विकास र समृद्धिका लागि मेरो उम्मेदवारी –गुरुङ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०७४

thakur-codeयी हुन्, नेत्रावती गाउँपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिन लाग्नु भएका ठाकुर गुरुङका मुख्य एजेण्डा । एजेन्डा भएकालाई भोट दिऔं, हामी पार्टीको नीति अनुरुप चुनावमा होमिएका छौ, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, र नयाँ संबिधानको रक्षा र विकास र समृद्धिको लागि माओवादी केन्द्रलाई जिताऔँ भन्दै यतिबेला गुरुङ जनताका घर घर पुगि रहेका छन् । ठाकुर गुरुङ नेत्रावती गाँउपालिका बने सँगै सम्भावित उम्मेदवारका रुपमा चर्चामा आएको नाम हो । विद्यार्थी अवस्थादेखि विद्यार्थी संगठनमा आवद्ध रहनु भएका गुरुङ माओवादी केन्द्रमा सदैव प्रभाव राख्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । जिल्लाको नेत्रावती गाँउपालिका वडा न. १ साबिकको मार्पाक गाँउ विकास समिति वडा नं. ४ मा २०४४ चैत्र १४ गते जन्मनु भएका गुरुङ सामान्य परिवारमा हुर्किनु भयो ।

राजनैतिक परिवारमै हुर्किनु भएका गुरुङले प्रारम्भिक शिक्षा निरञ्जना उच्च माध्यमिक विद्यालयमा प्राप्त गर्नुभयो । विद्यार्थी समयमा २०५८ सालमा निरञ्जना माविको एकाइ अध्यक्ष, २०६१ सालमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य हुँदै नेकपा माओवादी केन्द्र जिल्ला कार्य समितिमा ३ कार्यकाल सदस्य बनि सक्नु भएको छ । २०६४ सालको चुनावमा सेमजोङ मार्पाक कटुन्जेको युवा कमान्ड र पार्टीको भ्वाइस कमान्डर सम्हालेका गुरुङ राजनीति सँगै सामाजिक सेवामा पनि उहाँको सम्लग्नता रहेको छ । तात्कालिन इलाका नं ५ को संयोजक र ईन्चार्ज हँुदै नेत्रावती गाँउपालिका भए पस्चात पनि पार्टीको जिम्मेवारी बाट टाढा रहेनन् । विद्यार्थीकाल देखिनै प्रष्ट वक्ता र निडर मिलनसार गुरुङ रेडियो बिहानी ९७.६ मेगाहर्जमा स्थापना काल देखिनै समाचार वाचक, बजार सहायक हुँदै बजार प्रमुख, सहायक स्टेशन म्यानेजर हुँदै स्टेशन म्यानेजरको भुमिकामा समेत निर्वाह गरिसक्नु भएको छ ।

जिल्ला विकास समिती धादिङमा २०६८ सालमा नेपाल आदिवासी जनजाती जिल्ला समन्वय समितीमा उपाध्यक्ष बनिसक्नु भएका गुरुङ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज धादिङको संस्थापक अध्यक्ष हाल सम्म पनि सोहि भुमिकामा रहनु भएको छ । नेपाल पत्रकार महासंघ धादिङको १ कार्यकाल सदस्य, प्रेस सेन्टर धादिङमा जिल्ला सदस्य हुँदै जिल्ला कोषाध्यक्ष हाल जिल्ला उपाध्यक्षको पदमा रहेका गुरुङ धादिङको मिडियामा छाउने नाम हो । जनताका समस्या आए सबै भन्दा पहिला पुग्ने स्वभावका गुरुङलाई माओवादी केन्द्रले नेत्रावतीमा उम्मदवारी दिन आव्हान गरे सँगै उनी यतिबेला गाउँमा भोट माग्न व्यस्त छन् ।

हामी सँग कुरा गर्दै गुरुङले भने– नेत्रावतीमा माओवादी केन्द्रको लहर छ, हामीलाई जित्न घरघर पुग्नै पर्दैन अहिले विगतका निर्वाचनमा जस्तो मत वदर नहोस्, भनेर चुनाव चिन्ह चिनाउन र भोट हाल्न सिकाउन मात्र घरदैलो अभियान चलाउँदै छौं । गुरुङले माओवादी केन्द्रले भारी मत जित्ने गाउँपालिका मध्य नेत्रावती पहिलो हुने दावी गर्दै माओवादी केन्द्रको सिंहदरवारको अधिकार जनताका घर घर पुर्याउने एजेण्डा स्थिापित गर्न नेत्रावती गाउँपालिकाका जनता माओवादी केन्द्रलाई भोट हाल्न आतुर रहेका बताउनु भयो ।