डा. विद्यानाथ कोइराला,
विद्यार्थीलाई नपिटेर कसरी पढाउन सकिन्छ भनेर अधिकांश शिक्षकसँग ज्ञान छैन । सामुदायिक, निजी र धार्मिक सबै स्कुलका शिक्षकलाई के भ्रम छ भने ‘बच्चालाई पिटनुपर्छ, पिटेपछि आफूले भनेको मान्छ ।’
विद्यार्थीलाई सजाय पनि थरीथरीले दिने गरिन्छ । शिक्षकले पिट्ने, साथीमार्फत् पिटन लगाउने, विद्यार्थीलाई आफैं सजाय गर भनेर कान समात्न लगाउने गरिएको पाइएको छ । विद्यार्थीलाई शारीरिक मात्र होइन मानसिक सजाय पनि दिइने गरिएको छ । ‘यसरी पनि पढ्ने हो ? यति पनि पढ्न आउँदैन ? तँ भन्दा बढी त फलानो अनुशासित छ ?’ यसरी विद्यार्थीलाई मानसिक सजाय दिँदा आत्मग्लानी हुन्छ ।
विद्यार्थीले विद्यालयमा मात्र होइन । घर आइसकेपछि पनि सजाय पाउँछ । अरूको छोराछोरीसँग तुलना गरेर होच्याउने मात्र होइन । जानेन भनेर पिट्ने पनि गर्छन् अभिभावकले । दुवैको (शिक्षक र अभिभावक) को उद्देश्य जसरी पनि पढाउने हुन्छ । पढाउने प्रक्रियालाई सजायसँग जोडियो । यसलाई संस्कृति र प्रवृत्तिसँग जोड्नुपर्छ । पाँच वर्षसम्म पाल्नुपर्छ, १५ वर्षसम्म पिटपाट पारेर तह लगाउनुपर्छ । १६ वर्षको भएपछि मात्र बल्ल साथीको जस्तो व्यवहार गर्नुपर्छ भन्ने प्रवृत्ति रहेको देखिन्छ । विद्यार्थीले पढ्ने र गृहकार्य गरेन भने भने दण्डसजाय दिनुपर्छ भन्ने संस्कार बस्यो । विद्यार्थीले पनि त्यही बुझ्यो ।
बुवाआमासँग डराउने बालबालिकाको शब्दभण्डार कम हुन्छ भने नडराउनेको शब्दभण्डार बढी हुन्छ । किनकि खेलिरहने बालबालिका आमाबुवासँग सोधिरहेका हुन्छन् ‘यो के हो ? कसरी भयो ? किन भयो ? कहाँबाट आयो ?’ हामीले नझर्केर जानकारी दिने हो भने बालबालिकाका लागि त्यो सिकाइ हुन्छ । तर, किन चाहियो ? भनेर भन्ने हो भने तपाईँले गलत गर्नुभयो । बालबालिकाको सिक्ने अधिकारमा हस्तक्षेप गर्नुभयो ।
बालबालिकासँगको व्यवहार, उनीहरूजाई कसरी बुझ्ने, बालबालिकाले कसरी चाँडो बुझ्छन्, के कुरामा बढी चाँसो हुन्छ त्यसलाई ख्याल गरेनौं । आफू मात्र जान्ने भयौं । शिक्षकको त्यही प्रवृत्ति हाबी भयो । कोही विद्यार्थीले विद्यालय जान मन लाग्दैन भन्यो भने त्यो उसको समस्या होइन शिक्षक र अभिभावको समस्या हो । विद्यालयमा शिक्षकले दण्ड दिन्छ अनि घरमा अभिभावकले । त्यही भएर विद्यार्थीमा नैरश्यता पैदा हुन्छ । बच्चालाई खेल्न मनपर्छ । तर, शिक्षकलाई खेलबाट पढाउने विधि थाहा छैन ।
दण्डको असर एक प्रकारका बालबालिका हुन्छन् शिक्षक, अभिभावकले पिट्यो भने डर मानेर भए पनि पढ्छन् । तर, अर्काे थरी बालबालिका आफ्नो स्वाभिमानमा उभिएका हुन्छन् । दण्ड–सजायले उनीहरूको पढाइमा लगाव रहँदैन कि वितृष्णा जाग्छ र स्कूल नै छोडि दिन्छन् । ती बालबालिका ‘पढ्नकै लागि पढिदिन्छन् ।
