काठमाडौ, २८ फागुन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले आज केन्याविरुद्ध आफ्नै घरेलु मैदानमा खेल्दै छ ।
घरेलु मैदान खेल किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आजको केन्या विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । प्रतियोगिताको शिर्ष चारमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।
पूर्वनिर्धारित समय अनुसार आज बिहान साढे ९ बजे हुने भनिएको खेल लगातार पानी परेपछि प्रभावित हुने देखिएको हो ।
नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अंक जोड्दै पाँचौं स्थानमा उक्लनेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
आठ टोली सम्मिलित जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने समान आठ खेल नै खेलेको केन्या आठ अंककै साथमा नेपालभन्दा एक स्थान अघि छ ।
नेपालले केन्याविरुद्धको अर्को खेल आगामी सोमबार खेल्नेछ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।