शनिबारः शरदले रोक्लान् त पारसको ‘ह्याट्रिक’ ?

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १४, २०७४

धादिङ पौष १४ । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को फाइनल खेल शनिबार काठमाडौ स्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदै छ ।

शनिबार बिहान ११ बजेदेखि हुने (ईपीएल) शरदको टिम र पारसको टिम बचि प्रतिस्पर्धा हुने हुँदा शनिबारः शरदले रोक्लान् त पारसको ‘ह्याट्रिक’ ? चासोको विषय बनेको छ ।

विराटनगर नेतृत्व पारसले गरेका छन् भने भैरहवाको नेतृत्व शरद भेस्वाकरले गरेका छन् । लिग चरणमा विराटनगरसँग ३५ रनले पराजित भैरहवा पहिलो क्वालिफायर्समा ८ विकेटले हारेको थियो ।

शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा विराटनगरका कप्तान पारस खड्काले यसअघिको नतिजालाई हेरेर फाइनलको रिजल्ट आंकलन गर्न नसकिने बताएका छन् ।

‘रिजल्टको कुरा गर्ने हो भने त्यो भन्न सकिन्छ कि हामीले यसअघि दुई खेल जितेका थियौं’, पारसले थपे, ‘भोलिको दिन पूरै नयाँ हुनेछ । यसअघिको नतिजालाई हेरेर आत्मविश्वासी बन्न सकिएला तर, भोलि पनि त्यही रिजल्ट दोहोर्‍याउन सकिन्छ भन्ने लाग्दैन ।’

विराटनगरलाई फाइनलमा पुर्‍याउन हङकङ अन्तर्राष्ट्रिय टोलीका दुई क्रिकेटर बाबर हायत र अंशुमन रथको प्रदर्शन अहम् छ । प्रतियोगिताका सर्बाधिक रन बनाउने खेलाडीको सूचिमा पनि बाबर र अंशुमन क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् ।

कप्तान पारसले पनि टप अर्डरले राम्रो प्रदर्शन गरिरहेको भन्दै भोलिको खेलमा पनि त्यसले निरन्तरता पाउने विश्वास ब्यक्त गरे । त्यसो भन्दैमा टिम उनीहरुमा मात्र निर्भर नरहेको भन्न पनि उनले छुटाएनन् ।‘ट्वान्टी–ट्वान्टी क्रिकेटमा खेल जित्नका लागि एउटै खेलाडीको राम्रो प्रदर्शन, वा एकै ओभर वा एकै बल पनि निर्णायक हुन्छ ।’

भैरहवाका कप्तान शरद भेषावकरले पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेको विराटनगरको टप अर्डरलाई ब्रेक गर्ने योजना अनुसार खेल्ने बताए । ‘विराटनगरको सुरुवाती ब्याट्सम्यानले राम्रो क्रिकेट खेलिरहेका छन् । उनीहरुलाई ब्रेक गर्नु नै हाम्रो उद्देश्य हुनेछ’ शरदले भने, ‘यसअ िव्यहोरेको हारबाट पाठ सिकेर कमजोरी सुधार्दै राम्रो क्रिकेट खेल्ने योजना छ ।’

कप्तान शरदले आफूहरुको ओपनिङमा समस्या रहेको स्वीकार गरे । तर, यस फर्म्याटको क्रिकेटमा सबै खेलाडीले राम्रो खेल्छन् भन्ने अपेक्षा भन्दा एक दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने उनको धारणा छ ।

‘ओपनिङ राम्रो नमए पनि हाम्रो मिडिल अर्डर र लोअर मिडिल अर्डरले राम्रो खेलिरहेको छ । आवश्यक पर्दा हाम्रा सबै खेलाडीले आफ्नो १०० प्रतिशत दिन सक्छन् । एक वा दुई खेलाडीमात्र होइन ।’

विराटनगरका कप्तान पारसले सबै छ वटै टिम फाइनलमा पुग्ने लक्ष्यसहित प्रतियोगितामा आएको र राम्रो क्रिकेट खेलेर नै आफूहरु फाइनलमा पुग्न सक्षम भएको बताए ।

उनले फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे । ‘प्रचारप्रसार तथा मिडिया कभरेजको हिसावमा प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको भएको छ । यसले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिनसक्छ’ पारसले भनेका छन् ।

भैरहवाका कप्तान शरदले पनि विदेशी खेलाडीको प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक बनेको र यसले नेपाली जुनियर खेलाडीका लागि ठूलो अवसर भएको बताए । ‘आशा छ प्रतियोगिताबाट राम्रो खेलिरहेका जुनियर खेलाडीहरुले भविश्यमा राष्ट्रिय टिममा स्थान बनाउनेछन्’ शरदले भने ।

भोलि हुने फाइनलको इनिङ ब्रेकमा नेपाल आइडलका शीर्ष तीन प्रतिस्पर्धीले लाइभ प्रस्तुति दिने पनि प्रतियागिताका आयोजकले जानकारी दिएका छन् ।

यदि विराटनगरले उपाधि जित्यो भने एउटै प्रतियोगितामा भैरहवामाथि पारसको टिमको जित तथा शदर भेषावकरको टिमको हारको ह्याट्रिक हुनेछ । शरदले हारको ह्याट्रिक रोक्न सकेमा भने बिराटनगरको विजयी यात्रामा ब्रेक मात्र लगाउने छैनन्, उपाधि पनि उचाल्ने अनलाईन खबरले समाचार लेखेको छ ।