शिक्षक नहुनुपर्ने मान्छे पनि शिक्षक बने । बालबालिकालाई पिट्न भनेर विद्यालय पठाइएको होइन, सिकाउन पठाइएको हो । तर, हामी जान्ने भएर पिट्न थाल्यौं– त्यसले उनीहरूलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी प¥यो ।
अब बालबालिकालाई पढाउने प्रक्रियाहरू परिवर्तन गर्नुपर्छ । पहिले बालबालिकालाई डराएर, तर्साएर पढाइने गरिन्थ्यो । अब त्यो प्रक्रिया काम लाग्दैन । कोही बालबालिकाले पढ्न मन गरेन भने शिक्षक र अभिभावकलाई एक ठाउँमा राखेर कारण खोज्नु पर्यो । कोही बालबालिका घरमा खेल्न मात्र मन पराउँछन् भने अब ती बालबालिकालाई खेल माध्यमबाट पढाउनु पर्ने भयो । कोही बालबालिका गीत संगीत मात्र सुन्छ भने त्यही विधि प्रयोग गनुपर्ने हुन्छ । शिक्षक परिवर्तनशील हुनुपर्यो । जस्तैः कोही बालबालिकाले दण्डी बियो खेल्न चाहाना राख्यो भने खेल्न दिनुस् । दण्डी बियो खेल्दा बालबालिकाले थाहा पाउँछन्, कतापटी हिर्काउनु पर्छ भनेर थाहा पाएमा कोण पढ्छन् बियो र दण्डीको अनुपात पढ्छन् ।
बालबालिकाले सबै क्रियाकलाप गर्छन् । तर, ती क्रियाकलाप ‘पढेको हो’ भनेर बालबालिकाले थाहा पाउनु पर्यो । खेलिरहेका बालबालिकालाई बाध्य पारेर किताब पढ्न लगायो भने पढ्दैनन् । पढेमा पनि ‘पढ्नकै लागि’ पढिदिन्छन् । बालबालिकालाई पढाउने भनेकै खेलको माध्यमबाट हो । ‘खेल, खेल, खेल, अनि सिक’ । बच्चाले कहिले काहीँ बदमासी गर्न सक्छन् । तर, बदमासी गर्याे भन्दैमा पिट्ने होइन सम्झाई बुझाई गर्नुपर्छ । ‘यो गलत हो, गलत गरेमा के हुन्छ थाहा छ ? यसरी नै सोध्नुस् बालबालिकाले आफैं बुझ्छन् ‘बदमासी’ गर्नु हुँदैन भनेर । पिट्नु भयो, भने झन् बदमासी गर्न सक्छन् । त्यसो गरेमा ‘पुल पुलायो’ भन्ने गरिन्छ । हामीले गलत बुझेका हौं । बालबालिका आफैं उत्सुक भयो भने बढी जान्दछन् तर, तपाईँले भनेका कुरा मात्र पढ्यो भने, खासै बुझ्दैनन् ।
ठूलाले भनेको सानोले मान्नुपर्छ तर, सानाले बढी जान्ने बन्नु हुँदैन भनेर गलत बुझेका छौं । बालबालिकाले भनेको शिक्षक र अभिभावक दुबैले मान्नु पर्छ । यसले पठनकलामा सहयोग गर्छ । हिजो शिक्षक जान्ने भएकाले उसले भनेका कुरा सुनेर सिक्नुपथ्र्याे । तर, अब शिक्षक भन्दा विद्यार्थी बढी जान्ने भइसके, प्रविधिले गर्दा । अबको बालबालिकाले आफूले जानेका कुरा शिक्षक र अभिभाकलाई सुनाउन पाउनु पर्छ । यदि सुनिदिएनौं भने बालबालिकाको सिकाइमा असर पर्छ । हिजोको जसरी पढायौं भने शिक्षक पनि काम लाग्दैनन् । शिक्षकले पनि रुपान्तरण हुन जरूरी छ ।
पढाउने विधिमै समस्या
शिक्षकले पढाउने शैली र विधिमै समस्या छ । जसले विद्यार्थी बुझ्दैनन् । अनि दण्ड–सजायको भागिदार हुन्छन् । शिक्षकसँग जुन किताब हुन्छ, त्यही किताब बालबालिकासँग पनि हुन्छ । शिक्षकले पढाउने र विद्यार्थीले पढने किताब एउटै हुन्छ । त्यही कुरा दोहो¥याएर शिक्षकले भन्दा विद्यार्थीलाई झर्काे लाग्छ, उत्सुकता जाग्दैन । शिक्षकले त नयाँ कुरा दिने हो, दिन सक्नुपर्छ । बालबालिकाले जानेका कुरामा शिक्षकले जोड्ने हो र मात्र सिकाइप्रति उत्सुकता जाग्छ । बालबालिकाले जानेका कुरालाई शिक्षकले जोडिदिने हो । बालबालिका उत्सुक भयो भने आफै पढन थाल्छन् अनि दण्ड–सजाय किन चाहियो ? यसो भनिरहँदा अहिले बालबालिकालाई विद्यालयमा दिइने सजायमा केही कमी आइसकेको छ ।
