मतदाताले सोधिदिउन्: उखान टुक्का मात्रै भनेर मुलुक कसले चलायो ?

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २९, २०७३

(रमेश लम्साल)
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ । दलहरु तछाड मछाड गर्दै निर्वाचनको प्रचार प्रसारमा लागेका छन् । दलका एजेण्डा नयाँ छैनन् । पूरानै एजेण्डा बोकेर उनीहरु जनतालाई फेरी फकाउन सकिन्छ कि भनेर मनचिन्ते झोला बोकेर हिडेका छन् । निर्वाचन सहज छैन । पैसा नहुनेले चुनाव जित्ने अवस्था छैन ।

पैसाको खोलो जसले बगाउँछ यसैले चुनाव जित्ने र आफूलाई विजयी भएको घोषणा गर्ने छ र आफू शासक अरु सबै तिनका सेवक भएको हुंकार गर्नेछ । नेपालको पछिल्ला चुनावहरुका अनुभव हुन् यी । निर्वाचन गराउने निकायले नै बदमासी गरेको उदाहरण पनि नेपाली जनमानसबाट लुकेको विषय होइन । पैसा र प्रभाव नै चुवावको खासत्र अस्त्र बनेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा त पैसा प्रभाव र मसलको सट्टामा अर्को विषयले पनि प्रवेश पाएको थियो । त्यो हो क्रान्तिकारी आन्दोलनलाई परास्त गराउन आफूलाई अब्बल क्रान्तिकारी र दार्शनिक र चिन्तक भएको बताउने मोहन वैद्यहरुले काँग्रेस र एमालेसँग पैसा लिएर माओवादीलाई हराएका थिए ।

अहिले पनि सोही क्रम नदोहोरिएला भन्न सकिदैन । किर्तिपुरमा क्रान्तिकारीता पैसामा लिलाम भएको थियो । मुलुकका धेरै निर्वाचन क्षेत्रमा इमान्दारिता केवल पैसामा लिलाम भएको थियो । धेरै स्थानका मतपेटिकामा पैसा हावी भएको थियो । विचार र सिद्धान्त वाग्मतीको ढलमा मिसाइएको थियो । वर्गमित्रप्रतिको त्यो भन्दा ठूलो घात अरु केही थिएन । परिवर्तनको सपनालाई वेश्यालयमा बन्धक बनाइएको थियो । क्रान्तिकारितालाई क्षणिक आवेगका भरमा तिलान्जली दिइएको थियो ।

एक विद्धान भन्छन् जब मान्छे विचारमा शुन्य हुन्छ, तब उसले आफ्नै मित्रलाई पनि शत्रु देख्छ । यस्तै प्रसंगमा अर्का विानले भनेका छन् मलाई मेरा मित्रहरुबाट बचाउ शत्रुसँग त म आफै लड्न सक्छु । तर मित्रहरु नै शत्रुको रुपमा परिणत भएका थिए । आज स्थानीय तहको निर्वाचनको मिति नजिकिएको छ । २० वर्षपछि हुन लागेको निर्वाचन परक परिदृश्यका साथ सतहमा देखा परेको छ ।

