
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हेटौँडामा मतदान हुँदैछ । प्रदेश कार्यसमितिका विभिन्न पदमा धादिङबाट सात जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभापति पदका लागि धादिङका कृष्णमान श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । सभापति पदमा उनीसँगै रामेछापका हरिबहादुर श्रेष्ठ, काठमाडौंका डा. अच्युत लामिछाने तथा मकवानपुरका उत्सव अर्याल र बन्दनकुमार भण्डारी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी प्रदेश सदस्य पदमा धादिङका डा. कृष्णमान शाक्य, विकास चेपाङ, कपिल आर्याल, सागर गौली, ध्रुवकुमार रेग्मी र सचिन अधिकारी ले उम्मेदवारी दिएका छन् ।
पार्टी स्रोतका अनुसार सदस्य पदमा उम्मेदवारी दिएका डा. कृष्णमान शाक्य निर्वाचनपछि प्रदेश कार्यसमितिको उपसभापतिमा मनोनयन हुने सम्भावनालाई ध्यानमा राख्दै सदस्य पदमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् । यद्यपि यस विषयमा पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।
बागमती प्रदेशका १३ जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागितामा जारी अधिवेशनले प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यहरू चयन गर्नेछ । नयाँ नेतृत्व चयनसँगै प्रदेशमा पार्टी संगठन विस्तार, सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे समेत नयाँ कार्यदिशा तय हुने अपेक्षा गरिएको छ ।
धादिङबाट सभापति पदमा एक जना र सदस्य पदमा छ जना गरी सात जनाको उम्मेदवारी परेपछि यसपटकको प्रदेश अधिवेशनमा जिल्लाको उपस्थिति उल्लेखनीय देखिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
