केन्यासँग ५ विकेटले हार्‍यो नेपाल

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २८, २०७३

काठमाडौं फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको हो ।

वर्षाका कारण प्रभावित भएको खेलमा केन्याले २९ ओभरमा एक सय ४ रनको लक्ष्य पाएको थियो । तर २१ दशमलव २ ओभरमा केन्याले पाँच विकेटको क्षतिमा ८० रन बनाएको अवस्थामा खेल रोकिएपछि फेरि केन्याको लक्ष्य घटाइएको थियो । त्यसपछि केन्याले २६ ओभरमा ९४ रनको नयाँ लक्ष्य पाएकोमा ओभरमा विकेटको क्षतिमा भेट्टायो ।

केन्याका लागि कप्तान राकेप पटेलले ३४ तथा कोलिन्स ओबुयाले २४ रन बनाए । नेपालका सन्दिप लामिछाने र सागर पुनले समान दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनायो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ तथा मेहबुब आलमले २ रन बनाए । सोमापाल कामीले नटआउट १८ तथा शक्ति गौचनले नटआउट १५ रन बनाए । केन्याका शेम एगोचेले तीन तथा नेलशन आधिएमबोले दुई विकेट लिए । जितपछि केन्याको ९ खेलबाट १० अंक भएको छ । नेपालको भने ९ खेलबाट ६ अंक छ । नेपाल र केन्याबिच आउँदो सोमबार दोस्रो खेल हुनेछ ।

नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरेका हुन् । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।