विगतमा गाविस स्तरीय निर्वाचनमा जितेकाहरुले २०४६ सालपछि कुन तहमा विकास गरे । जनताको आर्थिक समृद्धि र विकासमा तिनले कस्तो भूमिका खेले । उनीहरुको चरित्र कस्तो थियो , आम जनतालाई थाहा छ । भ्रष्टाचार गराउन विगतमा गाविसका चुनाव जितेकाले सिकाए । आर्थिक अनियमितता गर्न उनै अगुवा भए । महालेखा परिक्षकको प्रतिवेदनलाई नै हेर्ने हो भने स्थानीय निकायमा सबै भन्दा बढी भ्रष्टाचार भएको छ । राज्यको साधन र स्रोतको दोहन भएको छ । जनताको नाममा जनता माथि नै ज्यादती गर्ने काम भएको छ । माथिल्ला नेतालाई रिझाउन विकासको नाममा प्राप्त भएको बजेट मोज मस्ती र रमझमा खर्च गरिएको डरलाग्दो तथ्यांक देखिएको छ । स्थानीय तहको निर्वाचनमा मत माग्न तपाईका सामु आउनेहरुलाई एक पटक सोधिदिनुस चैनपुर, खरी, मैदी, नलाङ, सलाङमा तपाईको मत पाएर जित्नेहरुले तपाईका लागि के गरे ? तपाईको जीवन स्तर उकास्न तिनको के भूमिका रह्रयो । मतदाताले सोधिदिऊन नौबिसे, बैरनी, खानीखोला, आदमघाट, धुसा, पीडा, स्यादुल र चरौदीबाट गाविस अध्यक्ष भएका तपाईले मत हालेका तत्कालीन गाविस अध्यक्षहरुले तपाईको जीवनमा प्रभाव पार्ने के काम गरे । तिनले राज्यकोषबाट प्राप्त भएको रकम कसको हितका लागि खर्च गरे । तपाईको नाममा प्राप्त भएको रकम कसको हितका लागि खर्च भयो ।

तपाईले एक पटक सोधिदिनुस तपाईको प्रतिनिधिका रुपमा चुनाव जितेका तत्कालीन गाविस अध्यक्ष र पदाधिकारीले तपाईलाई चुनाव पछि कति पटक भेटे ? तपाइको सुख दुखमा कति साथ दिए । तपाइको गाँउमा विकासका लागि उनीहरु कति पटक भेला भए, के कति सर सल्लाह गरे ? तपाईले प्रश सोध्ने हिम्मत राख्नु भयो भने उनीहरु नाजवाफ ुहनेछन् । तपाईको प्रश्नको सामाना गर्न नसकेर उनीहरु सुइकुच्चा ठोक्नेछन् । मलाई याद छ स्थानीय निकायको निर्वाचनमा एमालले जिल्लाका अधिकाशं स्थानमा विजयी हासिल गरेको थियो । धादिङको खुलामञ्चमा खेम लोहनी र उत्तम कडेल जिल्ला विकास समितिको सभापति र उपसभापतिमा निर्वाचित भएको दिन ठूलो आम सभाको आयोजना गरिएको थियो । त्यसको प्रत्यक्षदर्शी र प्रत्यक्ष सहभागी हुने मौका मिलेको थियो । धादिङबेसी भरी हसिया हथौडा अंकित राता झण्डाहरुको जुलुश थिएन , त्यो मान सागर थियो । हजारौ मान्छे सहभागी भएका थिए । मलाई याद छ वर्तमान सांसद राजेन्द्रप्रसाद पाण्डेले सगौरव घोषणा गरेका थिए अब धादिङमा विकासको मूल फुट्नेछ । किनकी एमालले चुनाव जितेको छ, जनताले हामीलाई जिताएका छन् ।

आज २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको छ । आज तिनै मान्छेहरु फेरी भोट माग्न तपाइको घर बस्तीमा आएका छन् । तिनलाई सोधिदिनु विकासको मूल कहाँ कहाँ कसरी फुट्यो धादिङमा भनेर । यो आवेग पनि होइन, आक्रोश पनि होइन । यो कसैलाई आक्षेप लगाउन लेखिएको सामग्री पनि होइन । यर्थाथ हो, आज निर्वाचनमा तपाइृ मतदाता नै शक्ति लिएर बस्नुभएको छ । तपाईको मत नै यतिखेर अह्म र प्रभावकारी छ । आज मत माग्न आउनेहरुलाई सोधिदिनुस हिजो संकटकालमा तपाईलाई अलपत्र छाडेर सदरमुकाम र काठमाडौँमा डेरा जमाएर बस्ने तपाईका प्रतिनिधिले तपाईलाई सुख दुखमा कति साथ दिए भनेर ?

