ध्रुव लम्साल
वीरगन्ज महानगरपालिका १४ भवानीपुरमा रहेको सुपर ग्याँस उद्योगमा आगलागी हुँदा दुई जनाको घटनास्थल र एकको उपचारको क्रममा मृत्यु भयो । गम्भीर घाइते तीन जनाको उपचार जारी छ । ग्याँस उद्योगमा अहिलेसम्मकै ठूलो आगालागी भएकाले सुपर ग्याँस घटनाको चर्चा धेरै भयो तर नेपालमा ग्याँस विष्फोटकै कारण मानवीय क्षति भएको पहिलो घटना होइन । यो एक वर्षमा मुलुकका विभिन्न स्थानमा दर्जन बढी ग्याँस सिलिन्डर विष्फोटको घटना सार्वजनिक भएको छ ।
भान्सामा प्रयोग भएको ग्याँस विष्फोट भएर मृत्यु हुने क्रम क्रमशः बढ्दो छ । अहिले ग्याँस विष्फोटको घटना यसरी बढेका छन् कि विष्फोटका घटनाको प्रवृत्ति हेर्दा लाग्छ, हामी सर्वाधिक असुरक्षित छौं । कुनै पनि बेला हाम्रो घरमा भएको एक सिलिन्डर ग्याँसले सिंगै परिवार सखाप हुन सक्छ । घर खरानी पार्न सक्छ । सहरको सिंगै टोल सखाप हुनसक्छ । हामीले भान्सामा प्रयोग गर्ने ग्याँस सिलिन्डर कुन बेला विष्फोट हुने हो, हामी अनुमानसमेत गर्न सक्दैनौं । यसको अर्थ हामी पूरै असुरक्षित अवस्थामा बाँचिरहेका छौं ।
गुणस्तर तथा नापतौल विभागले एक वर्ष अघि गरेको अध्ययनअनुसार अहिले नेपालमा प्रयोग भएकामध्ये १२ प्रतिशतभन्दा बढी ग्याँस सिलिन्डर गुणस्तरहीन छन् । १२ प्रतिशत भनेको अहिले नेपालमा भएकामध्ये ९० हजार सिलिन्डर हुन् । भान्सा यति असुरक्षित भएपनि यसलाई व्यवस्थित बनाउने विषयमा सरकारले आजसम्म गम्भीर पहल गरेको छैन । सरकारको त्यही कमजोरीको फाइदै उठाउँदै नेपाली ग्याँस व्यवसायी नेपालीका भान्सामा सिलिण्डरमार्फत ‘काल’ पठाउन अभ्यस्त छन् ।
किन पटक–पटक ग्याँस विष्फोट हुन्छन् र सर्वसाधारण मारिन्छन् ? उत्तर सजिलो छ, ग्याँस व्यवसायी आफ्नो पेसाप्रति कहिल्यै इमानदार भएनन् । सरकारले ग्याँस व्यवसायीलाई नियमन गर्नेतिर चासो दिएन । ग्याँस व्यवसायीसँग नजिकको साइनो राख्ने नेपाल आयल निगम राजनीतिक आडमा भ्रष्टहरूको जागिर खाने अखडा मात्रै बनेको छ । ग्याँस बिक्रेता महासंघकै तथ्यांकअनुसार पनि नेपालमा ४० वटा रि–फिलिङ कम्पनीले खाना पकाउने ग्याँसको सिलिन्डर भर्छन् । ग्याँस रिफिलिङ कम्पनीको कारखाना कस्तो हुनुपर्छ र तिनले कस्ता सिलिन्डर प्रयोग गर्छन् भनेर अनुगमन गर्ने दायित्व आयल निगमको हो । ग्याँस सिलिन्डरको आयु कति वर्ष भनेर किटान गरिएको हुँदैन ।
हाइड्रोस्टाटिक परीक्षणबाट मात्र प्रयोग गर्न मिल्ने र नमिल्ने भनेर छुट्याउन सकिन्छ तर नेपालमा यो परीक्षण गर्ने क्षमता गुणस्तर तथा नापतौल विभागसँग समेत छैन । भल्भ फेर्न र सिलिन्डर मर्मत गर्न समेत कम्पनीले छुट्टै लाइसेन्स लिनुपर्छ तर नेपालमा यी काम ग्याँस रिफिलिङ गर्ने कम्पनीले गर्दै आएका छन् । निगमको गैरजिम्मेवारी, विभागको कमजोर संयन्त्र र उपभोक्तावादी संघसंस्थाको लिच्चड प्रवृत्तिका कारण नेपालीको भान्सा सर्वाधिक जोखिमयुक्त हुन पुगेको छ ।
