काठमाडौं, चैत ६ । निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइदिए पछि राप्रपा आन्दोलनमा उत्रने निर्णयमा पुगेको छ । राप्रपाले आयोगको निर्णय आपत्तिजनक तथा संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
आयोगले पार्टी विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली हटाइदिएपछि शनिबार बसेको आकस्मिक बैठकले आयोगको निर्णय आपत्तिजनक भएको निष्कर्ष निकाल्दै आयोगविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
राप्रपाले नेपाललाई सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्नुपर्ने र संसद्अन्तर्गत रहने राजसंस्थासहितको लोकतन्त्र हुनुपर्ने पक्षमा वकालत गर्दै आएको छ । संविधान जारी गर्ने क्रममा उसले आफ्नो एजेन्डा फरक मतका रूपमा दर्ज गराएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ।
राप्रपाका अबका चार योजना
१. पुनर्विचार गर्न आग्रह गर्ने
राप्रपाले निर्वाचन आयोगलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने गरी निर्वाचन आयोगले त्यस्तो निर्णय गरेको भन्दै उसले निर्णयमा पुनर्विचार गर्न आयोगसँग आग्रह गरेको छ । उसले संविधानमा आफ्नो पार्टीको आलोचनात्मक समर्थन रहेको स्मरण गराउँदै निर्णयमा पुनर्विचार गर्न भनेको हो ।
२. कानुनी उपचार खोज्ने
राप्रपाले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने निर्णय पनि गरेको छ । आयोगको निर्णयबाट पार्टीको संवैधानिक हक खोसिएको भन्दै त्यसबारे कानुनी उपचार खोजिने निर्णयमा राप्रपा जान लागेको हो । शनिबारबाटै पार्टीनिकट कानुन व्यवसायी र वरिष्ठ अभिवक्ताहरूसँग परामर्श र छलफल सुरु गरिसकेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका शीर्ष नेताले संविधानको मूल मर्ममा टेकेर संवैधानिक अधिकार क्षेत्रमा रही रिट तयार पर्ने गरी कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् । ढिलोमा १० चैतभित्रै संवैधानिक हक कायम हुन पाउनुपर्ने माग गर्दै रिट दायर गरेर जाने तयारीमा राप्रपा छ ।
३. संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने
राप्रपाले संविधानमा हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा फरक मत राख्दै आलोचनात्मक समर्थन गरेको थियो । यसबीचमा सरकारकै तर्फबाट एकपटक संविधान संशोधन भइसकेको छ भने अर्को संशोधन प्रस्ताव अहिले संसद्मा विचाराधीन अवस्थामा छ ।
निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली झिकेपछि राप्रपाले संसद्मा आइतबार नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । ‘धर्म निरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रावधानसहित एउटा बुँदामा आइतबार नै राप्रपाले दलको तर्फबाट संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्नेछ,’ सहप्रवक्ता श्रेष्ठले भने । राप्रपाले यस विषयमा सदनमा सशक्त रूपमा आवाज उठाउने पनि निर्णय गरेको छ ।
४. आन्दोलनमा जाने
राप्रपाले आयोगलाई निर्णय पुनर्विचार गराउन दबाब दिने उद्देश्यले आन्दोलन पनि गर्ने भएको छ । शनिबार बसेको आकिस्मक बैठकले आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ । ‘राजासहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्र राप्रपाको आत्मा हो, हामी यसमा लचकता प्रदर्शन गर्न सक्दैनौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामी अन्य प्रक्रिया सँगसँगै आन्दोलनमा पनि जाँदै छौँ । हामीले यसका कार्यक्रम पनि घोषणा गरिसकेका छौँ ।’
यस्तो छ संर्घषको कार्यक्रम
- सम्पूर्ण जिल्ला सदरमुकाममा ७ चैतमा जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउने र एक घन्टा निर्वाचन कार्यालयअगाडि धर्ना दिने ।
- काठमाडौंमा निर्वाचन आयोगको कार्यालय बहादुर भवनअगाडि एक घन्टा धर्ना दिने र आयोगसमक्ष ज्ञापनपत्र बुझाउने ।
- चैतको तेस्रो हप्ता हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संर्घष गर्ने ।