धादिङ साउन १२ । नेपालमा अवसरै नै छैन । काम पाए पो गर्नु । काम गरेपनि पैसा पाइदैन । कमाइका लागि विदेश जाने तयारीमा रहेका युवाहरु यसै भन्छन् । यहि मुलुकमा बसेर कतार, मलेशियालगायत खाडी मुलुकमा भन्दा थोरै श्रम गरेर आकर्षक कमाई गर्न सकिन्छ भन्ने ज्ञान धेरै युवाहरुमा छैन । गाउँमा बसेका केही युवाले घरको भात खाएर महिनामा ४५ हजार कमाई गर्छन् भन्दा विश्वास नलाग्न सक्छ । यस्ता पात्र धेरै छन्, जो गाउँमै घरको भात खाएर सानको जिन्दगी बिताउदैछन् ।
टेक बहादुर मगर उद्यमी किसानका रुपमा परिचित छन् । कुनै वेला एक घर एकहल गोरु हुने निलकण्ठ नगरपालिका नौको निगालपानी गाउँमा अहिले जम्मा ७ हल गोरु छ । धेरैले गोरु पाल्न छाडेपछि हलगोरुका मालिक टेकबहादुरलाई भ्याइ नभ्याइ छ । एकहल गोरुले एकदिन जोतेवापत एक हजार पारिश्रमिक पाउछन् । बिहानैदेखि मेला गएमा पाँचसय थप हुन्छ ।
टेकबहादुरको आफ्नै खेती छ । अन्न किन्न पर्दैन । लुगाफाटो र छोरा छोरीको स्कुले खर्च बाहेक खासै हुन्न । यसपाली मात्रै १४ हजार हालेर एउटा बहर गोरु किनेको जानकारी दिँदै भने ‘गाउँको जिन्दगी मज्जैको छ ।’
खेती वाहेक टेकबहादुर राम्र डकर्मी पनि हुन् । हिउँदको वेला काठको काम गर्छन् । हिउँदको याममा खाट, दराज, लगायत अन्य काठको काम गर्न भ्याई नभ्याई हुन्छ उनलाई । छोरी श्रीमति समेत संगै मेलामा हिँड्ने भएकाले सिजनको वेला एकै दिन दुई हजारसम्म कमाउछन् टेकबहादुर ।
पुरुसोत्तम लम्साल (३९) गाउँकै जाँगरिला प्राविधिकका रुपमा चिनिन्छन् । घर, गोठ लगायत भूकम्प प्रतिरोधी घर निर्माणमा सिपालु पुरुषोत्तम २०७२ कात्तिकदेखि आधुनिक घर निर्माणमा ब्यस्त छन् । ‘अहिले खेत रोपाइको लागि छुट्टी बसेको छु घर बनाउन भ्याइ नभ्याई छ ।’ पुरुसोत्तमले भने ‘डेढ वर्ष भयो दशैं तिहार बाहेक छुट्टी बस्न पाएको छैन ।’
पहिल्यैदेखि घर निर्माणमा संलग्न पुरुसोत्तम भूकम्पपछि कामको चाप बढेको बताउछन् । ‘पहिला पनि म घर, गोठ बनाउने काम गर्थेँ । भूकम्पपछि कामको चाप निकै बढेको छ । घर बनाउन भ्याइ नभ्याई छ ।’ पुरुसोत्तमले भने ।
घर निर्माण बाहेक घरको अन्य काम पनि गर्छन् । आफ्नै बारीमा उब्जेको अन्नले खान पुग्छ । खानको मात्रै के कुरा अन्न उप्रन्छ पनि । श्रीमतिले खसी बाख्रा र एउटा भैँसी पालेकी छिन् । वर्षमा दुई चारवटा त खसी नै बेच्छन् । घर निर्माणको काम विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म हो । एकदिन काम गरेवापत एकहजार रुपैयाँ ज्याला चलेको छ । बिहान दिउसै काम गरेको एकहजार पाँचसय आउछ । यसरि हिसाब गर्दा उनी महिनामा ४५ हजार कमाउछन् । कमाइप्रति सन्तुष्ट पुरुसोत्तम भन्छन् ‘गाउँमा अरु दाजुभाई पनि बसिदिए हुन्थ्यो । कोही छैनन् ।’
गाउका धेरैले गोरु पाल्छ छाडेपछि रामचन्द्र लम्साल (५८)लाई कामको चाप बढेको छ । ‘आफ्नै खेतीपाती सजिलो हुन्छ भनेर गोरु पालेको गाउँका दाजु भाईले मेरो बारी जोत्दे भनेपनि नाई भन्न मिल्दैन ।’ रामचन्द्रले भने । लैना र बकेर्ना भैंसी नटुटाउने रामचन्द्र पनि हिंउदको वेला घर निर्माणमा सक्रिय हुन्छन् ।
‘गाउँमा बसेपछि फुर्सद बस्न नपाएको चिन्ता ब्यक्त गर्ने रामचन्द्रले पनि गाउँको जीवनशैलिवारे कुनै गुनासो गरेनन् ।
खेत जोत्ने, आली लाउने वा अरु कुनै कामका लागि अहिले अग्रिम पारिश्रमिकको ब्यबस्था छ गाउँमा । हातमा सिप र जाँगर हुनेलाई काम गर्न कहाँ जाने भन्नै पर्दैन । मेरो यति दिन काम गर्दिन पर्छ है भनेर पहिल्यै पारिश्रमिक दिन्छन् ।
‘पैसाको त तनाव छैन । काम गर्नै भ्याइ नभ्याई हुन्छ ।’ पुरुसोत्तमले भने । गाउँका प्राय युवा विदेशमा छन् । प्राय घरमा साठी कटेका बुढाबुढी बाहेक अरु छैनन् । सामान्य अवस्थामा त खासै समस्या हुन्न । कोही बिरामी प¥यो भने अस्पताल पु¥याउने मान्छे पनि हुन्न । गाउँमा युवाहरु नबसेकोमा चिन्ता गर्दै स्थानिय राममणी लम्साल (५१) भन्छन् ‘गाउँमा कोही बिरामी भयो भने एम्बुलेन्स बोलाउनेदेखि बिरामी लिएर काठमाडौंसम्म पुग्नु पर्छ ।’
उनले गाउँका धेरै मान्छे बिरामी हुँदा काठमाडौंसम्म लिएर आउने र अस्पतालमा आफन्तको जिम्मा लाएर फर्किने गरेका छन् ।