मोर्चाको समर्थन फिर्ता

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७३

काठमाडौं, फागुन २४  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

मोर्चाका नेताहको सोमबार राती बसेको बैठकले प्रचण्ड नेतृत्वमा साउन १९ गते गठित सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यस सम्बन्धमा मंगलबार प्रधानमन्त्रीसँग औपचारिक भेट गरी लिखित पत्रसहित जानकारी गराउने मोर्चाले जनाएको  छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्य्र यादवको अध्यक्षतामा बसेको बैठकले सोमबार दिउँसो सप्तरीको राजविराजमा भएको घटनाको समीक्षा गर्दै त्यसको सम्पूर्ण जिम्मेवार एमाले भएको निर्णय गरेको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘हामीले सात महिनाअघि दाहाल सरकारलाई दिएको समर्थन मंगलबारबाट फिर्ता लिने भएका छौं ।’ मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीमगरलाई पनि दिने भएको छ । मोर्चामा अहिले संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र सद्भावना पार्टी छन् ।

मोर्चाले सप्तरीमा भएको घटनामा चारजनाको निधन र दर्जनौं मधेसी गम्भीर घाइते भएकोमा मंगलबार र बुधबार दुई दिन तराई बन्दको घोषणासमेत गरेको छ । मोर्चाले सञ्जय मेहता, दिगम्बर यादव, पिताम्बरलाल मण्डल र आनन्द साहको हत्या र दर्जनौं घाइते भएकोमा दुःख व्यक्त गरेको छ । सरकारको यस्तो अलोकतान्त्रिक र गैरजिम्मेवारी कार्यप्रति मोर्चाले खेद व्यक्त गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर ।

एमालेका केही शीर्ष नेताले मधेस र मधेसीविरुद्ध निरन्तर रूपमा रूखो व्यवहार गरेको, मधेसी समुदायलाई अपमानित गरेको र होच्याउने, भड्काउने तथा उत्तेजक अभिव्यक्ति दिँदै आएको भन्दै मोर्चाले सोमबारको घटना त्यसैको परिणाम भएको निष्कर्ष निकालेको छ ।