्तार गर्ने उद्देश्य राखिएको प्रतियोगिता वैशाख २२ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एक दिवसीय फरम्याटअनुसार ४० ओभरको खेल खेलाइने कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । प्रतियोगितामा सबै टिमले ४ ४ खेल खेल्ने उनले बताए । लिगमा टप टु मा पुग्ने टिमले फाइनल खेल खेल्ने उनले जानकारी दिए ।
यसैबीच, यस प्रतियोगिताबाट कास्की क्रिकेट टिमका लागि खेलाडी छनौट गरिने भएको छ । प्रतियोगितामा समग्र खेल हेरेर कास्कीको टोली निर्माणका लागि खेलाडी छनौट गरिने अध्यक्ष सिग्देलले बताए ।
प्रतियोगिताको उपाधि बिजेतालाई रनिङ शिल्ड र उपबिजेतालाई ट्रफी प्रदान गरिने आयोजक कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब साढे ४ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष सिग्देलले बताए ।