राजनीतिबाट टाढै थिए सप्तरी घटनाका मृतकहरु

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २५, २०७३

काठमाडौं, फागुन २५ । सप्तरी घटनामा मारिएका तीनै जना राजनीतिबाट टाढा रहेको पाइएको छ । मृतकहरुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन ।

स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ । ५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए ।

अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो। पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्या‍एर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आफू बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो ।

सरकारलाई मोर्चाको अल्टिमेटम
संघीय गठबन्धन र मधेसी मोर्चाले सात दिनभित्र संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन स्थगित नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् ।

राजविराज घटनालगत्तै सोमबार बसेको गठबन्धन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मंगलबार संसद् सचिवालयमा त्यससम्बन्धी पत्र दर्ता गर्ने निर्णय गरेको थियो। तर, मंगलबार पुनः बसेको बैठकले भने सातदिने अल्टिमेटम दिने निर्णय गरेको हो। बैठकले सप्तरी गोलीकाण्डका मृतकलाई तत्काल सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।

एमाले अभियान अब हेटौँडाबाट

एमालेले राजविराजमा घेरा हालेर पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ । ‘कार्यक्रमस्थलनजिक बम राखियो । कार्यक्रम चलिरहँदा बम प्रहार भयो। तीनतिरबाट घेराउ गरियो। गाउँगाउँबाट मानिसलाई लाठी र भाला लिएर आउन निर्देशन दिँदै सुरक्षा घेरा तोड्न खोजियो,’ मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले भने, ‘नेतृत्वपंक्तिलाई नै समाप्त पार्ने दुरासय थियो भन्ने कुरा प्रस्ट भएको छ ।’ एमालेले सप्तरी घटनामा भएको तीनजनाको मृत्युको जिम्मेवारी गृहमन्त्री र मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । अबको कार्यक्रम २७ फागुनदेखि हेटौँडाबाट सुचारु हुने पार्टीले जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।