सप्तरीमा तीनजनाको मृत्यु भएको पुष्टि, मोर्चाले दियो चारजनाको नाम

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७३

काठमाडौं, फागुन   २४  । सोमबार साँझ सप्तरीमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा तीनजनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । प्रहरीका अनुसार सञ्जन मेहता, पीताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भएको छ ।

एकजनाको घटनास्थलमा र दुईजनाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीको भनाइ छ । तर, मोर्चाले भने स्थानीय कानुन व्यवसायी दिगम्बर यादवको पनि मृत्यु भएको दाबी गरेको छ ।

प्रहरीले हानेको गोली टाउकोमै लागेपछि सप्तरी मलेठ–२ का २० वर्षीय सञ्जनको घटनास्थलमै मृत्यु भएको हो । उनी पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । यस्तै, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल र प्रसवनी–४ टेंगरीका ३५ वर्षीय आनन्द साहको धरानमा मृत्यु भएको हो । दुवैलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । साह कांग्रेसका सक्रिय कार्यकर्ता थिए ।
गोली लागेर १२ जना घाइते भएका छन् । यस्तै, पटक–पटक भएको झडपमा परी कम्तीमा २५ जनाभन्दा बढी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।