संस्मरणः देवीथान र न्हख्रन्हेनकी जातर

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १९, २०७४

गोपाल फ्युबा तामाङ
आज ल्हप्सङकर्पोको एक गाउॅ ब्युर्चेत आसपासमा मानिने देवीथान र न्हख्रन्हेनकी जातरको संस्मरण दिमागमा घुमिरह्यो । तराइको सामा – चकेवा हेरिरहॅदा 18 वर्षभन्दा अघि पनि आजै झै लागिरह्यो । दुबै पर्व गतहप्ता पर्दथ्यो ।

एकादशी जातर बडो धुमधामसॅग मानिन्थ्यो । पर गोम्बोङतिरबाट फुलकोडोली ल्याउथ्यो । दश गाउॅको मान्छे भेला हुन्थ्यो । एकादशीमा गंगाजमुना, फ्युकुरी वा म्हन्दङ तीर्थ गएकाहरूले देवीथानको सो मेला हेर्न भ्याइन्नथ्यो । सो स्थानको तलतिर बजार हुन्थ्यो, सेलरोटी, बदाम र सुन्तालाको । गराभरी लङ्गरबुर्जा हल्लाउथ्यो । चाइनिज लाइट झिलझिल पार्दै हुन्थ्यो । म (माथि) आउने बाटोमा रक्सी बेच्नेहरू देखिन्थ्यो । तिवरमा सगुन दिन नपाएका बुसिङले आफ्नो फम्युङलाई यसैदिन सगुन दिन्थ्यो ।

बुसिङले खट्टे र फम्युङले सुन्ताला दिनुपर्ने हुन्थ्यो । पैसा हुनेले बदाम किन्थ्यो । किन्ने काममा बुसिङ अघि हुन्थ्यो किनकी जम्दुकको पैसा हुन्थ्यो । सोही दिन कतिपयले रिन लिन्थ्यो बुसिङसॅग चोकेमा । एकादशीकै बेलुका म्हेनिङको मासु मोल बुझाइ डोन खाएर रनक्क रन्किएर आइपुग्थ्यो । कोही स्पोन्सर भेटिए भेट्यो नभए आफ्नै गोजीको रूपैयाले रक्सी किन्थ्यो अनि साइखोले जुवारी खेल्थ्यो । फुलडोली सॅगका पञ्चेबाजा, झाॅक्रीको ढ्याङढ्याङ, म्हानेदोरा, म्हेन्दोमाया, सरस्वती नाच एकैपटकमा आॅखाले देख्ने गरी रूखको कापमा चढ्थ्यौ । आहा ! त्यो दृष्य सम्झदा पनि बडो मज्जा लागेर आउछ, अद्यापी । त्यही निदाइ सखारै रूपैया खोज्थ्यौ । कहिले पाउथ्यो कहिले पाउदैनथ्यो । बत्ती बालेर रातभर जाग्राम बस्नेहरू भेटिन्थे । मनोरञ्जन मात्र हैन त्यहाॅ धर्म, संस्कृति, कला र भेषभुष प्रदर्शन गरिरहेको हुन्थ्यो । माथिबाट तलसम्म छिचोल्न ठुलो कष्ठ उठाउनु पर्थ्यो ।

अहिले सोच्छु, त्यो तामाङ मौलिकता थियो वा के ? जातीय रूपमा सिम्खडा, पौडेल, रिजाल, तामाङ, गुरूङ, घले, सुनार र वि कहरूको सहभागिता हुन्थ्यो भने धार्मिकरूपमा बोन, बौद्ध र हिन्दुको । यसरी अनेकतामा एकता प्रदर्शन हुन्थ्यो । ह्रि, झार्लाङ, मार्पाक देखि किम्ताङसम्मका तीर्थयात्री भेटाउथ्यौ । यसको ठिक पछि पूर्णिमाको दिन छिमेकी गाउॅमा जात्रा लाग्थ्यो, न्हख्रन्हेनकी जातर भनेर । एकादशीमा नभेटिएका फम्युङबुसिङ यहाॅसम्ममा भेट्थ्यो । म सानो हुॅदा यो जातरमा झगडा हुन्थ्यो । पछि म आफै बच्छला माविमा पढ्नेबेला त्यतै बसे । बडो रौनक थियो । झगडा भएन त्यो वर्ष । सामान्य धकेलाधकेल मेलामा भइरहन्छ त्यो सामान्य नै हो । एसएलसी दिएको वर्ष म यस मेलामा गएको थिए ।