आज धादिङ सल्यानटार, टारीबेसी सडक उस्तै छ धुलाम्ये, आज धादिङ मैदी सडक उस्तै छ । आज सांकोश ज्यामरुङ सडक उस्तै छ धुलाम्ये, आज पनि तपाईको जीवनस्तरमा कुनै सुधार भएको छैन । आज पनि तपाई रोजगारीको खोजीमा मलेसिया र खाडीमा भौतारिइरहनु भएको छ । तपाईका छोरा छोरीले अहिले पनि राम्रो शिक्षा दिक्षा पाउन सकेका छैनन् । तपाईको दुखको दिन सकिएको छैन । बरु उर्वर धादिङबेसीको फाँट कंक्रिटको जंगलमा परिणत भएको छ ।

यस्तै गत साल गोरखा भूकम्प गयो, झार्लाङ, तिप्लिङ, सेर्तुङ, लापा, तिप्लिङका बस्ती सखाप भए । दर्जनौ नागरिक मारिए । तर तपाईले जिताएका जनप्रतिनिधि कति पटक ती स्थानमा पुगे । खण्डहर बसेरी, सल्यानटारमा तपाईले भोट दिएका मान्छे मल्हमपट्टी गर्न कति पटक आए । आज पनि ती स्थानमा घर बनाएका छैनन् भूकम्प पीडितले । जनता पीडै पीडाको भूमरीमा छन् । जनतालाई कोही कसैले सम्झेन । आज मान्छे नागरिक भएर बस्न पाएको छैन । धादिङबेसीले त्यो आवाज सुनेन । तपाईले मत दिएका मान्छेरुले भाषण त संसदमा पनि गरे । आम सभाका पनि गरे । तर तपाईको घर बनाउन तिनले कति सहयोग गरे । आज गाँउ गाँउमा घर बनाइदिने मान्छे छैनन् । डकर्मी, सिकर्मी छैनन् । युवा जति खाडीमा कहर खेप्दैछन् । तिनका बुढा भएका बाबु आमा घरमा छन् । तिनका लालाबाला गाँउमा छन् । तर तपाईले मत दिएका जनप्रतिनिधि तपाईको नाममा राजनीतिक केवल राजनीति मात्रै गरिरहेका छन् ।

यो बेला तपाईले एक पटक मत माग्न आउने तपाईले मत दिएका माननीयहरुलाई सोधिदिनुस माननीय ज्यू मैले तपाईको पार्टीलाई कुन नैतिकताले मत दिऊ ? तपाईले एक पटक सानो स्वरमा सोधिदिनुस भूकम्पले भत्काएको मेरो घर कहिले कसरी बन्छ माननियज्यू ? तपाईको प्रश्नको उत्तर तिनले गोलमटोल दिनेछन् र भन्नेछन् हामी प्रयासरत छौ । प्रयासले केही हुँदैन, जनताले प्रगति हाताहाती खोजेका छन् । कसले कति भाषण ग¥यो भन्नेले अर्थ राख्दैन ।

त्यसकारण यस पटक तपाईको घरमा नियमित विद्युत् दिने पार्टी को हो ? माओवादी । भूकम्पबाट भत्किएका घर बनाउने अनुदान रकम रु आठ लाख सम्म पु¥याउने दल कुन हो ? माओवादी । आर्थिक वृद्धिदर २५ वर्षपछि ७.५ प्रतिशतको हाराहारीमा बसले पु¥यायो ? माओवादी । सोलार, हावाबाट विजुली र समुन्द्र नै नभएको मुलुकमा पानी जहाज चलाउने हवाई सपना कस्ले बाड्यो ? एमाले । उखान टुक्का मात्रै भनेर मुलुक कसले चलायो ? एमाले ।

मतदाता महोदय तपाईलाई थाहा छ, एमाले र नेकपा(माओवादी केन्द्र)को भेद । त्यसकारण तपाई अधिकार सम्पन्न भएको बेलामा बहकिनु भयो भने फेरी पनि सोलारको युग फर्किनेछ । फेरी पनि उखान टुक्काको युग फर्किनेछ । फेरी पनि पानीजहाजको युग फर्किनेछ । भूकम्पले भत्काएका तपाईका घर अझै पनि दश वर्षसम्म उस्तै उस्तै दुरुस्तै रहनेछ । धुलाम्ये सडक उस्तै रहनेछ । मत दिने बेला मात्रै यत्ति मात्रै विचार गरिदिनुस ।