अरू कुरा छाडौं, वीरगञ्ज ग्याँस विष्फोटलगत्तै ग्याँस बिक्रेता महासंघका पूर्व अध्यक्ष शिव घिमिरे (जो ग्याँस फुटरिङ अभियन्ता हुन्) सानो टोली लिएर वीरगञ्ज पुगे, स्थानीय दलका नेतासहित छलफल गरेर निष्कर्ष निकाले, लापर्बाहीको कारण दुर्घटना । आपूर्ति मन्त्रालयले पनि छानविन टोली गठन गरिसकेको छ । सायद उक्त टोलीले पनि केही दिनमा प्रतिवेदन सरकारलाई बुझाउनेछ । सरकार प्रतिवेदन बुझ्छ तर प्रतिवेदनमा उल्लेख भएका कुरा कहिल्यै सार्वजनिक र कार्यान्वयन गर्दैन ।
हवाई दुर्घटना, बस दुर्घटना, आगलागी, बाढी, भूकम्प हरेक ठुला दुर्घटना भए लगत्तै सरकारले सचिवस्तरीय समिति बनाउँदै प्रतिवेदनका लागि मिति तोक्छ । तोकिएको मितिमा समितिका सदस्यले प्रतिवेदन बुझाउँछन् तर प्रतिवेदनमा के लेखिएको छ वा कसलाई के कारर्बाही गर्नुपर्ने हो कहिल्यै सार्वजनिक गर्दैन । प्रतिवेदनहरू गोप्यरूपमा राख्नुको खास कारण यस्ता घटनामा धेरैजसो सरकारकै खास मान्छेको संलग्नता हुन्छ ।
यही सन्दर्भमा फेरि जोडिन्छन् उही शिव घिमिरे । ग्याँस विष्फोटबाट भएका दुर्घटनामा घिमिरेको नाम जोडिएन भने उनी माथि अन्याय हुन जान्छ । किनकि नेपालमा ग्याँस विष्फोट हुनुमा उनको अहं भूमिका रहेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । नेपाल पेट्रोलियम टे«ड लिंक्स प्रालिका सञ्चालकसमेत रहेका घिमिरेले सुनसरीको खनार स्थित नेपाल पेट्रोलियममा १५ हजारभन्दा बढी सिलिन्डर पिँध काटेर फुटरिङ गरेको भेटियो । सात वर्षअघि ग्याँस बिक्रेता संघकै उजुरीमा प्रशासनले छापा मारेर उनको कम्पनीमा विभिन्न कम्पनीका १५ हजार अवैध सिलिन्डर जफत गरेको थियो । प्रशासनले छापा मार्दा फुटरिङ काटेको अवस्थामा विभिन्न कम्पनीका सिलिन्डरका साथै जडान गर्न तयार गरिएका मेसिनसमेत फेला परेका थिए । उनलाई जरिवानासहित पक्राउ गर्ने आदेश प्रसासनले दियो ।
घिमिरे यस्ता प्रभावशाली व्यक्ति हुन्, सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मासँग (जो अहिले कर निर्धारणमा अनियमितता गरेकोआरोपमा अख्तियारको निगरानीमा छन् ) खास दोस्ती थियो । शर्माकै सहयोगमा फुटरिङ गरिएको सिलिन्डरै रातारात गायब पारिए र ३८ लाख ४३ हजार धरौटी बुझाएर फेरि केही दिन गुप्तबास बसे । पछि निर्वाचनमार्फत ग्याँस व्यवसायी संघको अध्यक्ष भएका घिमिरेलाई अहिले कतिले समाजसेवीका रूपमा समेत सम्बोधन गर्छन् ।
कुनै पनि बेला हाम्रो घरमा भएको एक सिलिन्डर ग्या“सले सिंगै परिवार सखाप पार्न सक्छ । घर खरानी पार्न सक्छ । सहरको सिंगै टोल सखाप हुन सक्छ । हामीले भान्सामा प्रयोग गर्ने ग्याँस सिलिन्डर कुन बेला विष्फोट हुने हो, हामी अनुमानसमेत गर्न सक्दैनौं । यसको अर्थ हामी पूरै असुरक्षित अवस्थामा बाँचिरहेका छौं ।
