जनआवाज युवा क्लबको उदाहरणीय पहल : माने गाउँका सबै घरधुरीको स्वास्थ्य बिमा गर्दै

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०८३

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित माने गाउँमा सक्रिय रहेको जनआवाज युवा क्लबले गाउँका सबै घरधुरीलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने अभियान सुरु गरेको छ । क्लबले गाउँका १२० घरधुरीमा बसोबास गर्ने परिवारहरूको स्वास्थ्य बिमामा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

क्लबका अध्यक्ष ठमबहादुर गुरुङ (राजेश) का अनुसार पाँच सदस्यसम्मको परिवारका लागि स्वास्थ्य बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपैयाँमध्ये क्लबले २ हजार रुपैयाँ व्यहोर्नेछ । बाँकी १ हजार ५ सय रुपैयाँ सम्बन्धित परिवारले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी आर्थिक अवस्था कमजोर भई उक्त रकम समेत तिर्न नसक्ने अति विपन्न परिवारको पहिचान गरी उनीहरूको स्वास्थ्य बिमाको सम्पूर्ण शुल्क क्लबले नै व्यहोर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । यस अभियानमार्फत गाउँका कुनै पनि परिवार स्वास्थ्य बिमाबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखिएको उनले बताए ।

वि.सं. २०६६ सालमा स्थापना भई औपचारिक रूपमा दर्ता भएको जनआवाज युवा क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क्लबले सुरुवाती चरणमा सदस्यहरूका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरी शिक्षामा सहयोग गरेको थियो ।

यस्तै, क्लबले हरेक वर्ष देउसी–भैलो, स्थानीय मेला–महोत्सव, खेलकुद प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ती कार्यक्रमहरूबाट बचत भएको रकम कोषमा जम्मा गरी सामाजिक हितका कार्यमा लगानी गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ ।

स्वास्थ्य बिमामा सहयोग गर्ने पछिल्लो निर्णयलाई गाउँस्तरमै सामाजिक उत्तरदायित्वको उत्कृष्ट अभ्यासका रूपमा हेरिएको छ । स्थानीयवासीहरूले क्लबको पहलले स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गाउँको विकास र सामाजिक सुरक्षामा युवाहरूको सक्रिय भूमिका कस्तो हुन सक्छ भन्ने उदाहरण जनआवाज युवा क्लबले प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ । स्वास्थ्य बिमा अभियान सफलतापूर्वक कार्यान्वयन भएमा माने गाउँ जिल्लामै स्वास्थ्य बिमाको उच्च पहुँच भएको समुदायका रूपमा परिचित हुने अपेक्षा गरिएको छ ।