यो वर्षको मेला अलि अर्थपूर्ण थियो । अलि उन्मुक्त, स्वतन्त्र र वैशालु वर्ष थियो मेरो लागि । म कुनै स्त्री साथीलाई प्रेम प्रस्ताव गर्न जानुथ्यो । टाढाबाट काका कालु आउनुभाथ्यो । साथीहरूसॅग पनि सल्लाह मागे । साथीहरूले ट्याब्लेट खान दिएको सल्लाह बमोजिम 12 वटा गोटी एकैपटकमा निल्यौ । काकालाई जात्रामा लाने काम मेरो थ्यो । दिउसो किपरको जात्रामै म त आधा वेहोस भए छु । घर नगई त्यहीबाट लाग्यौ न्हख्रन्हेन । मेला पस्नेक्रममा मैले कसैको गोडा कुल्चे छु । केहीबेर विवाद भो ।

मेरो भाग्य भन्नुपर्छ मेरो स्त्री साथीले आएर सम्हाली । पछि थाहा भो उनीहरू हामी (ब्युर्चेती ठिटाहरू) लाई लखेट्ने योजनामा थिए । धने र पशुराम लखाटिए पछि मेरो गाउॅका जात्रालु कोही थिएन । पर गोम्बोङमा आफन्त साथी भएकाहरू बाहेक सब भागीसकेको रैछ । शितले चिसिएपछि ममा केही महसुस भयो । त्यतिन्जेलसम्म मलाई घुइचोबाट बाहिर निकाल्दै थिइन् । दुई कान्ला माथि मेरो सानो भाइ भेटियो । त्यसबेला उनको उमेर नौ दश होला । झगडामा भागाभाग भएपछि आएको साथीसॅग विछोडिएका उनले मेरो हर्कत हेरेपछि अरूले पिट्ला भनि रखवारी गरेको सुनाए । एक मनले आफू बचेकोमा खुसी भए अर्को ट्याब्लेटले वेहोस भएकोमा लज्जित भए । घरसम्म पुर्याउकी ? भनि सोध्दा म झसंग भए ।

झगडामा सामेलहरूको योजना बुझेका उनले मलाई बचाउन गरेको प्रयासकोबारे बताए । अन्तमा हामी बाङ्गेटारमा छुटियौ । दुई पुरूषले एक स्त्रीलाई एक्लै छाड्दाको दृष्य अचेल रोमाञ्चक भएर आॅखा अघि नाच्न आइपुग्छ । कुखुरा बास्ने बेला भाइ र म घर पुग्दा सबैले खुसी माने । हामी जीवित होला भन्ने आशा मारिसकेका थिए । दाइलाई अरूले मार्यो होला भाइ किच्यो होला भन्ठानेका थिए । त्यो नै मेरो अन्तिम न्हख्रन्हेन जातर भो ।

स्थानीय युवा समूहहरूको वेमेल, जनयुद्ध र सुरक्षाको कारण यी मेलाहरूको रोमाञ्चकतामा कमी आएको छ । अचेल केही थ्रेट नरहे पनि म भने कार्यव्यस्तताले तराइमा छु । तर यी जात्राहरूले समाजमा ल्याएको तरङगबारे विश्लेषण भने गरिरहेको छु । अझ आज त यो संस्मरण लेखिरहॅदा 18 वर्षअघि मेरी प्रेमिका बन्न आइ पुगेकी उनलाई पनि फ्लासब्याकमा सम्झिदै छु ।