गोपाल फ्युबा तामाङ
छोरालाई साहित्य, इतिहास र समाजिकतर्फ डोर्याउने उद्देश्यले मेरो व्यक्तिगत पुस्तकालयका किताबहरू हरेक दिन दुई घण्टा पढ्न पठाउथे । त्यस पुस्तकालयमा मेरो लेख छापिएका पत्रपत्रिकाहरू र मैले किताब लेख्न सन्दर्भको रूपमा प्रयोग गरिएका 2500 भन्दा बढी किताबहरू थिए । व्यवस्थित नभएकोले कुन कहाॅ छ पत्ता लाउन गाह्रो थियो ।
यसै क्रममा साॅझमा केही छिन घुमेर बाबुछोरा घुमेर आए पछि उनी पुस्तकालय छिरे ।
म भने तरकारी खोज्न भित्रिबारी पसे ।
दुईवटा मुला उखेलेर भान्छाकोठामा पुर्याउन लाग्या थिए, “बाबा यो कहिलेको फोटो ?”
छोरोले एउटा फोटो ल्याएर देखाए ।
पल्याकपुलुक हेरे उनी थिइनन् । छिटोछिटो पाइला सारेर पुस्तकालय भित्र छिरे । दराजबाट चस्मा निकालेर हेरेको बहाना गरे । फोटो त अघि नै चिनिसकेको थियो । म केही समयदेखि त्यै फोटो खोजिरहेको थिए । पूरानो दराज खोतले पाइन । एल्बममा पनि रहिन्छ । साठीको दशक पछि त डिजिटलाइजमा पसिसकेको थिए ।
त्यो फोटो पचासकै दशकको थियो । “ए यो फोटो – – – ” अड्किए । खकार फाल्या जस्तो गरेर भने “- – – साथी र मेरो ।” छोराले डेभिड होल्मवर्कको किताब अर्डर इन प्याराडक्सबाट भेटाएको थियो ।
उनले भने, “यो पेज 110 मा रहेको रैछ, पछाडि कुङकर, छेउमा भीर भएकाले केही अर्थ छ कि भनेर नि बाबा ।” “केही अर्थ छैन बाबु !” भने । छोरा मानवशाष्त्र तथा समाजशाष्त्र तर्फ ढल्केकोमा म खुशी भए । समाज बुझे मात्र जीवन सरल र सहज हुन्छ भन्ने मेरो विचार थियो । सहिष्णु हुन पनि समाजविज्ञानले सिकाउछ ।
मौलिकताको पक्षपोषण पनि हुन्छ भन्ने मेरो ठम्याइ थियो । फोटोमा म र पेमा थियो । पछाडि थङ्ब्राको कुङकर थियो भने पृष्ठभूमिमा नाचिरहेका बोम्बोहरू थिए । गोने ङ्य र एकादशीमा मेला लाग्ने यो तीर्थस्थल गोम्बोङजोङ माथि र सिन्दुङ मुनि थियो । पेमासॅगको यो फोटो साथी चोक्ताले खिचेको थियो । उनकै क्यामराले खिचिएको यो फोटोको दुई प्रति उनले नै धुलाएर पठाइदिएको थियो । “एउटा बुहारीलाई र एउटा तिमीलाई ” भनेर चिठीमै लेखिएको थियो ।
हामी साथी साथी भए पनि दाइ भाइको नाता पर्थ्यो । उनी कतारमा कमाइ गर्न गएका थिए भने म तामाङ लोकसाहित्य खोज तथा अध्ययनमा लागेको थिए ।
म ट्वाल्ल परेको देखेर छोराले, ” सरी बाबा, मैले केही गल्ती गरे ?” छोराको गाला सुमसुम्याउदै,”नाइ सानु नाइ” भने । तर त्यो फोटो पेमालाई दिन नपाउदै उनको विवाह भएको थियो । फोटो खिचेको दिन उनले हामीसॅग कहिल्यै धोका नदिने बाचा गरेकी थिइन् । मसॅग टासिएर बसेकी थिइन्, लाजले म रातो पिरो भएको थिए ।
सम्झेर आखाॅ रसायो, छोराले नोट गरे सायद । मैले भने, “उनी मेरी प्रेमिका थिइन् बाबु । धनी बाउकी छोरी । औकात मिलेन भनी छाडी । भूल्ने प्रयास गरेको थिए, आज पुनः सम्झियो यो थङ्ब्रामा खिचिएको फोटोले ।” खाना खानेबेला छोरा घरी मलाई घरी आमालाई हेर्दै थिए । फोटोको कुरा उप्किएला भनेर म डराइ रहे ।
हातले चुपको इशारा गरे, छोरा फिस्स हाॅसे । “अलरेडी मम्मी नोज” भनेर फोटोको पछाडि लेखिएको शब्दहरू देखाए । म केही बोलिन । अलेअमले भनिन्, “जे भयो ठिक भएन तर अब तड्पिएर पनि त काम छैन, कि कसो ?” “हो” भने ।
यत्रो वर्ष लुकाएको एक तथ्य उजागर भयो थङ्ब्रामा खिचिएको फोटोले । अन्तमा फिस्स हासे, केही हराएजस्तो केही बिराएजस्तो सरम लागिरह्यो । सन्नटामा मैले बोले, “अलिकति तरकारी थप्दिनु न मम्मी ” ।