बोम्साङमा आदर्शवादी प्रेमी खोज्दै गोम्चन

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १२, २०७४

तामाङहरूमा प्रचलित मौलिक गीतहरू मध्ये बोम्साङ पनि एक हो ।
बोम्साङ गीतलाई दुःख र वेदनाको गीत भन्ने गरिन्छ । संस्कारमा पनि गाइने बोम्साङ गीतहरू कै माध्यमबाट एक आदर्शवान जोडीको कथालाई गणेश गोम्चनले चखेवा जोडी क्रानेम्वा मार्फत पाठक माझ प्रस्तुत गरेका छन् । चखेवा जोडी छुट्नु पर्ने डरले गरिएको तपस्यालाई अगाडि बढाएको पाइन्छ ।

लामो तानमा गाइने बोम्साङमा हो….ले…. बाट शुरू वा…..मा अन्त्य गरिन्छ ।
जस्तैः ल्हतिङ ल्हुङकी छमरीस मुक्पाकी थेकोर छ्यानेम्वा, मुक्पाकी थेकोर छ्यापारङ्ल्यास सिपासोपे छमरी म्हिल्ही थेकोर छ्यानेम्वा…….. । (नेपाली अनुवाद) लेक र बेंसीको दोसाँधमा कुहिरोको रेखा बसेको रैछ, कुहिरोको रेखा बसेझै मर्नु बाँच्नुको दोसाँधमा जीवनको रेखा पनि बसेको रैछ । पेज ६)

बोमसाङ आफैमा दार्शानिक शब्दहरू ओकल्ने माध्यम हो । अर्को एक उदाहरण गोम्चनकै पुस्तकबाटः बुपे ल्हप्ति तेइमु सर्पी म्हेन्दो सम्मुवा, छापे स्ह्यामी बेइमु केपे म्हिल्ही सिमुवा (पलाएका पातहरू झरे फक्रेको थुङ्गा ओइलिदारैछन् आर्जेको सम्पत्ति नाश भए गर्भबाट आएको जीवन पनि सकिदोरैछ पेज नं ७) ।

बोमसाङ मार्फत मर्नुपर्ने संघर्षशील जीवनलाई बुझाउने प्रयास भएको पाइन्छ । बास्तवमा संसारमा घट्ने हरेक घटना स्वभाविक हुन् दुःखी नहुनु भनेर गाइन्छ । तर दुःख भोग्नेको मन अझ बिझाइदिन्छ र बुझ्नेले बोम्साङ रूवाउने गीतको रूपमा पनि बुझिदिन्छ ।

केही समय अघि चितवनको पदमपूर तामाङ बस्तीमा पुगेको थिए । हामीले तयार पारेको डकुमेन्ट्री देखाउदै जाँदा ६५ वर्षकी हजुरआमा डाककको छाडेर रूनु भो । हामी अचम्मित भयौ । पछि बुझ्दा उनको माइलो छोरो बितेको लगभग एक महिनामात्र भएको रहेछ । ती हजूरआमालाई रूवाउने बोमसाङ पनि चखेवा जोडी क्रानेम्वाको पेज नं ११ मा संकलन गरिएको पाइयो । केवाम सेम्चे मछोर्नेम सिपम सेम्चे छोर्नेम्वा, केवा सेम्चे छोर्सम सिपे म्हिल्ही अकेपस्यावा ! (गर्भाधान मनले थाहा भएनछ मरण मनले थाहा पाएछन्, मरणशील चोला थाहा पाको भए गर्भाधान मै आउने थिएनकि !)

यस प्रकारको बोम्साङ मृत्युसंस्कारमा गरिने म्हर्मेनमा मावलीको तर्फबाट गाउने चलन यद्यपि छदैछ र कैयौ हामीजस्ताहरू हिकहिकाएका छौ । पुस्तिकामा ५९ वटा बोम्साङ परेको छ । ती सबै एक पवित्र जोडीकै सेरोफेरोमा घुमाउने प्रयास गरेको पाइन्छ । ८४ लाख जुनीमात्र सँगै जीउन पाउने इश्वरीय नियमसँग आक्रोशित ती जोडी सधैँ सधँै सँगै रहने प्रणकासाथ अन्तिम एक वर्ष यानेकी ८३ लाख ९९ हजार ९ सय ९९ औ वर्ष बिताउछन् ।

त्यही एक वर्ष पनि पवित्र माया गरेरै बिताउने र प्राकृतिक वा इश्वरीय नियमलाई समेत चुनौति दिने किसिमले ध्यान र तप गरे । यी जोडीले घुमेका प्राकृतिक मनोरम स्थल, ऐतिहासिक स्थल र त्यहाँको जनजीवन समेत बोमसाङमा प्रस्तुत भएको छ ।

फ्यापे दिङी गल्नेम ज्याका थम्चेत र्यानेम्वा
सर्पी म्हेन्दो सम्नेम ङइला रेम खनेम्वा
(उदाएको सूर्य अस्ताएछ, परिन्दाहरू गुँडमा फर्किएछन्, फुलेको फूल ओइलिएछन् मेरो पनि पालो सिद्धिएछन् पेज १५) ।

भनि यी जोडीको कारूणिक आलापले श्रृष्टिकर्तालाई सोच्न बाध्य बनाइदिन्छ । दुबै जोडीले अब पुनः सँगै बाँच्ने मौका माग्छन् । प्रकृतिको नियम नै खल्बलिने गरी आएको प्रस्तावमा पनि ती जोडीको माया, ममता र स्नेह मात्र नभइ त्याग, ध्यान र तपस्या समेतलाई मूल्याङ्कन गरी चखेवालाई सूर्यमुखी र चखेवीलाई रतरानी फूल भइ जिउन अनुमति दिएछन् । चखेवा जोडी अन्तत्वगत्वा सूर्यमुखी र रतरानी भइ जुनीजुनी सककगै बाँच्न पाएकोमा खुशी भएको देखिन्छ ।

बोम्साङलाई विश्लेषण गरिए झै लागे पनि पत्तै नपाई कथानक अगाडि बढिरहेको पाइन्छ । विभिन्न जुनी पाउँदै चखेवा जोडी हुँदा बखतको चर्चा बढी नै पाइन्छ । समर्पणले आजीवन सुखत सम्बन्ध मिल्दछ भन्ने आदर्श बोकेको पाइन्छ । अझ शारीरिक सम्मिलन प्रधान हैनन् भावनात्मक मिलन अझ बढी महत्वपूर्ण छन् भन्ने कुरा अन्तमा सूर्यमुखी र रतरानी हुन स्विकार गरेको सन्दर्भले प्रष्ट पार्दछन् ।

अलग जातका पुङ्केशर र स्त्रीकेशर आ–आफैसँग ग्रहन गराइ दिएका छन् । समग्रमा गोम्चनले चखेवा जोडी क्रानेम्वा पुस्तिका मार्फत एक लोक किम्बदन्तीको आदर्शवान उदाहरणीय प्रेम जोडीको कथालाई बोमसाङ प्रयोग गरी औपन्यासिक ढाँचामा लाने प्रयास गरिएको पाइन्छ ।
पुस्तक चर्चाः गोपाल फ्युबा तामाङ