घिमिरे ती प्रतिनिधि पात्र हुन्, जसले ग्याँसमा फुटरिङ गरेर घरघरमा ‘काल पठाउन ग्याँस व्यवसायीलाई सिकाए । जघन्य काम गरेर पनि पहुँच र प्रभावकै भरमा समाजसेवीका रूपमा प्रस्तुत हुन्छन् । विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । नेपालमा भएकामध्ये १२ प्रतिशत सिलिन्डर यति खराब छन् कि ती कुनै पनि सिलिन्डर जुनसुकै बेलामा पड्किन सक्छन् । ती सिलिन्डर हामीले हाम्रै भान्सामा सुरक्षित राखेका छौं र ती कमजोर सिलिन्डरलाई हाम्रो भान्सामा पु¥याउन घिमिरेहरूकै योगदान छ ।
अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो समस्या भनेकै घिमिरे प्रवृत्तिका ‘समाजसेवी’ हुन् । जो व्यापारको शीर्षकमा सबै खालका नाजायज काम गर्छन् । ग्याँसमा फुटरिङ, पेट्रोलमा मिसावट, खाद्यान्नमा चुहावट गर्ने गिरोह निकै सक्रिय छ । सेना, प्रहरी, प्रशासन, वा राजनीतिमा समान पहुँच छ उनीहरूको । सरकार जुनसुकै दलको आए पनि फरक पर्दैन उनीहरूलाई । उनीहरूले चाहेजस्तै नीति बनाउँछ, सरकार र सरकारी अड्डामा बसेका चुडामणि शर्मा प्रवृत्तिका ‘देशभक्त’ उनकै निर्देशनअनुसार काम गर्छन् । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ आर्थिक पहुँच हुनेहरूले कानुनको धज्जी उडाउँदै हिँड्छन् भने कर्मचारी प्रशासन तिनैलाई स्वागत गर्न बाटो कुरेर बसिरहेको छ ।
हिजो सजिलो थियो । मुलुकको विकास किन भएन ? भन्दा सत्ता वा प्रतिपक्षमा बस्नेहरूले रेडिमेड उत्तर दिन्थे ०४६ सालसम्म दरबारले विकास रोक्यो । बहुदलीय प्रजातन्त्र स्थानपनापछि केही वर्षसम्म सबै दलका नेताले भ्रष्टहरू बलियो हुनुको कारण दरबारलाई नै देखाए । ०५२ पछि अर्को कारण थपियो माओवादी जनयुद्ध । बहाना बनाउनेका लागि बहाना कति कति । अस्थिर सरकार, राजा ज्ञानेन्द्रको हस्तक्षेप, सरकारमा भ्रष्टहरूको पहुँच हरेक दलका नेताहरूले आफ्नो कमजोरी स्वीकारेनन् गच्छेअनुसारका पात्रहरूलाई विकास विरोधीको उपाधि दिँदै गए ।
तर अब बन्ने सरकारलाई त्यति सजिलो छैन । अब कुनै पनि बहाना जनताले सजिलै पत्याउने छैनन् । कांग्रेस, एमाले, माओवादीलगायतका दलका नेताले राजनीतिक क्रान्ति सकिएको भन्दै मुलुक आर्थिक क्रान्तिमा प्रवेश गरेको दाबी गरेका छन् । २०-५० वटा पुल बनाएर, हजार पन्ध्रसय मिटर बाटो खनेर वा १०÷२० थान बंगला बनाएर मुलुक आर्थिक समृद्धिमा लम्किएको मान्न सकिन्न । आर्थिक क्रान्ति त्यतिबेला सम्भव हुन्छ, जब मुलुकमा भ्रष्टाचारमा संलग्न कानुनसम्मत कारबाही हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भष्टाचारमा संलग्नलाई चिनिया शैलीमै कारबाही गर्ने भनेर त पटकपटक भनेका छन् । कुरा सुनेकै भरमा क्रान्ति हुन्छ भनेर अनुमान ग¥यो भने हतारो हुनसक्छ । हेर्न बाँकी छ, अब ओलीले सर्वसाधारणको भान्सामा काल पठाएर पनि ‘समाजसेवी’ बनेका घिमिरे प्रवृत्तिका व्यक्तिलाई कारवाही गर्छन् वा पार्टी प्रवेश गराएर अबिर मालासहित विशिष्ट समाजसेवी बनाउँछन् ?