पहिले धेरै सन्तान हुन्थे, रेखदेख, लालन पोषणमा त्यति मतलब गर्दैनथे । तर, अब एक–दुई सन्तान जन्माउने प्रचलन छ । पढाउने शिक्षक पनि त्यही हुन् जसले एक–दुई सन्तान मात्र जन्माएका हुन्छन् । रहरको बच्चा हो । घरमा आफ्ना सन्तानलाई माया ममता दिने शिक्षकले विद्यालयमा गएर अरूका छोरा छोरीलाई पिट्ने हिम्मत गर्दैनन् । डर मान्छन्, माया ममता जाग्छ । यति भन्दा भन्दै पनि अहिले विशेषगरी शहरका बालबालिकाले फरक किसिमको सजाय पाइरहेका छन् । त्यो हो दुई देखि अढाइ वर्ष मै मन्टेश्वरीमा पठाउने । मन्टेश्वरी पढ्ने होइन, खेल्ने र रमाउने ठाउँ हो तर, हामी जबर जस्ती अक्षर चिन्न सिकाउँछौं । पहिलेका बालबालिका बाख्रा, गाइभैँसी हेर्न गए पनि सिक्थे । हिँड्थे, डुल्थे, खेल्थे ।
तर, अहिले त विशेष गरी शहरका बालबालिका हिँड्नै पाउँदैनन् । स्कुल जाँदा पनि बसमा कोच्चिएर जानुपर्छ । स्कुलमा खेल्ने ठाउँ हुँदैन, कक्षामा थुनिनुपर्छ । घर आयो बाहिर निस्कन पाउँदैनन् । शहरीया क्षेत्रमा झनै गाह्रो छ । यो पनि एक प्रकारको सजाय हो ।
अब गर्नुपर्ने
अब माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकारको काँधमा आएको छ । शिक्षकहरूलाई गाउँ, नगरपालिकाको सञ्जालमा जोड्नुपर्छ, संघ संगठन जस्तो होइन । बालबालिकालाई कसरी दण्ड नदिएरै पढाउन सकिन्छ छलफल गर्नुपर्छ । ‘मैले नपिटेरै पढाएँ’ भनेर कोही शिक्षकले भन्यो भने अरूले पनि अनुशरण गर्नुपर्यो । पिटेर पढाएका बालबालिका हेर्नुुस् शिक्षक नभएका बेला बेन्च भत्काएर बर्बाद पारि दिन्छन् ।
त्यसो हो भने तपाईँ भएका बेला मात्र अनुशासनमा बस्ने र नभएका बेला चकचक गर्न थाले भने हामीले पिटेको काम लाग्दैन भन्ने प्रमाणित हुन्छ । पिटेर पढाएका र नपिटेर पढाएका बालबाबालिकाको शारीरिक र मानसिक विकास सँगै सिकाई उपलब्धी, शब्दभण्डारको तुलना गर्न थालौं । त्यहीँबाट विचार आउँछ । जुन शिक्षक पहिले विद्यार्थी छँदा पिटाई खाएर पढ्यो अनि अहिले पिटेरै पढाउँछ उसको व्यवहारमा परिवर्तन आउँछ ।
बालबालिकालाई शिक्षक र अभिभावकले दिने सजायलाई बालअधिकारको दृष्टिबाट हेर्नुपर्छ । स्थानीय सरकारले मापदण्ड बनाएर ‘सम्मानित शिक्षक’ को वर्गीकरण गर्नुपर्छ । त्यसमा पहिलो प्राथमिकता ‘नपिट्ने शिक्षक’ लाई राख्नुपर्छ । अबको शिक्षक चरा होइन कुखुरा जस्तो हुनुपर्छ । चारो लगेर बचेराको मुखैमा राखिदिने होइन कुखुरा झंै खोर्स्रर राखिदिने हो ‘बालबालिकाले आफैं पढ्छन् । अनि सिक्छन् पनि ।’ साभारः जनतापोष्ट